अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने नेपाली लेखक सङ्घले नेपाल सरकारसँग इम्बोस्ट नम्बर प्लेटमा नेपाली भाषाकै प्रयोग हुने व्यवस्था मिलाउन माग गरेको छ । नेपालको संविधान- २०७२ ले नै नेपाली भाषालाई सरकारी कामकाजको भाषाका रुपमा स्वीकार गरेकाले इम्बोस्ट नम्बर प्लेटमा पनि नेपाली भाषाकै प्रयोग हुने व्यवस्था मिलाउने सङ्घले प्रेस विज्ञप्तिमार्फत् सरकारसँग माग गरेको हो ।

सिर्जनाकर्मका माध्यमबाट मानवीय मूल्यको संरक्षण तथा समाजिक लोकतन्त्रको प्रवर्धनमा टेवा पुर्याउँदै आएका लोकतन्त्रवादी स्रष्टाहरुको साझा मञ्च नेपाली लेखक सङ्घले देशको समासामयिक वस्तुस्थिति एवम् मुद्दाहरुमा चासो र चिन्ता व्यक्त गर्दै आएको छ ।

‘नेपालभित्र दर्ता भएका सवारी साधनहरुमा जडान गरिने इम्बोस्ट नम्बर प्लेट अङ्ग्रेजी भाषामा हुनुपर्ने भन्ने सरकारको निणर्य अझै यथावत् रहनु खेदजनक छ ।’, नेपाली लेखक सङ्घको विज्ञप्तिमा भनिएको छ, ‘… नेपालीमा नभई अङ्ग्रेजीमै नम्बर प्लेट राख्नुपर्ने कुराले नेपालमै नेपाली भाषाको अवमूल्यन गरेको छ । नेपाली भाषा नेपालको साझा सम्पर्क भाषा हो । नेपालीको संविधान २०७२ ले नेपाली भाषालाई सरकारी कामकाजको भाषाको रुपमा स्वीकार गरेको छ । यसर्थ नेपाली सवारी साधनको इम्बोस्ट नम्बर प्लेट नेपाली भाषामै हुनुपर्ने व्यवस्था मिलाउन नेपाली लेखक सङ्घ सरकारसँग जोडदार माग गर्दछ ।’

नेपाली लेखक सङ्घले सुरुदेखि नै इम्बोस्ट नम्बर प्लेटमा हुने अङ्ग्रेजी भाषाको विरोध गर्दै आएको छ । साथै, जनस्तरबाट पनि यसको व्यापक विरोध भइरहेको छ ।