साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

हेटौँडामा प्रथम राष्ट्रिय बालसाहित्य उत्सव सम्पन्न

हेटौँडा, चैत्र २८ / नवसर्जक साहित्य चौतारी नेपालले मकवानपुरको हेटौँडामा प्रथम राष्ट्रिय बालसाहित्य उत्सव–२०७९ भव्यताका साथ सम्पन्न गरेको छ ।

नेपालका सातै प्रदेशबाट सहभागी भएका दुई सयभन्दा बढी नवसर्जक बालबालिकाहरू र विशिष्ट बालसाहित्य सर्जकहरूको बाक्लो उपस्थिति रहेको उक्त भव्य उत्सवको समुद्घाटन नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (बालसाहित्य र लोकवार्ता) विभाग प्रमुख डा. देवी नेपालले गर्नुभयो ।

bahulako diary small and inside post

उक्त अवसरमा प्रमुख अतिथि प्राज्ञ नेपालले कोरोनाको महामारीबाट विश्व आक्रान्त भएका बेलामा हेटौँडाका शिक्षक तथा युवासर्जक दीपक गौतमले सिर्जनशील बालबालिकाहरूलाई भर्चुअल माध्यमबाट जोडेर सिर्जनाकर्ममा लाग्ने प्रेरणा दिँदै सुरु गर्नुभएको नवसर्जक साहित्य चौतारी नेपालले आफ्नो स्थापनाको दुई वर्ष नहुँदै यस्तो राष्ट्रिय स्तरको ऐतिहासिक उत्सव सम्पन्न गर्न सफल भएकामा खुसी व्यक्त गर्नुभयो ।

उहाँले हामी बालबालिकाले गर्न सक्दैनन् भनेर अवसर दिँदैनौँ तर मौका पाउने हो भने नयाँ पुस्ताले केसम्म गर्न सक्ने रहेछ भन्ने कुराको उदाहरण यो उत्सव भएको विचार व्यक्त गर्नुभयो । साथै आजको पुस्ता सिर्जना, उत्साह, प्रविधि र व्यवस्थापन हरेक कुरामा उत्तिकै दक्ष भएको र उनीहरू प्रौढ पुस्ताभन्दा बढी नै संवेदनशील भएका कारण यो कार्यक्रम यति व्यवस्थित र सफल पनि भएको कुरामा जोड दिनुभयो ।

उक्त अवसरमा नेपाली बालसाहित्यका विशिष्ट अन्वेषक तथा वरिष्ठ सर्जक प्रमोद प्रधानलाई रु. १५,५५५ नगदसहिदको ‘लोकनाथ न्यौपाने स्मृति अग्रज बालसाहित्यकार सम्मान’ प्रदान गरिएको थियो भने सात प्रदेशका सात जना बालस्रष्टाहरूलाई रु. ७,७७७ नगद सहितको प्रादेशिक प्रतिभा सम्मान प्रदान गरिएको थियो ।

उक्त सम्मान प्रदेश नं. एकबाट अन्वेषा चापागाईं (झापा), मधेस प्रदेशबाट अभिजित राम (बारा), बाग्मती प्रदेशबाट अनुज्ञा नेपाल (भक्तपुर), गण्डकी प्रदेशबाट अनुराग सापकोटा (कास्की), लुम्बिनी प्रदेशबाट पवन अधिकारी (कपिलवस्तु), कर्णाली प्रदेशबाट नवीन पाण्डे (दैलेख) र सुदूरपश्चिम प्रदेशबाट ऋस्टिना करियाप्रधान थारू (कैलाली) लाई प्रदान गरिएको थियो ।

कार्यक्रममा विशिष्ट सर्जक प्रमोद प्रधानले नेपाली बालसाहित्यको विगतदेखि वर्तमानसम्मको समीक्षा गर्दै अबको सिर्जनात्मक गन्तव्यका बारेमा नवसर्जकहरूलाई मार्गनिर्देश गर्नुभएको थियो भने सम्मानित सातै जना बालप्रतिभाहरूले आफ्नो सिर्जना यात्राका बारेमा प्रकाश पार्दै आआफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका संरक्षक दीपक गौतमले सम्मानित प्रतिभाहरूको जीवनी, व्यक्तित्व, कृतित्व र योगदानका बारेमा प्रकाश पार्नुभएको थियो ।
संस्थाकी अध्यक्ष प्रशन्ना चौलागाईंको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विभूति अधिकारीले संस्थाको परिचय र कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कवितात्मक स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रदेश संयोजकहरू रुबी गुप्ता (मधेस प्रदेश), उषाकिरण अधिकारी (बाग्मती प्रदेश), कृतिका लामिछाने (गण्डकी प्रदेश), जोसिका कँडेल निशा (लुम्बिनी प्रदेश), समीक्षा नेपाल (कर्णाली प्रदेश), प्रवीण चन्द (सुदूरपश्चिम प्रदेश) र प्रविना बराल (विदेश विभाग) ले संस्थाको प्रदेश समिति र विदेशका गतिविधिहरूका बारेमा जानकारी दिँदै आआफ्ना रचनाहरू प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथिहरू हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरणबहादुर जोशी, शिक्षासेवी ऋषिराम आचार्य, सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, साहित्यिक चौतारी नेपालकी अध्यक्ष गीता भण्डारी, प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, प्याब्सन हेटौँडाका अध्यक्ष रामकुमार श्रेष्ठले बालबालिकाले गरेको राष्ट्रिय स्तरको कार्यक्रम यति स्तरीय भएकोमा आश्चर्य प्रकट गर्दै आगामी सिर्जनायात्राका लागि शुभकामना व्यक्त गर्नुभएको थियो भने संस्थाका प्रदेश संरक्षक तथा सल्लाहकारहरू सञ्जय शाह मित्र, जागेश्वर उपाध्याय, ऋषिकेशव भारद्वाज, ओमकुमारी बन्जारा र विन्दा पराजुली एवम् पुरस्कार संस्थापक विष्णु न्यौपानेले नवसर्जकहरूको यात्रामा आफ्नो सदैव साथ रहने विचार व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा कृतिका लौडारी, बिबिका पराजुली, सुविज्ञा सुवेदी, सिम्रन खुलाल, अनुसूया खनाल, सुमिज्ञा धिताल, नवीन श्रेष्ठ, निष्मा राई, सलिना घिमिरे, निर्भीक ज्ञवाली, रोजी सुवेदी, निमिषा निरौला, याङ्की लामा, प्रकृति दाहाल, सलोनी चापागाईं, आयुुष्मा भण्डारी, स्नेहा मण्डल, आर्यांश कुँवर, सुजियान लोप्चन, प्रेन्जुु अधिकारी, रुसिका लामिछाने, ऋत्विक केबी, स्वस्तिका दाहाल, दीपेन्द्र चौलागाईं, साइरा उपाध्यायलगायतका दुुई दर्जन बालप्रतिभाहरूले अआफ्ना कविता प्रस्तुत गर्नुुभएको थियो भने धनगढीका फरक क्षमताका प्रतिभा बमबहादुर बिसीले देउडा गीत तथा कविता प्रस्तुत गर्नुभएको थियो ।

बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म लगातार चलेको उक्त कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ नेपालले संस्थाको हालसम्मका सम्पूर्ण गतिविधि र बालसाहित्यसँग सम्बन्धित महत्त्वपूर्ण सामग्रीहरू समेटिएको ‘नवसिर्जना’ नामक स्मारिका विमोचन गर्नुभएको थियो भने बिच बिचमा बालबालिकाका सांस्कृतिक नृत्यहरू प्रस्तुत भएका थिए ।

चौतारीका महासचिव समर्पण न्यौपाने तथा सदस्यद्वय रोशनी चौलागाईं र प्रवास घिमिरेले पालैपालो सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा बुढ्यौली साहित्य समाजका अध्यक्ष आरसी रिजाल, प्रलेसका केन्द्रीय सदस्य मसान उपासक, साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने, प्रलेस जिल्ला अध्यक्ष श्रीराम अधिकारी, नेपाली लेखक सङ्घका जिल्ला अध्यक्ष छवि अनित्य, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौला, समालोचक घनश्याम घिमिरे, स्रष्टा रमेशमोहन अधिकारी, हयग्रीव आचार्य, चिरञ्जीवी लामिछानेलगायतका विशिष्ट साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

अठार वर्षमुनिका बालबालिकाहरू मात्र सङ्गठित हुन सक्ने नवसर्जक साहित्य चौतारी नेपालको हाल प्रसन्ना चौलागाईंको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति रहेको र सातै प्रदेशमा २५/२५ सदस्यीय प्रदेश समिति र विश्वभरका नेपाली नवसर्जक बालबालिकालाई समेट्ने उद्देश्यले एउटा विदेश विभागसमेत गठन गरिएको कुराको जानकारी दिँदै संस्थाका संरक्षक दीपक गौतमले पहिलो पटक आयोजना गरिएको प्रस्तुत ‘प्रथम राष्ट्रिय बालसाहित्य उत्सव–२०७९’ अत्यन्त भव्य, सभ्य र ऐतिहासिक बन्न सफल भएकामा खुसी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
Loading...