काठमाडाैँ/ २०७९ असार १ गते बुधवार टुक्का साहित्य समाजकाे आयाेजनामा लघुत्तम काव्यिक विधा टुक्का कविताकाे “अनन्त टुक्का यात्रा-६” अन्तर्गत ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा सम्बन्धी टुक्का कविताहरू सिर्जना गर्दै सम्पन्न भएकाे छ ।
प्रयाेगवादी लघुत्तम काव्यिक विधा टुक्का कविताका परिकल्पनाकार तथा टुक्का अभियन्ता ताराप्रसाद चापागाईं र वरिष्ठ टुक्काकार तथा टुक्का अभियन्ता राजेशराज गड्ताैलाले प्रशिक्षण गर्नु भएकाे उक्त कार्यक्रममा ५४ जना टुक्का यात्रीहरूले भाग लिएका थिए ।
अनन्त टुक्का यात्राकाे परिकल्पनाकार समेत रहेका मुख्य प्रशिक्षक तथा कार्यक्रमकाे संयाेजक ताराप्रसाद चापागाईंले समाजमा दबाइएका र अन्यायमा पारिएका समुदायकाे पीडाहरू र सामाजिक विकृति, विसङ्गतिहरूलाई टुक्का कविताकाे माध्यमले उजागर गर्दै सम्बन्धित निकायकाे ध्यान आकृष्ट गर्ने उद्देश्यले टुक्का कविताकाे फरक शैलीकाे कार्यक्रम “अनन्त टुक्का यात्रा” शुरु भएकाे कुरा जानकारी गराउनु भएकाे थियाे ।
त्यसै गरि अनन्त टुक्का यात्राका सह-संयाेजक तथा प्रशिक्षक राजेशराज गड्ताैलाले नेपाली साहित्यमा नविनतम काव्यिक विधा टुक्का कविताले अनन्त टुक्का यात्रा काे माध्यमबाट सामाजमा भइरहेका विकृती विसङ्गति र अन्याय अत्याचारलाई उठान गरेर समाजलाई सुसूचित तथा जागरूक गराउने उद्देश्य लिएर सञ्चालन हुँदै आएकाे र यसले क्रमिक रुपमा समाज परिवर्तनमा महत्वपूर्ण टेवा पुर्याउदै जाने व्यहाेरा जानकारी गराउनु भएकाे थियाे ।
कार्यक्रममा सहभागीहरूले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षामा ध्यान दिई हिंसा र अत्याचार राेकाैँ भन्ने आव्हान गर्दै चाेटिला टुक्काहरू सिर्जना गरेका थिए।
जेष्ठ नागरिक दुर्व्यवहार आर्थिक, भावनात्मक, शारीरिक र यौन रुपमा हुने गरेका छन् । सामाजिक, आर्थिक वा भावनात्मक तनाव जस्ता कारणहरूले जेष्ठ नागरिकहरूलाई दुर्व्यवहारको लागि कमजोर बनाउने गरेकाे पाइन्छ । ज्येष्ठ नागरिक दुर्व्यवहारकाे अध्ययनहरूबाट दुर्व्यवहार गर्नेहरू मध्ये ६० प्रतिशत परिवारका सदस्यहरू हुने गरेकाे तथ्य सार्वजनिक भएका छन् । वृद्धहरुकाे हक हित संरक्षणकाे लागि केही कानुनहरू त बनेका छन् तर त्यसकाे यथाेचित कार्यान्वयन हुन सकेकाे छैन । जेष्ठ नागरिककाे हक हित र सुरक्षा सम्बन्धी कानुनहरू कार्यान्वयनको पक्षमा सबै जना थप जुझारु र संवेदनशील भएर लाग्न जरुरी छ ।
कार्यक्रमकाे समापन गर्दै टुक्का अभियन्ता/ प्रशिक्षकद्वय चापागाईं तथा गड्ताैलाले अनन्त टुक्का यात्रा मा विश्वभरिबाट सहभागी भई ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा सम्बन्धी चाेटिला टुक्काहरू सिर्जना गर्ने सम्पूर्ण टुक्का यात्रीहरू प्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
टुक्का यात्रीहरूले सिर्जना गर्नु भएका “ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा” सम्बन्धी केही टुक्काहरू
[१]
१.
अग्रजहरू हाम्रा लागि हुन् देवतासरी,
यही नै मन्त्र जप्दै सेवा गरौँ सधैँभरि ।
२.
अनुभवका भकारी ती हाम्रा बुढा पाका,
बुझ्नुपर्छ सबैले तिनका मनका भाका ।
✍️ गंगा खड्का
बूढानीलकण्ठ काठमाडौँ
[२]
१.
आमा बाबा बोझ नसम्झ तिमी कुनै
जन्म दिने महान् सम्झ देव हुन् उनै ।
२.
आज वृद्व हुँदा किन रुवाउने गर्छौ धुरुधुरु,
सधैँ ममता दिई मान्ने गरौँ हाम्रा अग्रज गुरु ।
✍️ भगवती दवाडी
झापा
[३]
१.
अग्रज ज्ञाता हाम्रा सधैँ सम्मान गरौँ ,
उनका ज्ञान गुनले ज्ञानेन्द्रिय भरौँ ।
२.
जिम्मेवारीबाट नै अनेक भुक्तभोगी,
दु:ख दर्द दिएर नबनौँ कोही ढोँगी ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
[४]
१.
अग्रज हुन् हाम्रा मार्गदर्शक दिने ज्ञान सीप
बुझेमा अगच सारा खार्ने हुन् प्रज्वलित दीप ।
२.
पूज्य लाग्नु पर्छ ती प्रेरणाका अग्रगमन
घरमा उज्यालो ल्याउने वृद्धलाई नमन ।
✍️ प्रेम थापा “मन”
बागलुङ
[५]
१.
जाेगउनु छ पुर्खाकाे सान
गर्नु छ सधैंभरि नै मान।
२.
पुर्खा त हाम्रो ज्ञानकाे भकारी हुन
सदासर्वदा सम्झनु छ उनैको गुन।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
भक्तपुर ।
[६]
१.
हुर्काउनु भो उठाउदै हातमा ठेला
बिन्ती छ नगर्नु वयोवृद्धलाई हेला ।
२.
हेँला गरेर बा-आमालाई जसले रुवाउँछ
ती पापी सन्तानलाई कुपुत्र भन्न सुहाउँछ ।
✍️ रचना माेक्तान यात्री
काभ्रे
[७]
१.
आजका युवाहरू पनि पक्कै भोलिका अग्रज बन्छन्
बल, बैँस रहुन्जेल मात्रै काम छैन बुढोको भन्छन्।
२.
अनुभवका स्रोत यी नै हुन तल नै झर्नुपर्छ
बाँचिरहे भने धेरै सिकिन्छ सुरक्षा गर्नुपर्छ।
✍️ दस्ता कौशिक
पाँचथर,हिलिहाङ्ग-२, सिंहपुर।
[८]
१.
आमा बुबा हुन् भगवान ,
नगरौँ हेला अपमान ।
२.
वृद्धवृद्धाहरुलाई माया गरौँ ,
स्याहार सुसार गर्न अघि सरौँ ।
✍️ अनुराग अरुण
[९]
१.
अग्रज हुन् घरको शान र मान
ती बिना हुन्छ जीवन खोक्रो जान।
२.
अग्रजको आसिक लिनु जीवन धन्य हुन्छ
नबुझ्नेले तिनलाई सताउन जाल बुन्छ।
✍️ दीपक ठटाल जलन
खरसाङ्ग
[१०]
१
वृद्ध भनि हेर छोराछोरी हो कसैलाई नगरे हेला
प्राणी सबैले नै पर्नु पर्दो रहेछ यो अवस्थाको फेला ।
२.
भगवान् तुल्य वृद्ध आमा बुवालाई मन दिएर सेवा गरौँ
आफ्नो ह्रदयमा चरम आत्मसन्तोष को अनूभुति हामी भरौँ ।
✍️ पवन कुमार बुढाथेाकी
काठमाडौं
[११]
१.
बुढाबुढी आमा बाबु घरमा भए घर हुन्छ रमाइलो
सम्मान् दिनु खुसी दिई राख्नु आफ्नै हृदय हुन्छ घमाइलो।
२.
जन्मदिने बाबु आमा देवता भन्दा हुन् ठुला
तिनको सेवा सुसार निम्ति मन राख्नु खुला ।
✍️ पुष्पशायरा । विराटनगर ।
[१२]
१.
कमजाेर छन् भनी नगर्नु हेला
आफू नै परिन्छ कुनैदिन फेला ।
२.
संघर्ष सम्झिएर सधैँ काम गर्नु
ती वृद्धहरूमा खुशीको झाेला भर्नु।
✍️ रितु बुढाथोकी
[१३]
१.
जेष्ठ नागरिकहरुलाई नगरौँ हेला,
छेउको सियो माझैमा पो हुन्छ कुनै बेला ।
२.
वृद्ध-वृद्धाले पो पाउन् नाना, छाना, खाना
उनीहरू हुन् हाम्रा इतिहासका पाना ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६, दोलखा ।
[१४]
१.
आदर छ मेरो ढोग छ मेरो, मातापितालाई
ज्ञानको भण्डार तिमी हौ,सिकाउँछौ ठिटालाई।
२.
आमाले हुर्काइ बाबाले हिँडाए सधैँ नमन
वृद्ध भए हे मेरो पूजनीय हेर्ने छु म तन।
✍️ एवाइ प्रभात
धनकुटा, हाल मोरङ
[१५]
१.
अग्रजको सम्मान गरौँ सबै मिलेर,
आशीर्वाद पाउछौँ हामी दिल खिलेर।
२.
मनिस मरी गएपनि वाणी मर्दैन,
छाडी जान्छन् ज्ञानी कुरा फरक पर्दैन।
✍️ मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार
बिर्तामोड झापा
[१६]
१.
बुबा मुमाले भनेका कुरा मान्नु
दिमागले नि सोचेर चाहिँ छान्नु।
२.
पुर्खाले बोलेका कुरा हुन्छन् ढुङ्गामा लेखेका अक्षर सरि
बुझौँ हामीले नपढेपनि कसरी सोच्थे होलान् थरिथरि।
✍️ रतन पाण्डे’पारतन’
दार्जीलिङ।
[१७]
१.
सकिन्छ वृद्धलाई श्रद्धा गरौँ घृणा कहिल्यै नगरौँ,
सेवा गर्न अघि सरौँ तिरस्कार गर्न चाहिँ नसरौँ।
२.
पृथ्वी गोलो छ घुम्दै जान्छ अनि आउँछ रे फर्किएर,
अशक्त असहाय वृद्ध देख्दा नहिँड है तर्किएर।
✍️ अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[१८]
१.
वृद्धवृद्धालाई गरौ सधैँ सम्मान ,
सेवा नै धर्म हो यो कुरा तिमी जान ।
२.
नगरौ हेला, नगरौँ घृणा वृद्धवृद्धालाई ,
सम्मान गरौ संरक्षण गरौँ सुन दाजुभाइ ।
✍️ बुद्धिमान दनुवार
कनकाई नगरपालिका ४ झापा
[१९]
१.
वृद्ध बुबाआमाको सेवा गरेर आशिर्वाद लिनु
श्रद्धा र भक्ति साथ हुदा सम्मानको भाग दिनु।
२.
जनम जनम बुबाआमाको सधैँ शिरमा हात हुनु
समाजका हरेक क्षेत्रमा परम्पराले शिखर छुनु।
✍️ अम्विका अधिकारी
झापा विर्तामोड
[२०]
१.
ज्येष्ठ नागरिक हुन् ज्ञान सिप र अनुभवका खानी
ज्ञान सिप संस्कार हस्तान्तरणले सु-सम्पन्न बानी ।
२.
हेरविचार गरौँ सधैंँ सम्मान ख्याल गरौँ अग्रजको
हेला तिनलाई भएमा जाँच गराऔँ आफ्नै मगजको।
✍️लक्ष्मी प्रसाद फुयाल
मोरङ पथरी शनिश्चरे
[२१]
१.
अनुभवका थाती हुन् यी, कहिले हुन्थे नजाती
नफाल जहाँ तहाँ यी हुन् हृदयका फूलपाती।
२.
ज्येष्ठ बिनाको कनिष्ठ कल्पना गर्नै सकिनँ
भो खाली रहोस् पन्ना बरु मैँले केही लेखिनँ।
✍️ अर्जुन उप्रेती (अप्रतिम)
असम भारत
[२२]
१.
अग्रजको महिमा छ सबैभन्दा ठुलो
अनुजले घोचीघोची पारिदिए दुलो ।
२.
मिठो बोली सम्मान दिएर साँच्न
बुढापाकाविना सकिदैन बाँच्न ।
✍️ रिजाल विनोद
बेलबारी ०२ मोरङ
[२३]
१.
जतिजति वृद्ध हुँदै जान्छन् ,बाबा-आमाको उति नै लाग्छ पीर
किन कि जिम्मेवारीको भार बोक्दाबोक्दै, गलेका हुन् ती शरीर।
२.
विगतमै बोकेका परिवारको जिम्मेवारीको पहाड
बृद्धहरुले लौरो टेक्छ अनि नै कुप्रिएको हुन्छ ढाड।
✍️ बि.कुलुङ
दार्जिलिङ, भारत
[२४]
१.
अध्याँरोमा हात समाइ उज्यालोमा ल्याउने उनै हुन्
भुल्नु हुन्न कहिल्यै हामीले अग्रजहरुको मिठो गुन् ।
२.
हिँड्नुपर्छ हो सँधै बुवाआमाले देखाएको बाटो
असल ज्योति छरी सिकाएकाछन् बन्नु हुन्न लाटो।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया
[२५]
१.
बाबा आमालाई ईश्वर सम्झिएर पूजा गरौँ
हरेक वृद्ध वृद्धाको सम्मान गर्न अघि सरौँ ।
२.
बाबा आमाको सेवा गर्नलाई हुन्न दिक्क मान्न
वृद्ध अवस्था आफ्नै आउँछ अन्यथा हुन्न ठान्न ।
✍️ रुपा गौतम
बारा
[२६]
१.
छोराले गरे नातीले सेवाको भाव देखेर गर्छ,
बुझेर अवस्था कठिन ती वृद्धाको शरण पर्छ।
२.
सृजना उनैको हुन्छ हामी सृजित जीवन बाँच्ने,
वृद्ध असक्तको सेवा गरि अाफ्ना लागि पुण्य साँच्ने।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[२७]
१.
वृद्धवृद्धा गहना हुन् घरका, माया गरौँ
पाइन्छ आशीर्वाद, यिनकै शरण परौँ ।
२.
सम्मान गरौँ असहाय र वृद्धको सधैँ भरी
यिनै हुन् सर्व ज्ञाता भन्ने सदैव मनन गरि ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास
[२८]
१.
हिजोका बाल आजका वृद्ध,भोलि कस्को छ भर ?
वृद्धको साथ स्वर्णिम हुन्छ, हामी सबैको घर।
२.
मरेर जाने मानव चोला यो, हो दुई दिनको,
वृद्धको साथ हामीले पाउने, त्यो एकैछिनको।
✍️ प्रदीप के रिमाल
इटहरी, सुनसरी
[२९]
१.
आदर गरौँ जेष्ठ नागरिक प्रति सम्मान धेरै दिउँ,
हाम्रो अद्वितीय संस्कृतिको सधैँभरि छरि राखौ बिउ।
२.
विद्या अनुभवले परिपक्व बुढ्यौलीको उमेर,
सम्मान पुर्याउ सधैँ, आफैँ वृद्ध हुन्छौ पछि नेर।
✍️ अच्युत घिमिशरे
भुटान ।
[३०]
१.
मातापिता देवतासरि हुन् हाम्रा जीवन दाता पनि,
उनले दिएको वरदानकाे तिर्नु सकाैँ गुण अनि ।
२.
जेष्ठ नागरिकहरू आधार हुन् हाम्रो समाजको अनि,
गाैरव मान्नुपर्छ सही सम्मान र गराैँ स्याहार पनि ।
✍️ रामप्रसाद पुरी
बादेल, खाेटाङ ।
[३१]
१.
अग्रजबाट सिकौँ हामी ज्ञानगुनका कुरा
त्यही ज्ञानलाई अँगालेर गरौँ लक्ष्य पूरा।
२.
वृद्धवृद्धालाई सम्मान गरौँ भगवान मानेर
नगरौँ अपमान कहिल्यै घरको बोझ ठानेर।
✍️ काेकिला चाैधरी
बाँके
[३२]
१
कहाँबाट आयौ सोचेर बुझ पढाउने लेखाउने
को होला हुर्काइ बढाइकन यो संसार देखाउने ।
२
सोधेर सिक सिकेर बुझ उनैका अन्सार
उनैले गर्दा तिमीले आज देखेको सन्सार ।
✍️ गुणनिधि घिमिरे
हाल अमेरिका
[३३]
१.
आगाे तापाैँ ठुलै मुढाे साह्रै झरिलाे
बुढ्याैलीकाे व्यवहार साह्रै भरिलाे ।
२.
बल मेराे घाेडासरि बुद्धि कलिलाे
वृद्धवृद्धा रहे घर सधैँ भरिलाे ।
✍️ निरज काेइराला
बेलका १, उदयपुर
[३४]
१.
मुहारमा चाउरी पर्यो केश फुल्दै गए ,
दात फुक्ले आँत टुट्यो बोझ बन्दै रहे ।
२.
ज्ञानका हुन खानी यिनी अनुभवका मुल ,
अपमान र तिरस्कारको नगर्नु है भुल ।
✍️ रामजी लामिछाने ,
पोखरा -२७
[३५]
१.
पालन गर्ने पिता भए जन्म दिने माता ,
भाग्य लेख्ने भावी भए हरण गर्ने दाता ।
२.
बाबा-आमा जेष्ठ नागरिकको सेवा गर्ने गर ,
वृद्ध भनी घृणा हिंसा गर्दै नहोउ पर पर ।
✍️ बेदु न्यौपाने
काठमाडौ
[३६]
१.
जेष्ठ नागरिकलाई गरौँ सम्मान
पर्दैन धाएर कतै मन्दिर जान ।
२.
भइन्छ नै सबै अशक्त एक दिन
सेवा गरौँ वृद्धको आशीर्वाद लिन।
✍️ तेजप्रसाद खनाल
लमही दाङ।
[३७]
१.
हेला नगर्नु वृद्धाहरुलाई हामी सम्मान गर्न सिकौँ,
आदरणीय हुन उनको सम्मानमा दुई शब्द झिकौँ।
२.
एकदिन हामी पनि त्यही ठाउँमा पुग्नैपर्छ मित्र,
यो बिचारलाई सधै राख शुरक्षित मष्तिक भित्र।
✍️ सुरेशकुमार पान्डे।
दाङ घोराही १८
[३८]
१.
अग्रजप्रति श्रद्धाभावका शब्दहरु बोलौँ ,
गुम्सिएका उनका व्यथा गहिरिएर खोलौँ ।
२.
वृद्धवृद्धा समाजका ज्ञानका श्रोत मानौँ ,
संस्कृतिका अमुल्य धरोहर रुप ठानौँ ।
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
[३९]
(व्यङ्ग्यात्मक टुक्का)
१.
एसी घरमा हुँदाहुँदै, के काम त्यो मुढाको,
झुरलाग्दो वाहियात कुरा के सुन्नु बुढाको ।
२.
आफ्नै कुरा नै लाद्न खोज्छन् हरबखत हेर,
उनको सर पुग्दापुग्दै, गयो योवन खेर ।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[४०]
जेष्ठ नागरिकको सम्मान गरौँ
उहाँहरुलाई ममताले भरौँ ।
✍️ आर्मित्मा थापा मगर
पु.ब.न.पा- ७ स्याङ्जा
[४१]
व्यवहारमा शून्य भएको बुढौली समयलाई हेराैँ
सबैकाे आउँछ याे दिन वृद्धवृद्धालाई मायामा बेराैँ ।
✍️ रश्मि रिमाल
झापा
[४२]
१.
घर पवित्र तीर्थस्थल माता पिता जीवित देवता ,
जीर्ण घर जस्तै उनीहरू प्रति देखाउ है ममता ।
२.
जसका माया ममताले आज यस संसारमा बलवान् भयाै ,
यदि आफ्नाे कर्तव्य भुल्याै भने बुझ तिमी साेझाै नर्कमा गयाै ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
[४३]
१.
वृद्धाश्रम होइन घर
नगर मातापिता पर।
२.
बुढापाका हाम्रो समाजको टोपी,
शिरैको माथि राख्नु निधार छोपी।
✍️ बिके मुखिया
दार्जीलिङ, भारत।
[४४]
१.
अभिभावक हाम्रा सम्पत्ति
सेवामा नमानाै कहिले आपत्ति ।
२.
माता पिता हाम्राे धर्म, तिर्थ
सधै नै लागाेस् मनमा मायाकाे अर्थ ।
✍️ भानु पाेखरेल
झापा ।
[४५]
१.
वृद्धलाई नहेप है तिम्रो पनि त्यही हाे बाटो ,
माटोको भर ढुङ्गा भन्छन् ढुङ्गाकाे भर माटो ।
२.
भगवान् खाेज्दै कहाँ हिड्छाै हेर आफ्नै घरमा,
स्वर्ग जाने बाटाे खुल्छ सेवा भावकाे भरमा ।
✍️ मित्र उराठी गाैतम
अमरपुर,गुल्मी हाल तिलाेत्तमा न पा -२
[४६]
१.
मान्छे मरेर गए नि उस्काे गुण मर्दैन,
असल कुरा सिकाउँछ फरक पर्दैन ।
२.
बाबा आमाकाे पवित्र शीतल छाया,
रात दिनकाे याद अनि धेरै माया।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल
[४७]
१.
ल्याउनुपर्याे अग्रजका नि संरक्षणका खाका,
यद्यपि छन् अपहेलित यहाँ वृद्ध बुढापाका ।
२.
अनगिन्ती उपयोगी ज्ञानका श्राेत यिनै,
भरिदैछन् वृद्धआश्रम थपिँदाेछन् दिनै ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा
[४८]
१.
योग्यता र अनुभव खारिएको मन
ईश्वरको स्थानमा छन् वृद्ध वृद्धाजन।
२.
जेष्ठ नागरिकमाथि श्रद्धाभाव राख
सन्तानकै पिसाबले भिजेको छ काख।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[४९]
१
आमाबुवा त सम्पत्ति हुन् हाम्रा जिउॅंदा इतिहास,
संस्कार राम्रो नदिए सन्ततिले पार्लान् उठीबास।
२
जननी हुन् हेला गरे जन्मौँजन्मसम्म लाग्ला पाप,
शिक्षा सिकौँ र सिकाऔँ नहोस् कसैलाई अभिशाप।
✍️ म्यामराज राई
हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान
[५०]
१.
वृद्ध बा-आमा देवता राम्रा नघुमौ मन्दिर
यिनै हुन् कर्म सम्पत्ति हाम्रा मायाको जन्जिर।
२.
सम्पत्ति हाम्रो शिरको शाेभा साक्षात देवता
नभुलौँ काम जीवित राख्न कर्तव्य एउटा ।
✍️ अबजस चन्द्र
कमल, झापा
[५१]
माता पिता सबैको शिक्षा दिने पहिलो शिक्षक हुन् हाम्राे
वयोवृद्ध उनीहरुको रक्षा, हेरविचार गराैँ राम्राे ।
✍️ सुमिना तिमल्सिना
भक्तपुर
[५२]
१.
वृद्धा बा र आमा हुन् हाम्रो ज्ञानको खानी,
सम्मान गरौँ सबैले यही कुरा जानी ।
२.
वृद्धालाई सबैले सम्मान गरेको नै राम्रो,
घरको मात्र होइन राष्ट्रको सम्पत्ती हाम्रो ।
✍️ रविन भण्डारी
कानेपोखरी मोरङ
[५३]
१.
अग्रजले नै सिकाउँछन् सही सत्य बाटो
असल ज्ञानि बन्नुपर्छ है बिग्रिनुको साटो ।
२.
बुबा र आमा भगवान जस्तै हुन् जान
राम्रो गरी बढाउनु समाजको शान ।
✍️ ललिता अभागी
सिन्धुली ।
[५४]
१.
ज्ञान सीप अनुभव लिनु पर्छ अग्रजबाट
सम्मान गर्दै सधै भरी बृद्ध संग माया साट ।
२.
जीवन दिने ईश्वर झैँ मातापिता अग्रजहरू,
हक अधिकार दिलाएर आँसु पुछ्न जुटाैँ बरू ।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी, हाल प्रवास
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।