पोखरा / जीवन र जगतको यथार्थ बोधका लागि ‘अक्षरयात्रा’ मूल मन्त्र बनाई नवनीत साहित्य सागर र गजल सन्ध्याद्वारा हरेक महिनाको तेस्रो शनिबार सञ्चालन हुँदै आएको नियमित यात्रा साहित्यिक कार्यक्रमको १८७ औं श्रृङ्खला शनिबार कास्कीकै पुरानो ऐतिहासिक धार्मिक तीर्थस्थल हरिहर गुफा संन्यास आश्रम भलाममा सम्पन्न भयो ।

अक्षरयात्रामा प्रकट पगेनी शिव, लक्ष्मण थापा, अमृत, पर्मिला पौडेल, संगीता आभास, माधव खतिवडा, दिनेश बस्नेत, जीवन पौडेल, संगम लामिछाने लगायतले रचना वाचन गरेका थिए ।

कार्यक्रम हरिहर गुफा संन्यास आश्रम व्यवस्थापन समितिको स्थानीय व्यवस्थापनमा भएको थियो ।

कार्यक्रममा स्वामी इशानानन्दले आफ्नो मन्तव्य राख्नु भएको थियो । स्वामीले पोखराको मुकुट भनेर चिनिने धार्मिक स्थल ओझेल परेजस्तो देखिनु दु:खद् भएको भन्दै अब कलमजीवीहरूले यस क्षेत्रको प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै अर्का वक्ता आश्रममा उपाध्यक्ष अर्जुनबहादुर क्षेत्रीले आश्रम क्षेत्र पवित्र आध्यात्मिक भूमि भएको तथा यहाँ आउने जो कोहीले पनि आत्मिक आनन्द प्राप्त गर्ने गरेको जनाउनुभयो ।

आश्रम पृथ्वीकै भूस्वर्ग भएको भन्दै चिन्ने जान्नेहरू यहाँ आइरहेको पनि बताउनुभयो। कार्यक्रम गजल सन्ध्याका अध्यक्ष वसन्त विनोदको अध्यक्षता र सुरज उपाध्यायको सञ्चालनमा भएको थियो ।