कोभिड १९ का कारण रोकिएको चारूशीला पुरस्कार तथा सम्मान २०७६ र २०७७ शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरी अर्पण गरियो ।

२०७७ सालको चारूशीला सम्मान मुकुन्दशरण उपाध्यायलाई प्रदान गरियो । ८३ वर्षीय उपाध्याय नेपाली भाषाको विश्वव्यापी एकरूपताको अभियानमा जुट्नु भएको छ । उहाँले लामो समयदेखि भाषा एकरूपताको पैरवी गर्दै आउनु भएको छ ।

यस्तै २०७७ को चारूशीला पुरस्कार भने ८३ वर्षीया गीता केशरीलाई प्रदान गरियो । गीता केशरी नेपाली आख्यान लेखनमा छुटाउन नमिल्ने स्रष्टाका रूपमा परिचित हुनुहुन्छ ।

यसैगरी २०७६ सालको चारूशीला सम्मान शिवगोपाल रिसाललाई प्रदान गरियो । ८६ वर्षका रिसाल आध्यात्मिक चिन्तक तथा महाकाव्यकारका रूपमा परिचित हुनुहुन्छ ।

यस्तै २०७६ सालको चारूशीला पुरस्कार श्रीमती रमा शर्मालाई प्रदान गरियो ।

चारूशीला वाङ्मय प्रतिष्ठानको स्थापना ९४ वर्षीया चारूशीला मिश्रले स्थापना गर्नु भएको हो । उहाँ साहित्य सर्जकसँगै समाजसेवी पनि हुनुहुन्छ । उहाँले ३० लाख रूपैयाँको अक्षयकोषबाट आउने ब्याजबाट वर्षेनी सम्मान तथा पुरस्कार वितरण गर्ने गर्नु भएको उहाँले सो अवसरमा बताउनु भयो । कार्यक्रममा उहाँले आफ्नो एउटा कवितासमेत वाचन गर्नु भएको थियो ।

सो अवसरमा चारूशीला प्रतिभा पुरस्कार २०७७ का लागि ४६ वर्षीय साहित्यकार तथा सम्पादक सूर्यप्रसाद लाकोजूले प्राप्त गर्नुभयो भने २०७६ सालको पुरस्कार ४५ वर्षीया साहित्यकार तथा सम्पादक रञ्जना निरौलालाई प्रदान गरियो ।

विश्वराज छात्रवृत्ति जाजरकोटकी १२ वर्षीया सपना रावत तथा मुगुका १४ वर्षीय दीपेन्द्र बानियालाई प्रदान गरिएको थियो । यसैगरी तरूण मावि र नन्दी रात्रि माविलाई विश्वराज पुरस्कार २०७६ र २०७७ बाट सम्मानित गरियो ।

कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष शैलेन्दुप्रकाश नेपालले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन प्रतिष्ठानकी सचिव अनुपमा रेग्मीले गर्नु भएको थियो ।