सिलगढ़ी / अभिसङ्गी कवि पवित्रा लामाको कविताकृति ‘म देह रातो रङ्गिन्छु’ले सिक्किमको प्रतिष्ठित डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कार प्राप्त गर्ने भएको छ।

डा. शोभाकान्ति थेगिम (लेप्चा) मेमोरियल ट्रस्टका अध्यक्ष डुपछिरिङ लेप्चाद्वारा जारी विज्ञप्तिमा सोको घोषणा गरिएको हो।

डा. थेगिमको जन्म जयन्ती ४ जुलाईमा एक भव्य समारोहका बीच लामालाई प्रदान गरिनेछ । पुरस्कारको राशि ताम्रपत्रसहित नकद ५०,००१ रहने बताइएको छ।

पवित्रा लामा

पुरस्कार घोषणाबाट आफूलाई खुसी लागेको प्रतिक्रिया लामाले दिनु भएको छ । कवि लामाले भन्नुभयो, “मलाई लाग्छ, पुरस्कारकै निम्ति कुनै पनि सर्जकले सृजना गर्दैन अनि गर्न पनि हुँदैन। तथापि कुनै सम्मान वा पुरस्कार पाउनु भनेको कृति अनि कर्मको सम्मान हुनु हो। यो वास्तवमा साहित्यको सम्मान हो। मेरो लागि पाठक/श्रोता/दर्शकको माया अझ महत्त्वपूर्ण हो। डा. शोभाकान्ति थेगिम स्वयं पनि एक कर्मठ सामाजिक, साहित्यिक, सांस्कृतिककर्मी हुनुहुन्थ्यो । नेपाली साहित्य विशेष गरी समालोचना विधामा उहाँको योगदान अतुलनीय छ। उनै ओजस्वी व्यक्तिको नाउँको पुरस्कार प्राप्त गर्ने खबरप्रति सम्बन्धित सम्पूर्ण ट्रस्टीलगायत जुरीप्रति मेरो हार्दिक आभार।”

पेशाले बङ्गाल सरकार अधिकृत लोक सेवा अधिकारी दार्जीलिङ निवासी लामा विगत केही सालदेखि कविता लेखन र प्रस्तुतिमा आफ्नो छुट्टै छाप छाड़्न सफल हुनुभएको छ । उहाँले सन् २०१५ मा नेपाली साहित्य संस्थान, सिलगढ़ीद्वारा आयोजित पहिलो धमारी कविता प्रतियोगिता जितेपछि कविता प्रस्तुतिमा अलग छवि बनाउनु भएको हो । उहाँले दार्जिलिङे साहित्यलाई प्रतिनिधित्व गर्दै सन् २०१६ मा उड़िस्सामा आयोजित उत्कल साहित्य उत्सवमा सहभागिता जनाउनु भएको थियो ।

यस्तै अगरतलामा सन् २०१६ मा आयोजित अल इन्डिया युथ राइटर्स फेस्टिभलमा समेत उहाँले सहभागिता जनाउनु भएको थियो । सन् २०२१ मा गान्तोकमा आयोजित सिक्किम साहित्य उत्सवमा पनि उहाँले कविता कन्सर्टमा सहभागिता जनाउनु भएको थियो ।

यसैगरी नेपालको चितवनमा सन् २०२१ मा कविडाँड़ा साहित्य समाजद्वारा आयोजित चितवन साहित्य उत्सवमा पनि उहाँको दर्बिलो उपस्थिति थियो ।

३ मार्च १९७६ मा कालचिनीमा जन्मनु भएकी लामाले सन् २००१ मा उत्तर बङ्गाल विश्वविद्यालयबाट स्वर्ण पदकसहित स्नातकोत्तर अध्ययन पूरा गर्नु भएको हो । हाल उहाँ डेपुटी म्येजिस्ट्रेटको ओहदामा माल्दामा कार्यरत हुनुहुन्छ । उहाँको पहिलो रचना सन् १९८२ मा हिमालचुली पत्रिकामा प्रकाशित भएको थियो। सन् २०१६ मा उहाँको पहिलो कविता सङ्ग्रह ‘सभ्यताका पेन्डुलमहरू’ निस्किएपछि सिलगढ़ीको सम्बोधन पब्लिकेसनले यिनको दोस्रो कविता कृति ‘म देह रातो रङ्गिन्छु’ सन् २०१९ मा प्रकाशित गरेको हो।

यस पुरस्कृत कृतिमा ३२ वटा सशक्त कविता रहेका छन्। नका कविताको मूल घनीभूत स्वर समाजको उपेक्षित, किनारीकृत तब्काको मुक्तिको सपनामा केन्द्रित कवितालाई उहाँले यथार्थवादी धारमा प्रस्तुत गर्ने गर्नु भएको छ । जनमुक्तिको सपनालाई आफ्ना कवितामा कलात्मक तवरमा उतार्नु हुन्छ । लामा विशेष गरी अभिनय र सङ्गीतको माध्यमबाट कविताको गतिमय प्रस्तुतिका लागि चिनिनुहुन्छ । उहाँको उपन्यास ‘महुवा’ चाँड़ै बजारमा आउन लागेको छ।

सम्बोधन प्रकाशनद्वारा प्रकाशित यस कविता-कृतिको महत्त्व २५-औँ डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कारको घोषणाले अझ बढ़ाइदिएको प्रकाशनका निर्देशक सूरज गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पवित्रा लामाको छुट्टै कविता लेखन र प्रस्तुतिबाट आकर्षित भएर उहाँको कविताग्रन्थ निकालेका थियौँ। आज आएर सिक्किमको प्रतिष्ठित पुरस्कार यही कृतिलाई प्रदान गरिनु हाम्रो प्रकाशनकै लागि पनि ठूलो उपलब्धि हो। हामीले यो कृति प्रकाशित गर्न लिएको जमर्को उपयुक्त रहेको यही पुरस्कारले पनि प्रमाणित गरेको छ। हामी डा. शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कार प्रदानकर्ता ट्र्स्ट एवं निर्णायक गुठीप्रति आभारी छौँ।”

“सम्बोधन पब्लिकेसनकै लागि पनि यो पुरस्कार पहिलो हो। पवित्रा लामाको यस कृतिले गौरवशाली पुरस्कार प्राप्त गरेपछि भविष्यमा अझ स्तरीय पुस्तकहरू प्रकाशन गर्दै जानुपर्ने दायित्व सम्बोधन पब्लिकेसनको लागि अझ चुलिएर गएको महसुस भएको छ। हामी पुरस्कार घोषणा भएपछि एउटा छुट्टै ऊर्जाले अनुप्रेरित छौँ,” गुरुङले भन्नुभयो ।