कवि द्वारिका श्रेष्ठले आफ्ना मातापिताको स्मृतिमा स्थापित ‘बुद्धि- रेशम स्मृति स्रष्टा सम्मान’ नौ जना लेखक तथा स्रष्टालाई प्रदान गरिएको छ ।
२०६९ सालदेखि प्रदान गर्न शुरु गरिएको यो सम्मान ‘जलरिका साहित्य प्रतिष्ठान’को वार्षिकोत्सव समारोहका अवसरमा जेठ ३१ गते प्रदान गरिएको हो । जलरिका साहित्य प्रतिष्ठानका अध्यक्ष जलेश्वरी श्रेष्ठ र कवि द्वारिका श्रेष्ठले सम्मानित व्यक्तित्वहरूलाई ताम्रपत्र र जनही नगद रु. १ लाख राशिसहित सम्मानित गर्नु भयो ।
कोरोना महामारीका कारण विगत तीन वर्षदेखि आयोजना हुन नसकेकाले यस वर्षको समारोहमा २०७७, ०७८ र ०७९ सालका लागि नौ जना लेखकहरूलाई एकै पटक सम्मानित गरिएको हो ।
सम्मान प्राप्त गर्नु हुनेहरूमा समालोचनातर्फ प्रा. डा. वासुदेव त्रिपाठी, कलातर्फ शशी शाह तथा नाटकतर्फ सुनील पोखरेल हुनुहुन्थ्यो । यस्तै काव्यतर्फ वैरागी काइँला, नेपालभाषामा काव्य सिर्जना गर्नुहुने नारायणदेवी श्रेष्ठ, तथा दुर्गालाल श्रेष्ठ हुनुहुन्थ्यो । आख्यानतर्फ भने माया ठकुरी, पद्मावती सिंह र भागिरथी श्रेष्ठलाई सम्मानित गरिएको थियो ।
समारोहमा प्रा. डा. अभि सुवेदीले कला र नाट्य, प्रा. डा. लक्ष्मणप्रसाद गौतमले समालोचना र काव्य, प्रा. डा. ज्ञानू पाण्डेले आख्यान र प्रा. ईश्वरी मैयाँ श्रेष्ठले नेपालभाषामा काव्य विषयहरूमा विशेष मन्तव्य व्यक्त गर्नु भएको थियो ।
जलरिका स्रष्टा दम्पती आख्यानकार जलेश्वरी श्रेष्ठको नामबाट जल र कवि द्वारिका श्रेष्ठको नामबाट रिका शब्द लिई दुवैलाई मिसाएर ‘जलरिका’ नामाकरण गरिएको यो साहित्य सेवाका लागि स्थापित संस्था हो । यस संस्थाले हरेक वर्ष फरक क्षमताका प्रतिभाहरूको कृति प्रकाशन, विद्यालयका बालबालिकाहरूका लागि सिर्जनात्मक लेखन तालिम लगायत विविध कार्यक्रमहरू गर्दै आइरहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।