पौडेललाई दिइयो भवानी भिक्षु स्मृति पुरस्कार
साहित्यकार भवानी भिक्षु स्मृति पुरस्कार कपिलवस्तुको तौलिहवाकी कवि शकुन्तला ज्ञवाली पौडेललाई प्रदान गरिएको छ ।
नव कपिलवस्तु साहित्यिक समाजले तौलिहवाको राधा कृष्ण मन्दिरको हलमा राखेको ११३ औँ भिक्षु जयन्ती स्रष्टा सम्मान एवं कृति विमोचन कार्यक्रममा पौडेललाई सो पुरस्कार प्रदान गरिएको हो ।

कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्ता र नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरले पौडेललाई दोसल्ला ओढाई ताम्रपत्रमासहित सम्मानित गरेका थिए ।
पौडेललाई नगद ११ हजार १११ रुपैयाँले पुरस्कृतसमेत गरिएको थियो ।
नव कपिलवस्तु साहित्यिक समाजले लुम्बिनी अञ्चलका साहित्यकारलाई दिँदै आएको यस पुरस्कारमा विगत दुई वर्षयता कपिलवस्तुकै साहित्यकारलाई दिने निर्णय गरिएको वरिष्ठ साहित्यकार हरिराज शर्माले बताउनुभयो ।
कम्तीमा तीन वटा कृति प्रकाशित गरेका साहित्यकारहरूलाई भवानी भिक्षु स्मृति पुरस्कार दिने मापदण्ड बनाइएको छ ।
साहित्यकार पौडेलले ‘भावना’ र ‘प्रवाह’ कविता संग्रह र ‘संघर्ष’ कथासंग्रह प्रकाशित गर्नु भएको छ ।
पुरस्कृत भएपछि पौडेलले आफ्नो उत्साह थपिएको बताउनुभयो । उहाँले आफू अब साहित्य क्षेत्रको विकासमा लागिपर्ने बताउनुभयो ।
कार्यक्रममा साहित्यकार जीवनाथ पाण्डेयद्वारा रचित ‘कविता कोसेली’ नामक कवितासंग्रह समेत विमोचन गरिएको थियो ।
कार्यक्रममा उपमेयर गुप्ताले साहित्य क्षेत्रको विकासमा नगरपालिकाले लगानी गर्ने बताउनुभयो । उहाँले नगरपालिकाले अब सबै क्षेत्रको विकासमा स्थानीयको चाहनाअनुसार काम अघि बढाउनेसमेत जनाउनुभयो ।
सो अवसरमा वडाध्यक्ष गैरले आफ्नो वडाबाट समेत साहित्य क्षेत्रको विकासमा बजेट विनियोजन गर्ने बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार कर्णेल भारद्वाज, गीता अञ्जान, श्याम प्रकाश श्रीवास्तव, भक्तिराम पन्थी, जीवनाथ पाण्डेय, दामोदर पराजुली, कृष्ण अग्रहरि, नीरा कोरी, रविचन्द्र शाक्य, वासुदेव चैधरी, परशुराम यादव लगायतले आआफ्नो रचना प्रस्तुत गर्नुभएको थियो ।
पशुपतिमणि त्रिपाठीको अध्यक्षता, दामोदार पराजुलीको संचालनमा भएको सो कार्यक्रममा पत्रकार महासंघका जिल्ला सभापति किरणमान वज्राचार्य, मधुसूदन श्रेष्ठ, पार्वती शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।