मे १४ शनिबार अनेसास नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरले साहित्यकार रश्मि भट्टको दोस्रो कविता कृति “युगका आवाजहरू“को लोकार्पण र समीक्षात्मक कार्य सम्पन्न गरेको छ । श्रष्टाको गद्यतर्फ यो पहिलो कविता कृति हो ।
भर्चुअल माध्यमबाट गरिएको उक्त कार्यक्रममा च्याप्टरकै अध्यक्ष कवि राजन महर्जन सभापति, बोर्ड अफ ट्रष्टकी अध्यक्ष साहित्कार गीता खत्री प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशेष अतिथिहरू वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैंनी “किशोर” र वरिष्ठ साहित्यकार, समालोचक कलानिधि दाहाल रहनु भएको थियो ।
च्याप्टरका अध्यक्ष राजन महर्जनले कार्यक्रमको शुरूवात गर्दै श्रष्टालाई बधाई र शुभकामना दिनु भएको थियो भने च्याप्टरकै महासचिव जानुका वस्ती ढकालले आफ्नो स्वागत मन्तव्यबाट पाउनाहरूको स्वागत गर्दै “युगका आवाजहरू”की स्रष्टा रश्मि भट्टलाई बधाई र शुभकामना पनि व्यक्त गर्नुभएको थियो ।
गद्य, पद्य, समालोचना तथा साहित्यका धेरैजसो विधामा कलम चलाउने स्रष्टाको आफ्ना रचनाहरू एकाउन्न सालदेखि मुद्रित रुपले पत्रपत्रिकामा र अमुद्रित रूपमा दश वर्षदेखि नै कलम चलाउँदै आएको र संयुक्त रूपमा पुस्तक पनि प्रकाशित भइसकेको छ । गत वर्ष “पातालका गर्तमा“ नामक छन्द कविता प्रकाशन भएको हो भने फेरि यस वर्ष “युगका आवाजहरू“ दोस्रो कृति लिएर आउन श्रष्टा सफल भएको देखिन्छ।
यसै क्रममा साहित्यकार कलानिधि दाहालले गोर्खेली चेलीको उपलब्धि धेरै रहेको र उहाँले साँच्चै साहित्यको अन्तरमर्म छामेर हेर्नेहरूका लागि यो कृति विशेष रहेको बताउनुभयो । यसमा शिल्प राम्रोसँग खिपिएको दाहालको भनाइ थियो । यसैगरी सम्पूर्ण बिम्बहरूमा मानवीय चेत उठाउन सक्नु सर्जकको सबैभन्दा ठूलो उपलब्धि हो भन्दै दाहालले स्रष्टालाई बधाई तथा शुभकामना दिनुभएको थियो । अझै श्रष्टाले गहिरो अध्ययन, चिन्तन र मनन गरेर लेख्न सके सुनमा सुगन्ध हुने र यस्तो देशभक्त श्रष्टा आफ्नै राष्ट्रमा बसे कति राम्रो हुनेथियो भन्नुभयो ।
त्यस्तै वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी “किशोर”ले कविताको महत्त्व दिनानुदिन बढ्दै गइरहेको बताउनुभयो । उहाँले कुनै पनि स्रष्टाले कृति तयार गर्दा अरूभन्दा फरक छ छैन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ र जुन कुनै विधामा लेखे पनि काव्यात्मकता हुनु ठूलो कुरा हो भन्दै उहाँले विभिन्न देशका प्लेटो, अक्टोभिया, क्रिस्टोफर र टल्सटायहरूजस्ता दार्शनिकले कविहरूलाई राम्रो नदेखे पनि, जति विरोध गरे पनि समग्रमा भन्नुपर्दा कविताको महत्त्व झनै बढिरहेको छ । कवि रश्मि भट्टका कविताहरू सरल, निर्दोष र खरो रहेको बताउँदै उहाँले ती कविता सूत्रात्मक र मन्त्रात्मक लाग्ने किशोरले बताउनुभयो । समचेतनाका बिम्बहरूलाई एउटै मालामा राखिएको र नारी अस्मिताको कुरालाई सबल रूपमा उनिएको भन्दै किशोरले कवि भट्टको कृति धेरै राम्रो र महत्त्वपूर्ण रहेको जनाउनुभयो ।
त्यसैगरी डा. ऋषि बस्ताकोटी, डा. वीरेन्द्र पुडासैनी, गीतकार धन लामा, साहित्यकारहरू डा. गोविन्द कोइराला, विश्वराज अधिकारी, सुरेशकुमार भट्ट, लालगोपाल सुबेदी, ने.मु.प्र. अमेरिका शाखा अध्यक्ष तथा गजलकार आनन्द श्रेष्ठ, उत्तर अमेरिका क्षेत्रका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, अनेसास केन्द्रका कोषाध्यक्ष तथा कवि विकास बिष्ट, टुटुल्को डटकमका प्रधान सम्पादक ज्योतिकुमार श्रेष्ठ, अनेसास बोर्ड अफ ट्रष्टीकी अध्यक्ष तथा साहित्यकार गीता खत्री, अनेसास न्युयोर्क च्याप्टरका पूर्व अध्यक्ष शकुन ज्ञवाली, च्याप्टर उपाध्याक्ष कवि लक्ष्मी श्रेष्ठ, बन्दना कोइराला, समाजसेवीहरू राजन गौली र विश्वराज बास्तोलाले आ-आफ्नो मन्तव्यका साथ स्रष्टा भट्टलाई बधाई र शुभकामना दिनुभएको थियो ।
समाजसेवी नवराज केसी, साहित्यकार गीता पराजुली पन्थ, प्रोफ़ेसर राजन थपलिया, अनेसास न्यूयोर्क च्याप्टर कोषाध्यक्ष नदिया लिवाङ र मुक्तकमणि तीर्थराज अधिकारीको पनि उपस्थिति रहेको थियो । साहित्यकार किसनसिंह धामी उपस्थित हुन नसके पनि कृतिकारलाई बधाई र शुभकामना सन्देश पठाउनु भएको थियो ।
”युगका आवाज़हरू“ का स्रष्टा रश्मि भट्टका समकालीन साथी साहित्यकार लालगोपालले उहाँको कवितामा गोर्खा, काठमाडौं र अमेरिका सबै भेटिने बताउनु भएको थियो । उहाँ साधना गर्नुहुन्छ प्रचार प्रसारलाई ध्यान दिनुहुन्न भनी लालगोपालले गुनासो गर्नु भएको थियो ।
स्रष्टाका अर्का सहपाठी मित्र डा. वीरेन्द्र पुडासैनीले नव उदयीमानले निर्मल आकाश पाएर श्रष्टाका रूपमा विशिष्ट चिनारी दिनसक्नु हाम्रा लागि गौरवको कुरा भएको र यो अमर कृति सबैको सिरानीमा बस्ने खालको रहेको बताउनुभयो ।
कार्यक्रमको अन्त्यमा स्रष्टाले आफ्नो मनतव्यका साथ सबैलाई धन्यवाद दिएपछि सभापति राजन महर्जनले कार्यक्रम सकिएको जानकारी गराउनु भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।