काठमाडौँ, जेठ २० / शिष्टाचार अभियान नेपालका संस्थापक अध्यक्ष सुमन दाहालद्वारा लिखित कविता सङ्ग्रह “अन्तिम हुनसक्छ…” आज एक कार्यक्रमका बीच अनामनगर, काठमाडौँमा विमोचन गरियो ।

एक दशकभन्दा बढी समयदेखि सारा विकृतिको जड शिष्टाचारको अभाव भएको महसुस गर्नु भएका दाहालले प्रस्तुत कवितामा पनि आफ्नो अभियानलाई मुखर पार्ने हिसाबले प्रस्तुत गरिएको कार्यक्रममा बताइयो ।

कार्यक्रममा प्रखर समालोचक तथा कवि कलानिधि दाहालले कृतिकारले समाजको सारा विकृतिलाई प्रहार गरेको तर कवितामा कहीँकतै साधनाको अभाव देखिने टिप्पणी गर्नुभयो । उहाँले अमेरिकामा बसेर कवि सुमनले अमेरिकामाथि लेख्नु डायस्पोरिक कार्य भएको तर अचेल त्यसको विकृतीकरण भएकामा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘डायस्पोरिक कृति भन्या छ र नेपालको चिन्ता गरेर हुरूक्क भएको छ । वास्तविक डायस्पोरिक त डायस्पोरामा रहँदाबस्दाका अप्ठेरा, सजिला अभिव्यक्त हुनुपर्ने हो । अमेरिका बसेर नेपालको मायाले हुरूक्क हुनु त राम्रो हो तर त्यसलाई डायस्पोरिक सिर्जना म मान्न तयार छैन ।’

समीक्षक कलानिधि दाहालले कवि सुमन दाहालमा प्रचुर सम्भावना देखिएको भन्दै केही कविता साँच्चिकै सुन्दर बनेकोमा कविको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा कविता सङ्ग्रहका सम्पादक अच्युत कोइरालाले कृतिमा सङ्ग्रहित कविताहरू थोरै भए पनि एक‑एक कविताले दह्रो घन हानेको बताउनुभयो । उहाँले नेपाली कविताको आफू त्यति धेरै पाठक हुन नसकेको र यो कविता सम्पादनका क्रममा पढ्दा कवितामोह बढेको बताउनुभयो । उहाँले सङ्ग्रहमा आफूलाई चित्त बुझेका केही कविताका पंक्तिसमेत वाचन गर्नुभएको थियो ।

कार्यक्रममा शिष्टाचार अभियानका उपाध्यक्ष तथा रिलायन्स एकेडेमीका निर्देशक दामोदर निरौलाले आफू कविताप्रेमी भएको बताउनुभयो । उहाँले कवि सुमन दाहालसँगको सरसङ्गतबाट आफूले धेरै सिकेको समेत सो अवसरमा व्यक्त गर्दै कृतिको सफलताको कामना गर्नुभयो ।

यसैगरी कथाकार मञ्जरी मधुश्रीले एक दशकअघिदेखि कवि दाहालसँगको परिचय स्मरण गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व साहित्यपोस्टडटकमका प्रधानसम्पादक अश्विनी कोइरालाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन साहित्यपोस्ट डटकमका संयोजक कृष्ण ढुङ्गेलले गर्नुभएको थियो ।

कार्यक्रम कवि सुमन दाहालका पिता तेजप्रसाद दाहालको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

विमोचित कृतिलाई साहित्यपोस्टडटकमले बजारमा ल्याएको हो । कविता सङ्ग्रह हार्डकभरमा प्रकाशित छ भने यसको मूल्य ३५० रूपैयाँ रहेको छ ।