साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘पन्ध्रौं चुली’को गृह लोकार्पण

 

काठमाडौं / लेखक एवम् सर्भेयर खिमलाल गौतमको पुस्तक ‘पन्ध्रौं चुली’को पोखरामा गृह लोकार्पण भएको छ । सन् १९५० मा पहिलोपटक अन्नपूर्ण फर्स्टको आरोहण गरेको दिन पारेर गरिएको उक्त कार्यक्रमा लेखक सरुभक्त र सीमाविद् मधुसुदन अधिकारले सयुक्त रुपमा पुस्तक लोकार्पण गर्नुभयो ।

उक्त कार्यक्रममा सरुभक्त, मधुसुदन अधिकारी र नेपाल माउन्टेन एकेडेमीका निर्देशक उक्तमबाबु भट्टराईले पुस्तक विभिन्न आयाम माथि चर्चा गर्नुभयो ।

bahulako diary small and inside post

उत्तमबाबु भट्टराईले ‘पन्ध्रौं चुली’ साहित्यकारका लागि खुराक भएको र अध्येता तथा विद्यार्थीलाई सन्दर्भ सामग्री भएको बताउनुभयो । उहाँले थप्नुभयो, ‘हामी कहाँ ६ हजार मिटरभन्दा अग्ला १३ सयभन्दा बढी हिमालहरु छन् तर तिनको गहिरो अध्ययन भएको छैन । तिनको अध्ययन हुनुपर्छ । खिमलाल गौतमको यो पुस्तक त्यस्तो अध्ययनका लागि प्रस्थानविन्दु हुन सक्छ ।’

अर्का वक्ता अधिकारीले, ‘सगरमाथाको उचाइ मात्र होइन, गहिराइ पनि छ, लेखक खिमलाल गौतमले सगरमाथाको उचाइ त नापेका नै छन्, त्यसको गहिराइ पनि नापेको’ बताउनुभयो ।

सगरमाथा आरोहणबारे ‘चुली’ उपन्यास लेख्नु भएका सरुभक्तले भन्नुभयो, ‘पुस्तक पढ्दै गर्दा मलाई मैले काल्पनिक आरोहीको कथा जुन मैले लेखेको थिएँ, त्यही काल्पनिक आरोही भएर सगरमाथा चढिराखेको झैँ महसुस गरेँ । कति ठाउँमा म भावुक भएँ, कति ठाउँमा रोमाञ्चित । पन्ध्रौं चुली उच्च कोटीको साहित्य त हो नै, सगरमाथा, त्यसको आरोहण र सर्वेक्षणको उच्च कोटीको इतिहास पनि हो ।’

कार्यक्रममा लेखक गौतमले ‘पन्ध्रौं चुली’ भावना र भूगोलको सम्मिश्रण भएको सो अवसरमा बताउनुभयो । ‘सगरमाथाका विषयमा हामीले गौरव मात्र ग-यौं, यसका विषयमा नेपाली वाङ्मयमा कम लेखिएको पाएँ,’ उहाँले भन्नुभयो, ‘यसबारे केही लेख्नुपर्छ भन्ने मलाई लाग्यो । सगरमाथाका विषयमा नेपालीमा सन्दर्भसामग्री त्यति नभएकाले पनि अब केही त लेख्नैप-यो भनेर यसमा हात हालेको हुँ ।’

राष्ट्रसेवाका अवसरमा आफू दुईदुई पटक सगरमाथा आरोहणमा गएको र त्यसको अनुभूति पक्कै पनि पाठकलाई उपयोगी हुन सक्ने ठानेर पुस्तक लेखनमा लागेको उहाँको भनाइ छ । ‘म राष्ट्रसेवक मात्र होइन, म निजी व्यक्ति पनि हुँ,’ उहाँले भन्नुभयो, ‘यसलाई मैले साहित्य खण्डमा समेटेको छु । सगरमाथाबारेका तथ्यलाई मैले इतिहासमा समेटेको छु । यसबारे पाठकले पक्कै मूल्यांकन गर्नुहुनेछ ।’

सगरमाथाको चुली चुम्नु धेरैका लागि कल्पना र थोरैका लागि यथार्थ हो । खिमलाल गौतमले दुई पटक सगरमाथाको चुली चुम्नु भएको छ । नेपालमा पर्यटन प्रवर्द्धन गर्न २०६८ सालमा पहिलो पटक शिखर यात्रा गर्नु भएका उहाँ दोस्रो चोटि भने सरकारको कार्यक्रमअन्तर्गत २०७६ सालमा उचाइ मापनका लागि सर्वेक्षण गर्न जानु भएको थियो । सामान्य आरोहीका लागि चुचुरोमा पुगेपछि लक्ष्य पूरा हुन्छ तर उहाँको टोलीका लागि लक्ष्य सुरू भएको थियो । सर्भेयर नै शिखरमा पुगेर सगरमाथा सर्वेक्षण गरिएको यो संसारकै पहिलो कीर्तिमान हो ।

‘पन्ध्रौं चुली’ साहस, जोखिम र सङ्घर्षको यात्रा–कथा हो, जहाँ लेखकले आरोहणका क्रममा मृत्युलाई नजिकबाट देख्नु भएको छ । मृत्युले छोएर जान्छ; लिएर जाँदैन । यो यात्रा कथा मात्र होइन, सगरमाथा आरोहणको इतिहास पनि हो, जसले सगरमाथा सम्बन्धमा नयाँ तथ्य पनि उद्घाटित गर्छ ।

पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो ।

प्रतिक्रिया
Loading...