बुटवल, जेठ २८ / विगत २७ वर्ष यता हरेक महिनाको अन्तिम शनिबार बुटवलमा नियमित सञ्चालन हुँदै आएको तर कोभिड-१९ का कारण रोकिएको साहित्य संगम बुटवलको नियमित मासिक शृङ्खला सुचारू भएको छ ।
सो कार्यक्रममा बोल्दै प्राज्ञ बूँद रानाले साहित्यकारले नै सहीलाई सही र गलतलाई गलत भन्न र लेख्न सक्ने साथै समाजको दर्पण रहेको हुनाले निरन्तरता दिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रम अध्यक्षता कवि चतुर्भुज आत्रेयले गर्नु भएको थियो । आत्रेय परिवर्तनका आन्दोलनमा सधैं अग्रभागमा देखिने कवि हुनुहुन्छ । देशमा भएका विसंगतिविरुद्ध एक्लै माइक बोकेर आन्दोलनको शंखघोष गर्नुहुने आत्रेयले कम्युनिस्ट आन्दोलनमा अहोरात्र खट्दा धेरै पटक जेलनेल भोग्नु भएको छ ।
आत्रेयका यतिबेला दुवै मृगौलाले काम गर्न छोडेकाले उपचाररत हुनुहुन्छ ।
कार्यक्रममा आत्रेयले ९ वटा कविता वाचन गर्नु भएको थियो । उहाँका कविता देशभक्तिको भावनाले ओतप्रोत थिए । कवि आत्रेयले ठूलो कष्टले जोगाएको पार्टी नेतृमा हैकमवादी चरित्र देखापर्दा चिन्ता लाग्ने बताउनुभयो ।
देशप्रतिको माया र चिन्तामिश्रित कविता वाचन गर्नु भएका कवि आत्रेयको साधारण जीवन शैली छ । आन्दोलनका घाइते हुनुभएका कारण उहाँलाई चिन्नेहरूले जिउँदो सहिद पनि भन्दछन् ।
हाल उपचाररत उहाँको उपचारका लागि गजल सागर नेपाल र प्रगतिशील लेखक संघ नेपाल, रुपन्देहीको संयोजनमा विशेषगरी मीनबहादुर रानाले चलाएको अभियानमा देश विदेशबाट संकलित १ लाख ५ हजार ५ साय ५ रूपैयाँमध्ये त्रियानब्बे हजार ५ सय ५ रुपैयाँ बुझाइएको बाँकी बाह्र हजार केही दिनमा बुझाउने अभियन्ता कृष्ण गाउँलेले बताउनुभयो ।
सो साहित्य संगम बुटवलको ३११ औं शृङ्खलामा प्रमुख अतिथि बूँद राना, समीक्षक रमेश समर्थन, लक्ष्मण ज्ञवाली, यज्ञलाल सुवेदी, सुशीला आत्रेय, सरोज ज्ञवाली, नारायणप्रसाद भण्डारी, सिर्जना खनाल, गीतारानी बलाल, दुर्गा थापा मगर, बिन्दु भण्डारी, यम थापा, सविता पौडेल, आशीष आचार्य लगायतले आ-आफ्नो विचार तथा रचना वाचन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन कृष्ण गाउँलेले गर्नुभएको थियो ।
कार्यक्रम कवि चतुर्भुज आत्रेयको निवास बुटवल ११ स्थित योगिकुटीमा कार्यक्रम सम्पन्न भएको थियो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।