सरकारले लेखकहरूलाई साहित्यिक लेख वा रचनाको रोयल्टी दिने सम्बन्धमा १.५ प्रतिशत मात्र अध्ययन करकट्टी हुने घोषणा गरेको छ ।  आर्थिक वर्ष ०७९/८० को बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो व्यवस्था मिलाइएको बताएका हुन् ।

यसअघि साहित्यक लेख तथा रचनाको रोयल्टीमा अन्य व्यवसायिक पुस्तकहरूकै बराबर १५ प्रतिशत कर कायम गरिएको थियो ।

सरकारले बजेमार्फत् साहित्यिक लेख तथा रचनामाकाे राेयल्टीमा १.५ प्रतिशतमात्र करकट्टी हुने घोषणा गरेसँगै साहित्यकार अमर न्याैपानेले सामाजिक सञ्जालमार्फत अर्थमन्त्रीलाइ लिखित रूपमा बुझाएको निवेदन सार्वजनिक गरेका छन् ।

“गत वैशाख आठ गते म अर्थमन्त्रीलाई भेट्न एक जना मित्रका साथमा अर्थ मन्त्रालय गएको थिएँ । उद्देश्य साहित्यिक पुस्तकहरुमा लाग्दै आएको १५ प्रतिशत कर छुट या न्यून गरी लेखकहरुलाई प्रोत्साहन गरिदिन अनुरोध गर्नु थियो ।” न्यौपाने भन्छन्, “अर्थमन्त्री तथा मन्त्रालयका सहसचिव र आर्थिक सल्लाहकारहरुलाई मौखिक व्याख्यासहित लिखित निवेदन पनि पेस गरेको थिएँ । उतिखेरै अर्थमन्त्रीले तोक लगाएर सचिवालयमा पठाउनुभएको थियो । आज बजेट भाषणमा साहित्यिक पुस्तक, लेख तथा रचनाहरुमा १.५ प्रतिशत मात्र कर लगाउने व्यवस्था गरियो ।”