सिस्नुपानी नेपालका अध्यक्ष तथा वरिष्ठ हास्यव्यङ्ग्य स्रष्टा लक्ष्मण गाम्नागेको नयाँ कृति ‘प्रिय चिठीहरु’ प्रकाशित भएको छ ।

दुई सय पृष्ठमा विस्तारित पुस्तक जीवनका भोगाइ, सन्चो–विसन्चो, जागिर, पढाइ, अर्थाभाव, प्रेम, हौसला, हास्यभाव, पारिवारिक तथा व्यक्तिगत सुख–दुःख र तत्कालीन समाजको चित्रणमा आधारित पात्रहरुको रोचक सङ्ग्रह बनेको छ ।

पुस्तकमा आफ्नै बुबा, दाजुभाइ, दिदीबहिनी, प्रिय साथीहरु, शुभचिन्तकलगायतले लेखकलाई विभिन्न समयमा लेखेका १२४ वटा छानिएका चिठीहरु सङ्कलन गरिएको छ ।

पुस्तकका बारेमा प्राध्यापक गोविन्दराज भट्टराईले भनेका छन् – “पत्रैपत्रको यो नेपाली सङ्कलन पत्र–साहित्यमै यस दशककै उत्कृष्ट प्रस्तुति हो । यो पुस्तक देशकै दस्ताबेज हो । देशको त्यस बेलाको समय अनुसार अब चाहेर पनि त्यसरी बाँच्न पाइन्न ।”

२०० पृष्ठमा रहेको यो पुस्तक मञ्जरी प्रकाशन गृहबाट प्रकाशन भएको हो । पुस्तकको मूल्य २२५ रुपैयाँ रहेको छ ।