नेपाल हाइकु केन्द्रको आयोजनमा बुङ्गमतीमा ऋतुगत हाइकु यात्रा सम्पन्न भएको छ ।

गृष्म/ वर्षा ऋतुलाई लक्षित गरी काठमाडौँ उपत्यका नजिकै रहेको ऐतिहासिक, पुरातात्त्विक तथा कृषिका लागि उर्वर मानिएको खोकना तथा बुङमती क्षेत्रमा आइतबार आयोजित “ऋतुगत हाइकु यात्रा” मा हाइजिनहरूले त्यहाँको प्राकृतिक वातावरणमा विचरण गर्दै स्थलगत रुपमै हाइकु रचना गरी वाचनसमेत गरिएको थियो ।

कार्यक्रमको शुभारम्भमा वरिष्ठ साहित्यकार, हास्यव्यङ्ग लेखक तथा नेपाल हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले प्राकृतिक वातावरणमा विचरण गरेर लेखिने हाइकुले गहन भाव र वास्तविकताको झलक प्रस्तुत गर्ने हुँदा ऋतु परिवर्तनमा हाइकु यात्राको अवधारणा ल्याइएको बताउनुभयो ।

जापानबाट नेपाल आइपुग्नुभएका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाले जापान नेपाललाई साहित्यिक सम्बन्ध जोड्न हाइकुले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले यस वर्ष नेपालमा हाइकुको अन्तर्राष्ट्रिय भेला गर्न पहल भैरहेको जानकारीसमेत गराउनुभयो । स्थलगत अवलोकनपछि रचना गरी वाचन गरिएका हाइकुबारे टिप्पणी गर्दै नेपाल हाइकु केन्द्रका उपाध्यक्ष डा. मित्रबन्धु पौडेलले यात्रा हाइकुमा रचित हाइकुहरूले प्रकृति र समाजको प्रवृत्ति दुवै बोलेको टिप्पणी गर्नुभयो ।

सञ्चारकर्मी शिरोमणि दवाडीले खोकना र बुङ्गमतीको इतिहासबारे चर्चा गर्दै विकासले अस्तित्व विनाश गरेकोमा दु:ख व्यक्त गर्नुभयो ।

कार्यक्रममा रामकुमार पाँडे, प्रकाश पौडेल माइला, शिरोमणि दवाडी, डा. मित्रबन्धु पौडेल, घनश्याम गौतम, पुष्कर जङ्ग थापा, किशोर बज्र बज्राचार्य, पशुपति दंगाल, चन्द्र कला शाह, शान्ति सापकोटा, प्रभा बराल, दिव्य गिरी, विदित दवाडी, आदेश आचार्य, शिव पाठक लगायतका १६ जना श्रष्टाहरूले तत्काल रचना गरेका १०/१० वटा हाइकु वाचन गर्नु भएको थियो । वाचित सिर्जनालाई कृतिका रुपमा संग्रहित गरिने जानकारी पनि सोही अवसरमा गराइएको थियो ।