साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मगर कविताका आदिकविद्वय जितबहादुर र रेखबहादुरको योगदान स्मरण गरियो

मगर भाषा साहित्यमा मगर कविताका आदिकविद्वय जितबहादुर सिन्जाली मगर र रेखबहादुर थापा मगरको योगदान विषयक गोष्ठी आज काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भयो ।

सो गोष्ठीमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मगर मातृभाषा साहित्यका आदिकवि राष्ट्रका निधिहरू हुनुभएको बताउनु भयो ।

bahulako diary small and inside post

‘राज्य पुन:संरचना भएपछि नेपाल प्रज्ञा प्रतिष्ठानले मुलुकमा बोलिने हरेक मातृभाषा, साहित्य, संस्कृतिको अध्ययन अनुसन्धान जारी राखेको छ । यसमा विशिष्ट योगदान पुर्‍याउनु भएका स्रष्टाहरूलाई सम्मान गर्ने नीति अघि बढाइएको छ । मातृभाषी आदिकवि, स्रष्टाहरूको योगदानलाई लिएर जन्मजयन्ती मनाउने कामको समेत थालनी भएको छ र यो निरन्तर रहन्छ,’ उप्रेतीले भन्नुभयो ।

जनसंख्याका हिसाबले मगर जाति तेस्रोमा पर्दछन् । भौगोलिक रूपमा मगर समुदायले ढुट, खाम (पाङ), काइके र पोइके गरी चारवटा भाषा बोल्ने गरेका छन् । भाषा आयोगले पछिल्लो पटक गरेको अध्ययनले पोइके भाषाको पहिचान भएको हो । बहुसंख्यकले मगर ढुट भाषा बोल्छन् । जितबहादुर सिन्जाली मगर र रेखबहादुर थापा मगर ढुट भाषाको आदिकवि घोषणा भएको धेरै भएको छ ।

सिन्जाली र थापाले २०१६ सालमा‘मगराती भाषाङ ल्हिङ ड टुक्काऔ कीटाब’ (मगराती भाषामा गीत तथा टुक्काको किताब) संयुक्त कृति प्रकाशित गर्नु भएको थियो ।

‘प्रकाशनका सन्दर्भमा भने सर्वप्रथम विमातृभाषी बालकृष्ण रुपावासी (पोखरेल)को ‘कानुङ लाम’ (नयाँ बाटो) गीति कवितासंग्रह २००९ सालमा प्रकाशित थियो,’ गोष्ठीपत्र प्रस्तुत गर्दै उपप्राध्यापक टीकाराम ‘उदासी’ बुढामगरले भन्नुभयो, ‘स्वभाषीले सिर्जना गरेको मगर भाषा साहित्यको यो नै पहिलो पुस्तक थियो । संयुक्त संग्रहमा दुई जनामध्ये कुन कसको रचना हो भनेर नछुट्टिएकाले नेपाल मगर संघले दुवै जनालाई मगर आदिकवि भनेर घोषणा गरेको हो ।’

गुल्मीको ठूलो लुम्पेकमा १९८८ जेठ १८ गते जन्मिनु भएका स्रष्टा जितबहादुर सिन्जालीको ‘मगर भाषाका सुरुऔ किताब’, ‘ल्हेस्म राहानाङ’, ‘पुनरागमन’, ‘गमन’, ‘गोलभाव’, ‘बुद्धदर्शन’लगायत दर्जनभन्दा बढी कृति मगर र नेपाली भाषामा प्रकाशित छन् । युगचेतना, सामाजिक सरोकार, जनपक्षीय चिन्तन र सामाजिक परिवर्तनकामी आदिकवि सिन्जालीको २०७५ पुस ८ गते निधन भएको थियो ।

यसैगरी अर्का आदिकवि रेखबहादुरको जन्म २००१ भदौ २८ गते तनहुँको भिरकोट अर्चल्दी गाउँमा भएको थियो । उहाँको ‘फुन्च–ठलके’ (जन्मभूमिलाई) कविता कृति प्रकाशित छ भने ‘कानुङ नेपाल’ (हाम्रो नेपाल) प्रकाशोन्मुख रहेको जनाइएको छ । उनको २०६१ असारमा निधन भएको थियो ।

मगर साहित्यका लेखक प्राज्ञ लोकबहादुर थापा मगरले मगर समुदायमा बोलिने भाषामध्ये ढुट सबैभन्दा समृद्ध रहेको बताउनुभयो । ‘२००७ सालयता मगर भाषा लेख्य परम्पराको विकास भएको छ,’ दर्जनभन्दा बढी कृतिका सर्जक मगरले भन्नुभयो, ‘मगर साहित्य विकासको हिसाबले २०४५ सालसम्म पहिलो चरण, २०६२ सालसम्म दोस्रो र २०६२/६३ जनआन्दोलनपछि तेस्रो चरणका रूपमा लिइएको छ ।’

उहाँका अनुसार अहिलेसम्म मगर भाषामा ४८ वटा कवितासंग्रह, १९ वटा कथासंग्रह, १७ वटा उपन्यास, ७ वटा गजलसंग्रह, ६ वटा मुक्तकसंग्रह, चार–चार वटा गीत, निबन्ध र नाटक कृति, ३ वटा खण्डकाव्य कृति प्रकाशित छन् । त्यस्तै ३५ वटा चलचित्र र १८ वटा वृत्तचित्रसमेत निर्माण भएका छन् ।

जितबहादुर सिन्जाली मगर साहित्य प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरले राज्यको तर्फबाट मातृभाषी आदिकवि जयन्ती मनाउनु स्वागतयोग्य रहेको बताउनुभयो । राष्ट्रिय सभाका सदस्य सुरेश आलेमगर, प्रतिष्ठानकी प्राज्ञ लक्ष्मी माली, सदस्यसचिव जगतप्रसाद उपाध्यायलगायतले मगर आदिकवि र मातृभाषाबारे विचार व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया
Loading...