कवि, समालोचक तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ डा. देवी नेपालको नयाँ कृति ‘मामाघरको रोपाइँ’ सचित्र बालकाव्य प्रकाशन भएको छ । बालसाहित्य र प्रौढ साहित्य दुवै क्षेत्रमा कलम चलाउने नेपालको प्रस्तुत बालकाव्यमा बालबालिकालाई नेपालका गाउँले जीवनमा प्रयोग गरिने विभिन्न वस्तुुहरूलाई चिनाउने उद्देश्य राखिएको छ ।

कविता, कथा र चित्रको त्रिकोणात्मक सम्बन्धका माध्यमबाट बालबालिकालाई सूचना, ज्ञान र मनोरञ्जन एकै पटक प्रदान गर्ने उद्देश्यले प्रस्तुत बालकाव्य तयार पारिएको जानकारी कवि नेपालले दिएका छन् । उनी भन्छन्, आजका बालबालिका सहरमुखी बनेका हुनाले गाउँघरमा प्रयोग हुने कतिपय सामग्रीहरूका बारेमा उनीहरूलाई जानकारी नै छैन । त्यसैले यस बालकाव्यमा सहरमा बस्ने एउटा बालकले गाउँमा रहेको मामाघरमा जाँदा रोपाइँका दिन देखेका कुराहरूलाई मूल विषयका रूपमा समेटेर कथा र कविताका माध्यमबाट प्रस्तुत गरिएको हो ।

‘मामाघरको रोपाइँ’मा डोको के हो ? नाम्लो के हो ? दाम्लो के हो ? जस्ता कुराहरूलाई रोचक तरिकाले कविताबाट नै सिकाइएको छ । यसरी नै कुटो, कोदालो, फरुवा, डल्लेठो, हलो, अनौ, हरिस, फाली, पाटी, करुवा, जुवा, हल्लुँड, सोइला, जोतारो, खोल्सो, कान्लो, आली, कुलो/पैनी, चकटी, पिरा, महला, मुखारी, हँसिया, टुकी, घुम, स्याखु, धारा, कुवा, पधेरो, आग्लो, थुन्से, ढाकर, तोक्मा, लिस्नो, सिँढी आदि जस्ता लोपोन्मुख वस्तुहरूलाई यस बालकाव्यमा संवादात्मक कविता र चित्रका माध्यमबाट चिनाइएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको बालसाहित्य विभागका प्रमुखसमेत रहेका कवि नेपालका यसभन्दा अगाडि नै ‘कुखुराको बिहे’ (२०६५), ‘मैना चरी दङ्ग परी’ (२०७२), ‘नाना देऊ पुतली’ (२०७४), ‘अआ पढ्ने बेला’ (२०७४), ‘को छ हँ ?’ (२०७४), ‘गन्दै गन्दै जान्छु’ (२०७४) र ‘क ख ग घ पढ न’ (२०७६) जस्ता बालकाव्य र बाल कवितासङ्ग्रहहरू एकल रूपमा र ‘निबन्ध मुना’ (२०७०), ‘निबन्ध कोपिला’ (२०७१) र ‘निबन्ध पुुष्प’ (२०७३) जस्ता बाल निबन्धसङ्ग्रहहरू सहलेखनमा गरी दशओटा बालसाहित्यिक कृतिहरू प्रकाशन भइसकेका छन् । बालसाहित्यका क्षेत्रमा ‘मामाघरको रोपाइँ’ बालकाव्य कवि नेपालको एघारौँ कृति हो ।

बालगीति छन्दका चतुष्पदी ४३ श्लोकमा लेखिएको यस बालकाव्यमा देवेन्द्र पाण्डे ‘देवेन’का हरेक श्लोकको भावलाई समेट्ने खालका रङ्गीन चित्रहरू राखिएका छन् । गुणस्तरीय कागज, बहुरङ्गी छपाइ र आकर्षक लेआउटले गर्दा ‘मामाघरको रोपाइँ’ बालबालिकाको रोजाइमा पर्ने विश्वास सहजै गर्न सकिन्छ । परिचय पब्लिकेसनले प्रकाशन गरेको ठुलो आकारको ४८ पृष्ठको यस कृतिको मूल्य रु. ३५० रहेको छ । यस कृतिलाई यसै हप्ता देशभरका पुुस्तक पसलहरूमा पु-याउने योजना रहेको जानकारी परिचय पब्लिकेसनले दिएको छ ।