नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली बालनिबन्ध’ प्रकाशन गरेको छ । पछिल्लो समयमा ऐतिहासिक महत्त्वका गुणात्मक मूल्य राख्ने नयाँ तथा पुराना कृतिहरूको लगातार प्रकाशन गर्दै आएको प्रज्ञा–प्रतिष्ठानले यस कृतिमा पुरानो पुस्तादेखि नयाँ पुस्तासम्मका १२७ ओटा बालनिबन्धहरूलाई एकै ठाउँमा समेटेर प्रकाशन गरेको छ । प्रा.डा. भागवत ढकालको सम्पादनमा तयार भएको यस कृतिमा बालनिबन्धको सैद्धान्तिक स्वरूपका बारेमा जानकारी प्रस्तुत गरी हरेक निबन्धकारका एक एक ओटा निबन्धहरू समावेश गरिएका छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको अनुसन्धान तथा प्रकाशन परियोजनाअन्तर्गत तयार गरिएको यस कृतिले बालनिबन्धप्रति चासो राख्ने जोकोहीलाई बौद्धिक खुराक प्रदान गरेको छ । अघिल्लो खण्डमा रहेको सैद्धान्तिक पक्षले सिकारु स्रष्टाहरूलाई बालनिबन्ध सिर्जना गर्ने बाटो देखाएको छ भने पछिल्लो खण्डमा समाविष्ट निबन्धहरूले मनोरञ्जन र ज्ञान दुुवै प्रदान गरेका छन् । बालसाहित्यअन्तर्गत पर्ने सबै सैद्धान्तिक सामग्री र सम्पूर्ण विधाहरूको अनुसन्धान, सङ्कलन र सम्पादन गरी क्रमशः कृति प्रकाशन गर्दै जाने विभागीय परियोजनाअन्तर्गत यसभन्दा अगाडि नै १०१ जना कथाकारहरूका बालकथाहरू समेटिएको ‘प्रज्ञा नेपाली बालकथा’, १०७ जना गजलकारहरूका दुई दुईओटा बालगजलहरू समेटिएको ‘प्रज्ञा नेपाली बालगजल’, युुगकवि सिद्धिचरण श्रेष्ठका सम्पूर्ण बालकविताहरूलाई एकै ठाउँमा समेटिएको ‘युुगकवि सिद्धिचरणका बालकविता’ जस्ता बालउपयोगी कृतिहरू प्रकाशन भइसकेका छन् भने २०७६ सालदेखि बालबालिका लक्षित अर्धवार्षिक बालपत्रिका ‘बालप्रज्ञा’ पनि नियमित रूपमा प्रकाशन हुँदै आएको छ ।
यसका साथै ‘प्रज्ञा नेपाली बालगीत’, ‘कर्णाली प्रदेशमा प्रचलित लोक बालगीत र खेल’ नेपालका सातै प्रदेश, भारत, बर्मा र डायस्पोरासमेत समेटिने गरी तयार पारिएको ‘नेपाली बालसाहित्यको इतिहास’ जस्ता कृतिको सङ्कलन, लेखन र सम्पादन कार्य सम्पन्न भइसकेको र ती सबै कृति यसै आर्थिक वर्षमा प्रकाशन हुने कुराको जानकारी विभागीय प्रमुख प्राज्ञ डा. देवी नेपालले दिनुभएको छ । उहाँले विद्यालय तहका विभिन्न पाठ्यपुुस्तक निर्माण गर्ने क्रममा अपेक्षित मापदण्डअनुसारका बालसिर्जनाहरूको सधैँ अभाव हुने गरेकाले पछिल्लो समयमा प्रज्ञा–प्रतिष्ठान सबै विधाका बालसामग्रीहरूको प्रकाशन कार्यमा योजनाबद्ध रूपमा लागेको र अबको छ महिनामा योजनाअनुसारका कामहरू सम्पन्न गरिने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
लक्ष्मीप्रसाद देवकोटा, भैरव अर्याल, अच्छा राई रसिक, केशवराज पिँडाली, कृष्णचन्द्रसिंह प्रधान, श्यामप्रसाद शर्मा, कमल दीक्षित, आनन्ददेव भट्ट जस्ता अग्रज निबन्धकारहरूदेखि लिएर नयाँ पुस्तासम्मका १२७ जना निबन्धकारहरूका बालनिबन्धहरू समेटिएको ४६० पृष्ठ र ४८५ मूल्य रहेको प्रस्तुत कृति नेपाल प्रज्ञा–प्रतिष्ठानको विक्रीकक्षमा र अधिकृत विक्रेतामार्फत देशभरका पुस्तक पसलहरूमा प्राप्त गर्न सकिने कुराको जानकारी प्राज्ञ सभा सदस्य तथा सञ्चार प्रमुख शशी लुमुम्बुले दिनुभएको छ ।