श्यामलाल श्रेष्ठ

पोखरा, जेठ १९  / पोखरेली युवा सांस्कृतिक परिवारले गीत सङ्गीतमा क्रियाशील स्रष्टालाई दुई दुई वर्षमा प्रदान गर्ने सोम वज्राचार्य स्मृति संगीत पुरस्कार २०७८ बाट यस वर्ष सङ्गीतकार बरिष्ठ तवला बादक श्यामलाल श्रेष्ठलाई पुरस्कृत गर्ने भएको छ ।

पोखरामा जन्मिएर पोखरालाई नै कर्मक्षेत्र बनाइ गीत संगीतका क्षेत्रमा विगत चार दशकदेखि क्रियाशील श्यामलाल श्रेष्ठले २०५१ मा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गर्नु भएको थियो । पोखराका एक पुराना तबलावादक गुरुका रुपमा पनि श्रेष्ठलाई मानिन्छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका साङ्गीतिक कार्यक्रममा होस वा ५० को दशकमा पहिलो पटक पोखरामा खुलेका रात्रीकालीन गीत गजल आदि प्रस्तुत गर्ने संघसंस्थामा उहाँको महत्त्वपूर्ण भूमिका रहन्थ्यो । निरन्तर लगाव र महत्त्वपूर्ण योगदान दिनु भएका उहाँले थुप्रै अवार्ड र पुरस्कार पाइसक्नु भएको छ । नेपाली गीतसंगीतको क्षेत्रमा उहाँले दिएको योगदानको कदरस्वरुप सोम बज्राचार्य स्मृति सङ्गीत पुरस्कार प्रदान गर्न लागिएको प्रतिभा छनोट समितिका संयोजक एवम् पोयुसांपका सल्लाहकार अनन्द श्रेष्ठले जानकारी दिनुभयो ।

गायक तथा सङ्गीतकार सोम बज्राचार्यको स्मृतिमा उहाँकी धर्मपत्नी शान्ति वज्राचार्यले अक्षयकोष खडा गरी पोयुसांपद्वारा सञ्चालित यो पुरस्कारबाट यसअघि बिमाकुमारी दुरा, श्यामसुङ तामाङ, नवराज बराल, रुपेनबाबु थापा, सुनिल थापा र कर्ण दास पुरस्कृत भइसक्नु भएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा यही आगामी असार ४ गते शनिबार नगद, ताम्रपत्र र दोसल्लासहित पोखरामा पुरस्कार प्रदान गरिने परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिनु भएको छ ।