साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

साहित्य सङ्गम मकवानपुरद्वारा चार साहित्यकार सम्मानित

साहित्य सङ्गम मकवानपुरले हेटौंडामा चार जना स्रष्टालाई आइतबार सम्मान गरेको छ ।

गोपालप्रसाद रिमालको स्मृतिमा रिमालको प्रतिमा स्थल वनस्खण्डीमा आयोजित विशेष साहित्यिक कार्यक्रममा सङ्गमले हरेक वर्ष प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कारबाट स्रष्टाहरूलाई सम्मानित गरेको हो ।

bahulako diary small and inside post

सङ्गमले यस वर्ष गद्य कविता लेखनका थालनीकर्ता ‘गोपालप्रसाद रिमाल स्मृति सम्मान’–२०७८ बाट वरिष्ठ कवि तथा नाटककार अविनाश श्रेष्ठलाई सम्मानित गरेको छ । रिमालका परिवारले स्थापना गरेको उक्त सम्मानसहित श्रेष्ठलाई नगद २० हजार एक रुपैयाँ प्रदान गरिएको थियो ।

सम्बन्धित पोस्टहरु

त्यसैगरी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले प्रगतीवादी कवि श्यामप्रसाद शर्माको स्मृतिमा स्थापना गरेको ‘श्यामप्रसाद शर्मा स्मृति सम्मान’–२०७८ बाट साहित्यकार तथा पत्रकार नवराज शर्मा तिमल्सिनालाई सम्मानित गरिएको छ । उहाँलाई सम्मानपत्रका साथ १५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो ।

यस्तै, हास्यव्यङ्ग्यकार डा. गणेशकुमार पौडेलले स्थापना गरेको ‘शान्तिदेवि स्मृति वनस्खण्डी साहित्य सम्मान’–२०७७ र ०७८ बाट क्रमशः लघुकथाकार तथा कवि श्रीओम श्रेष्ठ (रोदन) र कवि शान्तिप्रिय वन्दनालाई प्रदान गरिएको छ । पौडेलले सासुआमाको नाममा स्थापना गरेको सम्मानसहित जनही १० हजार एक रुपैयाँ प्रदान गरिएको थियो । सम्मानित कवि श्रेष्ठ गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक हुन् ।

साहित्य सङ्गम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि साहित्यकार नगेन्द्रराज शर्मा रहनु भएको थियो ।

कार्यक्रममा हास्यव्यङ्ग्यकार आरसी रिजाल, सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा निखिलले रिमाल र श्यामप्रसाद शर्माको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा साहित्यकार पुरूषोत्तम आचार्यले रिमालको ‘आमाको सपना’ कविता वाचन गर्नु भएको थियो ।

प्रतिक्रिया
Loading...