डि जि शर्मा
युएई / गजलकारद्वय रोमु अधिकारी र वसन्त ओली वसन्तीको गजल सङ्ग्रह युएईमा लोकार्पण गरिएको छ ।
युएईमा लामो समयदेखि साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएको “सिर्जना वाचन डबली” र हालसालै गठन भएको “अन्तर्राष्ट्रिय नेपाली समाज, युएई राष्ट्रिय कार्यसमिति” (इन्स) को संयुक्त आयोजनमा आइतबार युएईको दुबईमा सम्पन्न एक समारोहका बीच ती दुई गजल सङ्ग्रह विमोचन गरिएको हो ।
आयोजक डबलीका संरक्षक तथा गजलकार टक गुरुङ, कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ युएईका अध्यक्ष लक्ष्मण खनाल, विशेष अतिथिहरू इन्सका युएई अध्यक्ष मेघप्रसाद धमला, सल्लाहकार कुल लेप्चा, सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगर, प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अजित क्षेत्री, सञ्चारकर्मी तथा कवि निमेष गिरी, सुनसरी सेवा समाजका संरक्षक रोहित बस्नेत लगायतले कृतिको लोकार्पण गर्नुभएको थियो । गजलकार अधिकारी सुनसरी र ओली दाङ निवासी हुनुहुन्छ ।
आयोजक डबलीका सदस्य तथा इन्स युएईका सल्लाहकार डि जि शर्माले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा पत्रकार महासंघ युएईका अध्यक्ष लक्ष्मण खनाल, इन्स युएईका सल्लाहकार कुल लेप्चा, सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगर, प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अजित क्षेत्री, सञ्चारकर्मी तथा कवि निमेष गिरी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै उहाँहरूले गजलकारद्वय अधिकारी र ओलीलाई कृति सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । प्रवासमा रहेर पनि आफ्नो भाषा साहित्यको विकासमा गरिरहेको योगदानलाई सम्मान गर्दै उहाँहरुले युएईका सर्जकहरूप्रति आभार प्रकट गर्नुका साथै यस किसिमको कार्यक्रमलाई निरन्तरता दिन आग्रह पनि गर्नुभएको थियो ।
कार्यक्रममा सर्जकहरू हरिहर कँडेल, विष्णु प्याकुरेल, डि एल घिमिरे, चन्द्रमन निलओम, सुरज राना मगर, राजेशराज गडतौला, भूपेन्द्र कान्छो आचार्य, शिव लामिछाने, डि जि शर्मा, त्यसैगरी अतिथि सर्जकहरू जीवित खड्का मगर, अजित क्षेत्री, जे सागर, निमेष गिरी, लक्ष्मण खनाल, टक गुरुङ, सोनी भण्डारी लगायत एक दर्जन बेसीले आ-आफ्नो रचना वाचन गर्नुभएको कार्यक्रम संयोजक जे सागरले जानकारी गराउनु भयो ।
आयोजक डबलीका संरक्षक टक गुरुङको सभापतित्व र डबलीका सदस्य तथा इन्स युएईका महासचिव श्री भवानी नेपालले सञ्चालन गर्नुभएको कार्यक्रममा सञ्चालक नेपालले बोई र बरियो गजल सङ्ग्रह भित्रका एक-एक ओटा गजल वाचन गर्नुभएको थियो ।
कार्यक्रममा युएईमा रहेर रोजगारी र व्यवसायसँगै सामाजिक कार्यमा समेत लामो समयदेखि सक्रिय रहँदै आउनुभएका नवराज पाण्डे, सविता रिजाल पाण्डे, इन्स युएईकी सचिव सावित्रा अधिकारी लगायतको पनि उपस्थिति रहेको थियो ।
यता सोही कार्यक्रमकै अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली समाज युएई राष्ट्रिय कार्यसमिति (इन्स) को बैठक समेत बसेको थियो । इन्स युएईका अध्यक्ष मेघ प्रसाद धमलाको अध्यक्षतमा बसेको बैठकले इन्सको कार्य समिति सदस्यहरुबाट मासिक रुपमा लेबी संकलन गर्ने लगायत केही महत्त्वपूर्ण निर्णयहरु गरेको महासचिव नेपालले बताउनु भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।