सिलगढ़ी / नेपाली सङ्गीत जगतका एक सुप्रसिद्ध गायकको वास्तविक प्रेम-कथामाथि आधारित काल्पनिक गीतिनाट्य ‘मर्मको मिठास’ सिलगढ़ीमा एक रङ्गारङ्ग कार्यक्रममाझ लोकार्पित गरिएको छ। नेपाली सिने जगतमा २ सयाधिक चलचित्रमा सङ्गीतकारको भूमिका निर्वाह गर्नुहुने वरिष्ठ सङ्गीतकार, लोकप्रिय गायिका सुश्री शान्ति ठटालको अध्यक्षतामा एवं समाजसेवी-कलाप्रेमी श्रीमती लक्ष्मी साइजुको मुख्य आतिथ्यमा सिलगढ़ी देवकोटा सङ्घ प्रेक्षागृहमा २८ मई २०२२ कृति विमोचित भएको छ। नेपाली सङ्गीत जगतमा सुपरिचित दार्जीलिङका गीतकार पुरण गिरीद्वारा सृजित २ सय पन्नाको यो गीतिनाटकमा वियोगान्त कथा रहेको छ।
सभापतिको आसनबाट सम्बोधन गर्दै सुश्री ठटालले नेपाली सङ्गीतको स्वर्णकालदेखि समकालीन समयसम्मको प्रवृत्तिगत विकासक्रमतिर इङ्गित गर्नुहुँदै “आजको श्रोता गीतको शब्द-सौन्दर्यप्रति सचेत छन्। यसैले आज गीतलेखनको महत्त्व झन् बढ़ेर गएको” बताउनु भयो ।

सर्जकीय सम्बोधनमा कृतिकार गिरीले यस कृति लेखनमा आफूले एउटा छुट्टै लेखकीय प्रशव-पीड़ाबाट गुज्रनु परेको अनुभव साझा गर्नुभयो। नेपाली साहित्यमा आफूले गीत लेखनद्वारा निरन्तर सेवा गरिरहनु पाउनु आफ्नो लागि विशेष उपलब्धि रहेको जनाउनु भयो।

किनारीकरण लेखनका प्रणेता, साहित्य अकादमी पुरस्कार प्रापक वरिष्ठ साहित्यकार मनप्रसाद सुब्बाले विमोचित पुस्तकमाथि समीक्षा राख्दै नेपाली साहित्यमा यसखाले पुस्तक प्रकाशन विरल घटना रहेको बताउनु भयो । “पुरण गिरी अब गीतकारबाट कवि भएका छन्,” सुब्बाले घोषणा नै गर्नुभयो ।

‘दार्जीलिङे गीत परम्परामा पुरण गिरीका गीतहरू’ विषयमा विशद् वार्ता राख्दै बनारस हिन्दु विश्वविद्यालयका वरिष्ठ प्राचार्य डा. दिवाकर प्रधानले गीत परम्पराको वैश्विक इतिहास प्रस्तुत गर्नु भएको थियो । डा. प्रधानले गीत र कवितामा फरक नरहेको मन्तव्य राख्नुहुँदै गीत मानव सभ्यताको आदिकालदेखि चलिआएको अभिव्यक्ति माध्यम रहेको बताउनु भयो।

समारोहमा मनप्रसाद सुब्बा, डा. मोहन पी दाहाल, डा. दिवाकर प्रधान, डा. शरद सिन्हा, डा. सुजाता रानी राई, डा. पुष्कर पराजुली, डा. सञ्जय बान्तवा, डा. कविता लामा, मिलन रुचाल, पीटी यल्मो विशिष्ट अतिथि रहनु भएको थियो।

‘मर्मको मिठास’ पुस्तक प्रकाशन गर्ने संस्था बुक-आन्टका तर्फबाट स्वागत सम्बोधन सुरज गुरुङले राख्नु भएको थियो । बुक-आन्ट स्तरीय लेखकहरूको खोजीमा रहेको जनाउँदै पुराना सँगै नयाँ पाठक आकर्षित गर्ने जमर्कोमा रहेको तथा प्रकाशन उद्योगमा नयाँ पहल गर्ने उद्देश्य रहेको जनाउनु भयो। सालबारीस्थित बुकआन्टले अहिले अनलाइन पुस्तक वितरणको व्यवस्था गरिरहेको समेत बताउनु भयो।

लोकप्रिय गायक महेश सेवाले आफ्नो जादूमय आवाजमा गीत प्रस्तुत गर्नु भएको थियो । खरसाङका सङ्गीतकार-गायक महेश्वर लामा र नवोदित गायिका सुश्री काव्या पोर्तेलले पनि आ-आफ्नो सुन्दर गायन प्रस्तुत गर्नु भएको थियो । समारोहमै डिजिटल कम्पनी ‘मोन्क-आन्ट’को वेबसाइट समेत सार्वजनिकीकरण पनि गरियो। कार्यक्रमको सञ्चालन दार्जीलिङका प्रसिद्ध गीतकार कमल रेग्मीले गर्नुभएको थियो।