अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का निवर्तमान महासचिव सर्वज्ञ वाग्लेले वरिष्ठ उपाध्यक्षका लागि उमेद्वारी घोषणा गरेका छन् । एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर, एनआरएनए आईसीसीको भाषा साहित्यमा चार वर्षको कार्यकाल, एनआरएनए अमेरिकाको उपाध्यक्ष, एनआरएनए अमेरिकाको भाषा साहित्यको संरक्षक तथा हाल अनेसासको महासचिवलगायत संगठनमा रहेर लामो संगठनात्मक अनुभव बटुलिसकेका वाग्लेले अनेसासको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका लागि आफ्नो उमेद्वारी घोषणा गरेका हुन् ।
“अनेसास देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपालीभाषीहरूको साझा मञ्च हो । यो संस्थाले तीसौँ वसन्त पार गरिसके पनि अझै धेरै साहित्यकारहरूलाई एकीकृत गर्न सकेको छैन ।”, वाग्लेले साहित्यपोस्टसँग भने, “मैले दुई वर्ष महासचिव भएर काम गर्दा पूर्वकेन्द्रीय समिति, ट्रष्टिज, केन्द्रीय कार्य समिति एवं च्याप्टरलाई मात्र नभई आजीवन सदस्य, साहित्यकारज्यूहरूलाई अनेसासको अभियानमा जोड्ने सार्थक प्रयत्न निरन्तर गरिरहेँ । अब वरिष्ठ उपाध्यक्ष बनेर संस्था तथा नेपाली भाषा साहित्यलाई थप उचाईमा पुर्याउने भूमिका निर्वाह गर्न चाहन्छु ।”
संगठनात्मक अनुभवलाई प्रयोग गर्दै सबैको साझा, स्मार्ट, पारदर्शी र सबैको अनेसास बनाउने पवित्र अभियान सफल बनाउन आफ्नो जितको ठुलो भूमिका रहने वाग्लेको भनाइ छ । साहित्यकार तथा समकालीनहरूको माया, विश्वास र साथले शुभचिन्तक तथा शुभेच्छुकहरूको इच्छाअनुसार आफूले उमेद्वारी घोषणा गरेको उनले बताएका छन् ।
“सामाजिक तथा साहित्यिक यात्रामा मैले केही अनुभव बटुलेको छु । आफू बुझ्ने भएदेखि विद्वान्-विदुषीहरूसँग सङ्गत गरेकाले होला, सधैँ सकारात्मक सुझाव पनि पाएको छु ।”, आफ्नो उमेद्वारीलाई जितमा परिवर्तन गर्ने सवालमा वाग्ले भन्छन्, “अनेसासलाई विश्व साहित्यको साझा मञ्च बनाउन मेरो प्रयत्न रहने छ । आफ्नो काम र कर्तव्यलाई आत्मसात गर्दै ममा काम गर्ने निःस्वार्थपन, कार्यशैली, भावना छ । अग्रजप्रति सधैँ सम्मान रहने छ । सबैलाई सम्मान गर्ने मेरो बानी तथा मतदाताहरूको मप्रतिको अपार विश्वास नै मेरो जितको आधार बन्ने छ भन्ने कुरामा म विश्वस्त छु ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।