तिमी छेउ छैनौ भन्ने आभासले चोट लाग्छ
टुक्रिएको फूल हुँ म बतासले चोट लाग्छ
– करुण थापा
नेपाली गजल विधामा कोमल भावलाई बढी सम्प्रेषित गर्न रुचाउने सशक्त तथा अग्रणी स्रष्टाको रूपमा चिनिनुहुने गजलकार तथा गीतकार करुण थापाद्वारा कलमबद्ध गरिएको र दशकौंदेखि हजारौं पाठकद्वारा अति मन पराइएको गजल “बतासले चोट लाग्छ” रेकर्ड गरी त्यसको स्टुडियो भर्सनलाई हालै MusicSutra युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
नेपाली संगीतमा हजारौं कर्णप्रिय धूनहरू सिर्जना गरी आफ्नो एउटा अलग्गै स्थान बनाउन सफल तथा नेपाली संगीत जगतमा एक चीरपरिचित संगीतकार सचिन सिंहद्वारा संगीतबद्ध उक्त गजललाई मुम्बईकी प्रतिभाशाली गायिका नेहा करोडेले गाएकी छन्।
१० वर्ष भारतीय शास्त्रीय संगीत सिकेकी नेहा दिल्लीमा जन्मे पनि हाल उनी मुम्बईमा कार्यरत छिन् । उनले हालैमा प्रख्यात निर्देशक अनुभव सिन्हाको चलचित्रमा तीन वटा गीत गाएकी छन्। यसका अतिरिक्त सोनू निगम, जुबिन नौटियाल, यश किङ्ग, देव नेगी, हरिश मोयाल, पवनदीप राजन आदिसँग पनि उनका गीत रिलिज भएका छन्। उनले मुम्बईका चर्चित संगीतकारहरूका गीत पनि गाएकी छन्।
इण्डियन आइडल विजेता पवनदीप राजनसँग उनले धेरै नेपाली गीतहरू कभर गरेकी छन् भने केही संयुक्त गीतहरू समेत निकालिसकेकी छन्। विभिन्न हिन्दी, पञ्जाबी तथा अङ्ग्रेजी भाषाका गीतहरू रेकर्ड गराइसकेकी नेहा करोडेको “बतासले चोट लाग्छ” गजल भने नेपाली भाषामा रेकर्ड गरिएको पहिलो गजल/गीत हो।
म्युजिकसूत्र (MusicSutra) नामक युट्युब च्यानल प्रवासबाट नेपाली गीत संगीतलाई माथि उकास्ने लक्ष्य लिएर संयुक्त राज्य अमेरिकाको भर्जिनियाबाट प्रसारण हुने च्यानल हो । MusicSutra च्यानल विभिन्न विधा (genre) का गीतहरू समाविष्ट एउटा विशुद्ध सांगीतिक च्यानल हो ।
[embedyt] https://www.youtube.com/watch?v=HLP4WgVz4tM[/embedyt]
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।