सशस्त्र द्वन्द्वकालीन घटनाहरूको प्रतिबिम्ब समेटी तयार पारिएको तथा यात्री प्रकाश पाण्डेद्वारा लिखित उपन्यास ‘सइन’ केही समयअघि नै बजारमा आइसकेको छ । सो उपन्यासमाथि आज नेपाल प्रज्ञाप्रतिष्ठानमा छलफल आयोजन गरियो ।

कोरोना कहरका बीच बजारमा आएको सो उपन्यासको विमोचन गर्न नसकिए तापनि पुस्तकमाथिको अन्तर्क्रिया कार्यक्रम गरिएको उपन्यासकार पाण्डेले जनाउनुभयो ।

पुस्तकको लोकप्रियता कति छ भन्ने कुरा यो उपन्यासको पहिलो संस्करण निस्कनेबित्तिकै सकिएको थियो । दोस्रो संस्करण प्रकाशनका लागि लेखकलाई पाठकीय प्रतिक्रिया र समालोचकीय पृष्ठपोषणको जरुरत पर्ने हुँदा उक्त अन्तर्क्रिया कार्यक्रम राखिएको साङ्ग्रीला पब्लिकेसन्सले जनाएको छ । अन्तर्क्रिया कार्यक्रममा ख्यातिप्राप्त आख्यानकार नयनराज पाण्डे र नीलम कार्की निहारिका लगायत उल्लेख्य व्यक्तित्वको उपस्थिति थियो ।

वक्ताहरूले नेपालमा भएको दस वर्षे जनयुद्धको घाउ अझैसम्म पनि नेपालीहरूको जनजीवनमा निको नभै ‘सइन’ पल्टिएर दुखाइरहेको र घाउ भोगेकाहरू अझै तङ्ग्रिन नसकेको बताउनुभयो । विगतमा भएको शसस्त्र द्वन्द्वको घाउ कहिल्यै निको नहुने ‘सइन’को रुपमा देखापरेको कुरालाई यस किताबमा निकै प्रतीकात्मक ढंगले व्यक्त गरिएको पनि वक्ताहरूले व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै आख्यानकार निहारिकाले १० वर्षे सशस्त्र जनयुद्धका बारेमा यथार्थ बुझ्न हरेक व्यक्तिले ‘सइन’ पढ्नु जरुरी रहेको बताउनुभयो । सेनाको कार्यको प्रशंसा गर्दै सेनालाई राष्ट्रसेवक किन भनिएको हो बुझ्न पनि यो उपन्यास पढ्नुपर्ने उहाँको धारणा थियो । डायमन शमसेरद्वारा लिखित उपन्यास ‘सेतोबाघ’ बजारमा आएको निकै समयपछि मात्र चर्चाको शिखरमा पुगेको प्रसङ्ग उल्लेख गर्दै उहाँले ‘सइन’ पनि त्यस्तै एक विशिष्ट उपन्यास भएको र यसले हरेक पाठकको मनमस्तिष्कमा अमिट छाप छोड्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

यसैगरी आख्यानकार नयनराज पाण्डेले द्वन्द्वको परिवेशमा भाषा, शिल्प, शैली र विषयवस्तुमा निकै उचाइको किताबका रूपमा यो उपन्यास रहेको बताउनुभयो । पहिलो किताब भइकन पनि अब्बल दर्जाका उपन्यासहरूको उचाई ‘सइन’ले हासिल गरेको भन्दै सबै दृष्टिकोणबाट उत्कृष्ट उपन्यास बजारले पाएको टिप्पणी गर्नुभयो ।

भाषा, भाव, शैली कथानक र शीर्षक सार्थकता लगायत उपन्यासमा आवश्यक सम्पूर्ण तत्त्वमाथि न्याय गरेर लेखिएको अन्य वक्ताहरूको धारणा थियो ।

कार्यक्रमको सञ्चालन कवि तथा आख्यानकार हेमप्रभास अधिकारीले सञ्चालन गर्नुभएको थियो ।