चितवन / कविडाँडा साहित्य समाजले पाँच जना लेखक, साहित्यकारलाई पुरस्कृत तथा सम्मान गरेको छ ।
समाजको २० औं वार्षिकोत्सवको अवसरमा शनिबार भरतपुरको कविडाँडामा आयोजित कार्यक्रममा संस्थाले १५ हजार १६० रूपैयाँ राशिको कविडाँडा साहित्य सम्माान तथा देव-खीना स्मृति पुरस्कार २०७९ लेखक साहित्यकार रेशम विरही र तुलसी थापालाई प्रदान गरेको हो ।
रेशम विरहीका ‘मुलाको बोक्रा’, ‘आलीमुनिको झ्याउँकिरी’, ‘भित्ताको रङ’, ‘मंगली गुप्ताको पान पसल’, ‘थालथालमा सपना’ जस्ता कवितासंग्रह, ‘सुन्दर बस्ती,’ ‘देब्रे आँखा’ र ‘सत्ता र स्वप्नदोष’ जस्ता निबन्धसंग्रह र ‘प्रेमदासको डायरी’ उपन्यास प्रकाशित छन् । वि.सं. २००९ सालमा जन्मनु भएका तथा भरतपुर महानगरपालिका-१६ का स्थायी बासिन्दा विरही साहित्यसँगै पत्रकारिता क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ।
त्यसैगरी मकवानपुरका तुलसी थापा कथा र कविता लेखनमा सक्रिय हुनुहुन्छ । वि.सं. २००२ सालमा मकवानपुरको भैँसेमा जन्मनु भएका थापाका ‘अपरेशन टेबलबाट उठ्दै गर्दा’ र ‘जीवनका मोडहरू र जीवन प्रवाहका धार’ कथासंग्रह प्रकाशित छन् । थापाको मसिना कविताहरूको संग्रह ‘निमेषको अन्तर’ पहिलो कृति हो ।
कविडाँडा अविनाशी उत्कृष्ट कृति पुरस्कार २०७८ ‘मोक्ष’ उपन्यासका लागि सिर्जन अविरलले प्राप्त गर्नुभयो । उत्कृष्ट कृति पुरस्कारको राशि १५ हजार १६० रूपैयाँ रहेको छ । कविडाँडा सुवर्ण तुलसी काव्य पुरस्कार नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठलाई प्रदान गरियो । यस पुरस्कारको राशी ३० हजार १६० रूपैयाँ छ । कविडाँडा राष्ट्रिय युवा वाङ्ममयी पुरस्कार तथा सम्मान युवा गजलकार लेखराम सापकोटालाई प्रदान गरिएको छ । ४० वर्ष नकटेका साहित्यसँग जोडिएकाले यो पुरस्कार पाउँछन् । पुस्कारको राशि १५ हजार १६० रूपैयाँ रहेको छ ।
संस्थाले पुरस्कार र सम्मानका साथै नेपाली साहित्यका विविध पक्षहरूका बारेमा समय समयमा राष्ट्रियस्तरका गोष्ठीहरू पनि गर्दै आएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।