काठमाडौं, जेठ २१ / प्रा. राजेन्द्र सुवेदीको पुण्यस्मृतिका अवसरमा काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कृति सार्वजनिकीकरण कार्यक्रममा सुवेदीद्वारा लिखित कवितासंग्रह ‘अन्त: समवेदना’, शब्दाङकुर मासिकद्वारा प्रकाशित राजेन्द्र सुवेदी स्मृति अंक र साहित्यकारहरू धीरकुमार श्रेष्ठ, भोगेन्द्र लिङ्देन, टेकेन्द्र चेम्जोङ, प्रकाशचन्द्र निङ्लेकु र गोविन्द घिमिरेद्वारा लिखित संयुक्त गीत, गजल तथा कविताहरूको संग्रह ‘सहयात्रा’ लोकार्पण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. वासुदेव त्रिपाठीले स्व. राजेन्द्र सुवेदीको संस्मरण गर्दै पूर्वीय र पाश्चात्य दुवै दर्शनमा उत्तिकै अब्बल सुवेदीको निधनले नेपाली साहित्यको समालोचना क्षेत्रमा अपुरणीय क्षति भएको बताउनुभयो । उहाँले समालोचना हराए राजेन्द्र सुवेदीलाई खोज्नुपर्ने र राजेन्द्र सुवेदी हराए उहाँका समालोचनासम्बन्धी कृतिहरू खोज्नुपर्ने भन्दै सुवेदीको योगदानको चर्चा गर्नुभयो ।
यसैगरी स्व. सुवेदीद्वारा लिखित ३८ वटा कविताहरूको संग्रह ‘अन्त: समवेदना’ माथि समीक्षात्मक धारणा राख्दै कार्यक्रमका विशेष अतिथि प्रा. डा. रमेशप्रसाद भट्टराईले सुवेदीका कृतिहरू उहाँका वास्तविक अनुभूतिहरूको संगालो भएको बताउनु भयो ।
उहाँका कविता संग्रहमा विषयगत विविधताका साथै शक्तिशाली कवित्व चेत रहेको पाइने बताउनुहुँदै उहाँले सुवेदीको कविता संग्रह लेखन परिपक्वताको नमूना रहेको समेत बताउनु भयो । कार्यक्रममा विशेष अतिथि साहित्यकार राजन मुकारुङले पाँच स्रष्टाहरूद्वारा लिखित संयुक्त गीत, गजल तथा कविता संग्रह ‘सहयात्रा’ माथि समीक्षा गर्दै साहित्य लेखनमा नयाँ बहस शुरु गर्नुपर्ने आवश्यकता टड्कारो रहेको बताउनुभयो ।
यस क्रममा वहाँले साहित्य लेखन र बहसहरू सीमान्तकृत आवाजहरूलाई उजागर गर्नका निम्ति प्रत्यनशील हुनुपर्ने विषयमा जोड दिँदै संग्रहमा विचार, सौन्दर्य र मुन्धुमी बिम्बहरू प्रशस्त प्रयोग भएको उल्लेख गर्नुभयो ।
प्रा. डा. कृष्णप्रसाद घिमिरेले राजेन्द्र सुवेदी स्मृति अंकमाथि समीक्षा गर्दै स्व. राजेन्द्र सुवेदी सामान्य कुरालाई व्यङ्गात्मक शैलीमा भन्न सक्ने तथा हँसिलो अनुहार, मिठो शैली र व्यङ्गात्मक चेतका व्यक्तित्वको रूपमा चर्चा गर्नुभयो ।
साथै, उक्त कार्यक्रममा शब्दाङ्कुर मासिकको अनलाइन संस्करण sabdankur.com प्रा. डा. गोविन्दराज भट्टराईले सार्वजनिक गर्नुभएको थियो भने सुवेदीको जीवनमा आधारित ‘दृष्यबिम्बमा स्व. राजेन्द्र सुवेदी’ नामक वृत्तचित्रको उद्घाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के. के. कर्माचार्यले गर्नुभएको थियो ।
प्रा. डा. जीवेन्द्रदेव गिरीको सभापतित्वमा सम्पन्न सो कार्यक्रम शब्दाङ्कुर मासिकका प्रधान सम्पादक धीरकुमार श्रेष्ठले संचालन गर्नुभएको थियो । राजेन्द्र सुवेदी स्मृतिसभा, शब्दाङकुर साहित्यप्रधान मासिक र पाँचथर समाजद्वारा संयुक्तरूपमा आयोजित उक्त कार्यक्रममा डा. रमेश शुभेच्छुकले स्वागत मन्तव्य राख्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।