काठमाडौँ / कल्पना खरेलको नयाँ कृति ‘रानीतलाउ’ उपन्यास प्रकाशित भएको छ ।
समाजमा रहेका अन्तरविरोध र संघर्षलाई भित्रैसम्म पसेर गहिरो अन्तरदृष्टिका साथ उपन्यासको विषयवस्तु बुनिएको छ ।
समाजमा रहेका अनेकौँ विकृति र विसंगतिमाथि प्रहार गर्दै स्वच्छ र न्यायपूर्ण समाज कस्तो हुनुपर्छ भन्दै उपन्यासमार्फत उपन्यासकार खरेलले टिप्पणी गर्नु भएको छ ।
उपन्यासले नयाँ युगका लागि आह्वान गरेको छ । जनताको स्वच्छ भावनाहरूलाई थिच्ने र किच्ने कुपरम्परा जात, धर्मविरूद्ध सशक्त उनको कलम निर्भिक भएर अगाडि बढेको छ ।
यो उपन्यासले युवा-युवतीहरूको हृदयमा कहिल्यै नमर्ने जोश र उत्साह भर्ने काम गरेको छ । जीवनमा अचानक विभिन्न कठिनाइ आउँछन् तर तिनको समाधान वैज्ञानिक तरिकाले गर्न सकिन्छ भन्ने तर्क र उपायहरू उपन्यासमा पाइन्छ ।
मानव जातिलाई स्नेह गर्नु, प्रेम गर्नु र मानवजातिको स्वतन्त्रलाई सम्मान गर्नु यो उपन्यासको विशेषता रहेको देखिन्छ । यस उपन्यासले आजको नयाँ यथार्थलाई पक्रेको छ । स्वार्थ र अज्ञानताको कारणले गर्दा श्रेष्ठता भएको मान्छेलाई मान्छेले नै अपमान गर्न पुग्छ । सत्यको लागि सबै त्याग गर्न सकिन्छ तर कुनै पनि चिज प्राप्त गर्नका लागि सत्य त्याग्न सकिन्न । यही कुराको गहन सन्देश यो उपन्यासले दिन सकेको छ ।
कल्पना खरेलका यसअघि पनि आधा दर्जन कृति प्रकाशित भैसकेका छन् । उनका ‘लभ इन जेरुसलेम’ उपन्यास, ‘समलिङ्गी सम्बन्ध’ उपन्यास, ‘रागिनी’ कथासंग्रह, ‘क्षितिजपारिका शब्दहरु’ गीतिसंग्रह, ‘कामना’ गीति एल्बम प्रकाशित छन् । खरेलको शब्दमा रहेको ‘सेतो कात्रोमा गोजी’ हुँदैन रचनालगायत दुई दर्जन गीतहरु समेत रेकर्ड भइसकेका छन् ।
खरेलको पछिल्लो कृति ‘रानीतलाउ’ मञ्जरी प्रकाशनले बजारमा ल्याएको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।