काठमाडौँ / नियात्रा समाज नेपालको आयोजनामा साझा प्रकाशनबाट प्रकाशित पवन आलोकको पछिल्लो नियात्रा कृति ‘पहाड र लमतन्न समुद्र’ (२०७८) माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा क्रमशः वरिष्ठ साहित्यिक पत्रकार एवंम् साहित्यकार नगेन्द्रराज शर्मा, रोचक घिमिरे, कवि शैलन्द्र साकार, साझा प्रकाशनका महाप्रबन्धक प्रल्हाद पोखरेल र निसेनका संस्थापक अध्यक्ष चन्द्रप्रसाद भट्टराईले लेखक पवन आलोकलाई शुभकामना मन्तव्य दिनुभएको थियो ।

वक्ताको भूमिकामा आमन्त्रित प्रा.डा. लक्ष्मणप्रसाद गौतम, ज्ञानु अधिकारी, दामोदर पुडासैनी ‘किशोर’ र प्रमोद प्रधानलाई साहित्यिक पत्रकार एवं साहित्यकार श्रीओम श्रेष्ठ रोदनले कृति र नियात्रा साहित्यसँग सम्बन्धित विविध प्रश्नहरू सोधेर कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

यो सेसन निकै बौद्धिक र रोचक बन्न पुगेको थियो ।

दर्शकदीर्घाबाट डा. गोविन्दमान सिंह कार्की, उमेश पाण्डे, लव गाउँले, विधान आचार्य, नगेन्द्रराज शर्मा, भवानी खतिवडा लगायत अन्य सहभागीले पनि कृतिसँग सम्बन्धित विभिन्न प्रश्न लेखकलाई राख्नुभएको थियो ।

आएका सबै प्रश्नको जिज्ञासाबारे लेखकले कार्यक्रमको अन्त्यमा एकमुष्ट सम्बोधन गर्नुभएको थियो ।

नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन समाजकी महासचिव प्रभा बरालले गर्नुभएको थियो । कार्यक्रममा नियात्रा समाज नेपालका आजीवन सदस्यहरू लगायत विशिष्ट साहित्यिक व्यक्तित्वहरूको सघन उपस्थिति थियो । कार्यक्रम डिल्लीबजार, पीपलबोट अवस्थित होटल पेन्सन वासनाको सभाहलमा करिब तीन घण्टासम्म सञ्चालन भएको थियो ।