जन्मथलोमा भवानी भिक्षु सम्झिइए

कपिलवस्तु, जेठ २२ / साहित्यकार भवानी भिक्षुको ११३ औँ जन्म जयन्ती उनकै जन्मजिल्ला कपिलवस्तुमा विविध कार्यक्रम गरी शनिबार जेठ २१ मा मनाइयो ।

नवकपिलवस्तु साहित्यिक समाज लगायतका संस्थाले तौलिहवामा विभिन्न कार्यक्रम गरेका थिए । मधेसी समुदायका भए पनि उहाँले मदन र साझा पुरस्कार जित्नु भएको थियो ।

सदरमुकाम तौलिहवास्थित भिक्षु टोलमा रहेको भवानीप्रसाद गुप्ता ‘भवानी भिक्षु’को शालिकमा साहित्यकारहरूले माल्याणर्पण गर्दै भिक्षुको जीवनी र उनको लेखका कृतिका बारे चर्चा गरिएको थियो ।

कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरले नेपाली साहित्यमा भिक्षुले अतुलनीय योगदान दिएको बताउनुभयो ।

‘भिक्षुले लखेका कृतिहरू अझै पनि जीवन्त रहेका छन्,’ उहाँले भन्नुभयो, ‘नेपाली साहित्यमा उहाँले ठूलो गुन लगाउनु भएको छ ।’

आगत, अवान्तर, मैया साहेब, पाइप नम्बर १ र २ लगायतका कृति, कविता, निबन्धमा उहाँले कलम चलाउनु भएको थियो ।

पात्रको मनोदशाको चित्रण र मनोविज्ञानमा पोख्त भएकाले उहाँका सिर्जनाहरू उत्कृष्ट हुने गरेको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा समाजका अध्यक्ष पशुपतिमणि त्रिपाठी, वरिष्ठ साहित्यकार हरिराज शर्मा, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान वज्राचार्य, तौलिहवा उद्योग वाणिज्य संघका महासचिव अर्जुन चापागाईं, साहित्यकार शकुन्तला ज्ञवाली पौडेलले सात्यिकार भवानी भिक्षुका बारेमा बताउनु भएको थियो ।

भवानी भिक्षु स्मृति पुरस्कार कवि पौडेललाई

शकुन्तला पौडेल

नवकपिललस्तु साहित्यिक समाजले प्रदान गर्ने साहित्यकार भवानी भिक्षु स्मृति पुरस्कार कपिलवस्तुको तौलिहवाकी कवि शकुन्तला ज्ञवाली पौडेललाई दिने निर्णय गरिएको छ । विगतका वर्षहरुमा लुम्बिनी अञ्चलका साहित्यकारलाई दिँदै आएकोमा यस वर्षदेखि कपिलवस्तुकै साहित्यकारलाई दिने निर्णय गरिएको वरिष्ठ साहित्यकार हरिराज शर्माले बताउनुभयो । कम्तीमा तीन वटा कृति प्रकाशित गरेका साहित्यकारलाई भवानी भिक्षु स्मृति पुरस्कार दिने मापदण्ड बनाइएको छ ।

साहित्यकार पौडेलले ‘भावना’ ‘पूर्वाह’जस्ता कविता संग्रह र ‘संघर्ष’ नामक कथा संग्रह प्रकाशित गर्नुभएको छ । ११ हजार १११ रुपैयाँ राशिसहित ताम्रपत्रमा लेखिएको प्रशंसापत्रले पौडेललाई जेठ २३ गते सोमबार आनन्दबागस्थित राधाकृष्ण मन्दिरमा भव्य कार्यक्रमका बीच पुरस्कृत गरिने नवसाहित्यिक समाजका अध्यक्ष पशुपतिमणि त्रिपाठीले बताउनुभयो ।