काठमाडौँ / नेपाली शिक्षा परिषद्को गएको असार ५ बसेको बैठकले सवारी साधनहरूमा इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषामा नराखी नेपाली भाषामा अनिवार्य प्रयोग गर्न ध्यानाकर्षण गराएको छ ।

आउँदो साउन १ देखि प्रयोगमा आउनुपर्ने यातायात व्यवस्था विभागको सूचनाअनुसार सो नम्बर प्लेटमा नेपाली भाषा पनि राख्न माग गरेको छ ।

सर्वसाधारण नेपालीले नेपाली भाषामा लेखिएको सहज किसिमले बुझ्ने तर विदेशी भाषामा मात्र लेखिएकोलाई बुझ्न नसक्ने मात्र होइन, नेपालीको स्वाभिमानमाथि आघात पुग्ने हुनाले सो कार्यलाई सच्याउन आग्रह गरिएको छ ।

त्यसो नभए स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको राष्ट्रियतामाथि नै प्रश्नचिह्न उठाउने परिषद्को धारणा छ ।

नेपालको संविधान २०७२ ले देवनागरी लिपिमा लेखिने भाषा नेपालको सरकारी कामकाजको भाषा हुने स्पष्ट उल्लेख गरेको र नम्बर प्लेट नेपाली भाषामा नलेखिनु संविधानको मर्म र भावनाविपरीत हुने तथा नेपालकै सरकारी निकायले संविधानले कायम गरेको देवनागरी लिपिमा लेखिने नेपाली भाषाको प्रयोग हुनुपर्नेमा अन्यथा गर्नु उपयुक्त नहुने परिषद्की अध्यक्ष रमा शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।