राजेन्द्र तारकिणी

कवि तथा पत्रकार राजेन्द्र तारकिणीको उपचारका लागि सञ्चालित अभियानमार्फत् ८ लाखभन्दा बढी रकम जुटेको छ । गत वैशाख पहिलो साता सगरमाथा साहित्य प्रतिष्ठानको केन्द्रीय कमिटी, युएईबाट उनको उपचारका लागि सहयोग संकलन सुरु गरिएको थियो ।

उक्त अभियानमा हालसम्म देश-विदेशमा रहेका शुभेच्छुक व्यक्ति, समूहमार्फत स्वेच्छिक रूपमा कुल ८ लाख ११ हजार ४ सय ७ रुपैयाँ  सहयोग उपलब्ध भइसकेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा अभियान संयोजक जीवित खड्का मगरले जानकारी दिनुभयो । यसमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको पहलमा १ लाख ३ हजार रुपैयाँ  संकलन भएको थियो । यसरी हालसम्म २ सय ३६ जना सहयोगी मनहरुबाट सो बराबरको रकम संकलन भएको हो । यो रकम कुल उपचार खर्चको आधाजति मात्रै भएकोले थप सहयोगको खाँचो रहेको अध्यक्ष मगरले बताउनु भयो  ।

लामो समयदेखि श्रवणविहीन अवस्थाबाट गुज्रिरहेका तारकिणीको हाल ‘कक्लियर इम्प्लान्ट सर्जरी’ को तयारी भइरहेको छ । त्रिवि शिक्षण अस्पतालमा उक्त सर्जरी हुने भए पनि इम्प्लान्ट भने विदेशबाट मगाउनुपर्ने भएकाले महङ्गो पर्ने बताइएको छ ।

हाँडे रोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाएका तारकिणीले वेलैमा कानको भरपर्दो उपचार हुन पाएन । विगत १५ वर्षदेखि कान सुन्न नसक्नुको पीडा झेल्दै आउनु भएका तारकिणीको केस हाल त्रिवि शिक्षण अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. रविन्द्रभक्त प्रधानाङ्गले हेरिरहनु भएको छ  । डा. प्रधानाङ्गका अनुसार तारकिणीको एउटा कानमा कक्लियर इम्प्लान्ट गरेमा उहाँको श्रवणशक्ति पुनः प्राप्त हुने र बोलीमा समेत सुधार हुनेछ  ।

‘कक्लियर इम्प्लान्ट’ गर्नका लागि सुरुमै कम्तीमा १८ देखि २० लाख खर्च हुने सोही अस्पतालका मुख्य श्रवण विशेषज्ञ डा. सुरेश्वर लाल कर्णको भनाइ छ । उहाँका अनुसार शल्यक्रियापश्चात् पनि वार्षिक रुपमा नियमित ‘म्यापिङ’ तथा अन्य थेरापीवापत थप पचास–साठी हजार खर्च छुट्याइराख्नुपर्ने हुन्छ ।
तारकिणी साहित्य लेखन, पत्रकारिताका साथै चित्रकलामा समेत विगत एक दशकभन्दा बढी समयदेखि सक्रिय हुनुहुन्छ ।  उहाँका यसअघि नै तीनवटा साहित्यिक कृति प्रकाशित छन् भने नयाँ कवितासंग्रह प्रकाशन हुने क्रममा छ ।
छोटो समयमै अभियानले उल्लेख्य गति लिए पनि अझै थप सहयोगको खाँचो रहेको प्रतिष्ठानका केन्द्रीय महासचिव डिजी शर्माले बताउनु भयो । उहाले स्रष्टा तारकिणीको उपचारमा व्यक्तिगत तथा संस्थागत सहयोग गरिदिन अपिल समेत गर्नु भएको छ  । सहयोगी दाता,  शुभेच्छुकहरूले सहयोग रकम सिधै तारकिणीको वास्तविक नाम राजेन्द्र प्रसाद पन्तको नाममा ग्लोबल आइएमई बैंक लिमिटेड, कान्तिपथ शाखामा खोलिएको खाता नं ०१०७०१००२४४९७ मा पठाउन सकिने व्यवस्था गरिएको छ ।

सहयोग रकम पठाउन तथा थप सम्पर्कका लागि :
नाम : Rajendra Prasad Pant
बैंक : Global IME Bank Ltd / Kantipath Branch
खाता नम्बर : 0107010024497
————————-
E-Sewa/Khalti wallet : +977-9861606136 (Rajendra Prasad Pant)
–––––––––––––
Email :  rtpoet069@gmail.com
Viber :  +977- 9849560709
फेसबुक : rajendra.tarakini

सगरमाथा साहित्य प्रतिष्ठानमा सम्पर्कः
प्रतिष्ठानको what’sapp नम्बर – +971-545643900
—————
केन्द्रीय अध्यक्ष : जीवित खड्का मगर
फोन नं.-  +971-525347997

––––––––––––––––––––
केन्द्रीय महासचिव- डिजी शर्मा
फोन नं.- +971-545844855