साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

विम्बकवि तथा साहित्यपोस्टका स्तम्भकार रमेश श्रेष्ठलाई शिरोमणि पुरस्कार

रमेश श्रेष्ठ

पोखरा, जेठ २६ / पोखरेली युवा साँस्कृतिक परिवारले वाङ्मयिक क्षेत्रमा क्रियाशील स्रष्टालाई दुईदुई वर्षमा प्रदान गर्ने शिरोमणि पुरस्कार २०७८ बाट नेपाली काव्यकला क्षेत्रका सुप्रसिद्ध विम्बकवि तथा कलाकार रमेश श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।

विम्बकवि तथा कलाकार रमेश श्रेष्ठले विगत चार दशकदेखि कविता र चित्रकला क्षेत्रमा महत्त्वपूर्ण योगदान दिई नेपाली कविता र कलालाई अन्तर्राष्ट्रिय जगतसम्म पु-याएकाले पुरस्कार छनौट समितिले श्रेष्ठलाई सिफारिस गरेको हो ।

bahulako diary small and inside post

श्रेष्ठले विगत एक वर्षयता साहित्यपोस्टमा रोज्जा मुक्तक शृंखलासमेत चलाउँदै आउनु भएको छ ।

२०२३ साल पुस १७ गते पोखराको तेर्सापट्टीमा जन्मिनु भएका श्रेष्ठले पृथ्वीनाराण क्याम्पसबाट संस्कृति र इतिहास विषयमा स्नातकसम्मको औपचारिक शिक्षा लिनु भएको छ । कलम र कुची, अक्षर र रङलाई समानान्तर शैलीमा अगाडि बढाउनु भएका श्रेष्ठले २०६६ मा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य र २०७१ मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य तथा चित्रकला विभाग प्रमुख, पोखरेलीयुवा साँस्कृतिक परिवारको अध्यक्ष र सल्लाहकारको भूमिका निर्वाह गरिसक्नु भएको छ ।

आफ्ना कविता र चित्रकलालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गरेका श्रेष्ठले दोस्रो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन लण्डन, १६ औं आर्ट बाइनाले बङ्गलादेश, कलाकार्यशाला तथा प्रदर्शनी बेइजिङ, सार्क आर्ट क्याम्प भुटानमा सहभागिता जनाउनु भएको छ ।

नपोतिएका रङहरू गीतसङ्ग्रह २०५२ श्रेष्ठको पहिलो प्रकाशित कृति हो । ‘मलामी पहाड र सारङगी’, ‘आँसुमा खसेको पृथ्वी’, र ‘कोलाज उत्सव’ काव्य कृति प्रकाशनको तयरीमा छन् ।

काव्य र कला क्षेत्रमा विगत चार दशकदेखि सिर्जनात्मक काम गरेका श्रेष्ठ दर्जनौं पुरस्कार, मानसम्मान र पदकबाट विभूषित छन् । राष्ट्रिय प्रतिभा पुरस्कार २०५७ बाट पुरस्कृत श्रेष्ठलाई २०६६ सालमा विम्बकविको उपाधि प्रदान गरिएको थियो ।

प्रतिभा छनौट समितिमा वरिष्ठ कलाकार दुर्गा बराल, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, संगीतकार कृष्णबहादुर श्रेष्ठ, संस्थाका अध्यक्ष मोती भुजेल र सह–सचिव शिव त्रिपाठी रहनु भएको छ । राष्ट्रिय स्तरमा साहित्य, कला र सङ्गीतका क्षेत्रमा विशिष्ट योगदानदिने एक जना स्रष्टालाई प्रदानगरिदै आएको यो पुरस्कार छुट्टै महत्व बोकेको राष्ट्रिय स्तरको पुरस्कार हो ।

यसअघि शिरोमणि पुरस्कारबाट मुक्तिनाथशर्मा, अलिमियाँ, दुर्गा बराल, सर्वज्ञमान प्रधानाङ्ग, सरूभक्त, देवीप्रसाद वनवासी, गोविन्दबहादुर कुँवर, तेजनाथ घिमिरे, तीर्थ श्रेष्ठ, प्रेम छोटा, अमृत गुरुङ, ओम खत्री, अनुप बराल सम्मानित भइसक्नु भएको छ ।

असार ४ गते शनिबार पोखरामा कार्यक्रम गरी प्रदान गरिने पुरस्कारको राशी नगद रू १५ हजार, ताम्रपत्र र दोसल्ला रहेको परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
Loading...