काठमाडौँ, जेठ २१ / शिखा बुक्सको आयोजनामा कवि तथा उपन्यासकार सुमन वर्षाको उपन्यास ‘अन्ततः यन्त्रणा’ लोकार्पण गरियो । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको उक्त लोकार्पण कार्यक्रममा साहित्यकार तथा नेपाली कांग्रेसका महामन्त्री विशेष अतिथि विश्वप्रकाश शर्मा हुनुहुन्थ्यो ।

शर्मासँगै वरिष्ठ साहित्यकार भुवन ढुंगाना विशिष्ट अतिथि रहनु भएको सो कार्यक्रममा प्रयागराज भट्टराई, महेश पौडेल, अनुपमा रेग्मीसँगै प्रकाशक पुष्पराज पौडेलले संयुक्त रूपमा सो उपन्यास विमोचन गर्नु भएको थियो ।

प्रमुख अतिथि विश्वप्रकाश शर्माले साहित्य गहना मात्र नभई गौरव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गहना लगाइन्छ फुकालिन्छ तर गौरव सधैँ नै अमर हुन्छ । राजनीतिज्ञहरू हराएर जान्छन् तर साहित्यकारहरू अमर हुन्छन् । त्यसैले लेखनीको म सधैँ प्रशंसक हुँ ।’

वरिष्ठ साहित्यकार भुवन ढुंगानाले नारी विषयलाई समेटिएको यस उपन्यासमा जति पुस्ता आए पनि नारीका पीडाहरू उस्तै रहेका र महत्त्वपूर्ण विषयवस्तुको उठान गरिएकोमा खुसी व्यक्त गर्नुभयो ।

उपन्यासमाथि समीक्षकद्वय महेश पौडेल र अनुपमा रेग्मीले समीक्षा गर्नुभएको थियो ।

कवि दिनेश अधिकारी, कवि राधेश्याम लेकाली, कवि कृष्ण प्रसाइँ, त्रिभुवनचन्द्र वाग्ले, निलम कार्की निहारिका,विधान आचार्य, जयदेव भट्टराई लगायत विशिष्ट साहित्यकारहरूको उपस्थिति रहेको सो कार्यक्रमको सञ्चालन कवि ऋषभदेव घिमिरेले गर्नु भएको थियो।