काठमाडौं / लेखक एवम् सर्भेयर खिमलाल गौतमको पुस्तक ‘पन्ध्रौं चुली’ लोकार्पण गरिएको छ ।

१५औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्याका अवसरमा शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा आयोजित विशेष समारोहमा सरकारका मुख्यसचिव शंकरदास वैरागी, कीर्तिमानी आरोहीहरू कामी रिता शेर्पा र मिङ्मा शेपाले पुस्तक लोकार्पण गर्नुभयो ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठ, लेखक अमर न्यौपाने र पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले पुस्तक एवम् सगरमाथा सम्बन्धमा चर्चा गर्नुभयो ।

कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले पुस्तक लेख्न गाह्रो काम भए पनि खिमलाल गौतमले त्यसलाई सजिलोसँग पार लगाएको बताउनुभयो । पुस्तक रोचक किसिमले लेखिएको र यसमा सगरमाथा आरोहण मात्र यसका इतिहाससम्बन्धी नालीबेलीसमेत रहेको उनको भनाइ छ । ‘भविष्यमा सगरमाथा आरोहण गर्ने व्यक्तिहरूका लागि यो पुस्तक उपयोगी छ नै, पर्वतारोहीहरूले यो पढ्नैपर्छ,’ श्रेष्ठले भन्नुभयो, ‘यस सम्बन्धमा रुचि राख्नेहरूले त झनै पढ्नुपर्छ ।’

पुस्तक पढ्दै जाँदा सरासर समिटमा पुगिने उनले बताए । ‘यहाँ प्राविधिक कुरा पनि छन् । सगरमाथाको उचाइ कहिले नापियो, विदेशीहरूले पनि कहिलेकहिले मापन गरे आदि रोचक तथ्य पुस्तकमा छन्,’ सीमाविद् श्रेष्ठले भने, ‘अहिले भने नेपालले सगरमाथाको उचाइ मापन गरेको छ । त्यसको सम्पूर्ण इतिवृत्त यहाँ छ ।’

कार्यक्रममा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले सगरमाथा पृथ्वीको शिर रहेको र त्यसमा केन्द्रित पुस्तक ‘पन्ध्रौं चुली’ रहेको बताए । पृथ्वीको स्नायुशास्त्र (न्युरोलोजी अफ अर्थ) का रूपमा खिमलाल गौतमको ‘पन्ध्रौं चुली’ आएको उहाँको धारणा छ । आफू विभागको नेतृत्वमा रहे पनि यस किताबले आफूलाई सगरमाथाका हरेक खुट्किलाबारे जानकारी लिन सजिलो भएको उहाँको भनाइ थियो ।

नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम), पर्वतीय प्रशिक्षण प्रतिष्ठानलगायत पर्यटनसम्बन्धी औपचारिक पढाइ हुने शिक्षण संस्थाका लागि यो बलियो सन्दर्भ सामग्री रहेको उहाँको दाबी छ । ‘कर्मचारीहरूलाई विशिष्टीकरण गर्ने सम्बन्धमा यसले प्रेरणा दिन्छ,’ उहाँले भन्नुभयो, ‘जसले जुन विषयमा दक्षता हासिल गरेको छ, सोही विषयमा काम गर्दा वर्क पर्फमेन्स पनि बढी देखिने गर्छ ।’

हर्क गुरुङपछि यस खालको भूगोललाई समेत समेटेर आममानिसले बुझिने गरी लेखिएको किताब ‘पन्ध्रौं चुली’ रहेको उहाँको भनाइ थियो ।

पुस्तक पैताला र अध्ययनले लेखिएको पुस्तक ‘पन्ध्रौं चुली’ रहेको लेखक अमर न्यौपानेले बताउनुभयो । ‘पैतालाले यसकारण, उनी एक पटक नेपाल भ्रमण वर्ष र अर्को पटक सगरमाथाको उचाइ मापनका लागि सगरमाथाको शिखरमै पुगे,’ न्यौपानेले भन्नुभयो, ‘सगरमाथा आरोहणको इतिहास पनि यहाँ पाइन्छ । त्यसैले यसलाई अध्ययनबाट लेखिएको भन्न सकिन्छ ।’

यो पुस्तक विश्वमै पहिलो पटक सर्भेयर इन्जिनियर सगरमाथा शिखरमै पुगेर मापन गरेको घटना सङ्ग्रह पनि रहेको न्यौपानेको भनाइ छ । ‘त्यसैले यो पुस्तकको विशेष महत्त्व छ,’ उहाँले भन्नुभयो, ‘यो पुस्तक संस्मरण र अध्ययनको कोलाज पनि हो । यहाँ लेखकले आरोहण यात्राको वृत्तान्त मात्र सुनाएका छैनन्, उनले सगरमाथाका रोचक तथ्यतथ्याङ्क पनि प्रस्तुत गरेका छन् ।’

अङ्ग्रेजीमा हिमालबारे धेरै किताब लेखिए तापनि नेपालीमा एकदम कम लेखिएको फाइनप्रिन्टका अजित बरालले बताउनुभयो । ‘पन्ध्रौं चुली’ले त्यस किसिमको अभाव पूरा गर्ने उहाँको विश्वास थियो । पुस्तकले सगरमाथा, त्यसको आरोहण र सर्वेक्षणबारे हाम्रो ज्ञान बढाउनेसमेत उहाँले जनाउनुभयो ।

कार्यक्रममा लेखक गौतमले आफूले पुस्तक लेख्नुपर्नाका कारणबारे पनि बताउनुभयो । उहाँले केही आफ्ना निजी अनुभव पनि सुनाउनुभयो । ‘पन्ध्रौं चुली’ भावना र भूगोलको सम्मिश्रण रहेको उहाँले टिप्पणी गर्नुभयो । सगरमाथाका विषयमा हामीले गौरव मात्र ग-यौं, यसका विषयमा नेपाली वाङ्मयमा कम लेखिएको पाएँ,’ उहाँले भन्नुभयो, ‘यसबारे केही लेख्नुपर्छ भन्ने मलाई लाग्यो । सगरमाथाका विषयमा नेपालीमा सन्दर्भसामग्री त्यति नभएकाले पनि अब केही त लेख्नैप-यो भनेर यसमा हात हालेको हुँ ।’

राष्ट्रसेवाका अवसरमा आफू दुईदुई पटक सगरमाथा आरोहणमा गएको र त्यसको अनुभूति पक्कै पनि पाठकलाई उपयोगी हुन सक्ने ठानेर पुस्तक लेखनमा लागेको उहाँको भनाइ थियो । ‘म राष्ट्रसेवक मात्र होइन, म निजी व्यक्ति पनि हुँ,’ उहाँले भन्नुभयो, ‘यसलाई मैले साहित्य खण्डमा समेटेको छु । सगरमाथाबारेका तथ्यलाई मैले इतिहासमा समेटेको छु । यसबारे पाठकले पक्कै मूल्यांकन गर्नुहुनेछ ।’

सगरमाथाको चुली चुम्नु धेरैका लागि कल्पना र थोरैका लागि यथार्थ हो । खिमलाल गौतमले दुई पटक सगरमाथाको चुली चुम्नुभयो । नेपालमा पर्यटन प्रवर्द्धन गर्न २०६८ सालमा पहिलो पटक शिखर यात्रा गर्नुभएका उहाँले दोस्रो चोटि भने सरकारको कार्यक्रमअन्तर्गत २०७६ सालमा उचाइ मापनका लागि सर्वेक्षण गर्न जानुभएको थियो । सामान्य आरोहीका लागि चुचुरोमा पुगेपछि लक्ष्य पूरा हुन्छ तर उहाँको टोलीका लागि लक्ष्य सुरू भएको थियो । सर्भेयर नै शिखरमा पुगेर सगरमाथा सर्वेक्षण गरिएको यो संसारकै पहिलो कीर्तिमान हो ।

‘पन्ध्रौं चुली’ साहस, जोखिम र सङ्घर्षको यात्रा–कथा हो, जहाँ लेखकले आरोहणका क्रममा मृत्युलाई नजिकबाट देखेका छन् । उहाँलाई मृत्युले छोएर जान्छ; लिएर जाँदैन । यो यात्रा कथा मात्र होइन, सगरमाथा आरोहणको इतिहास पनि हो, जसले सगरमाथा सम्बन्धमा नयाँ तथ्य पनि उद्घाटित गर्छ ।

कास्कीको पोखरा नजिकै धितालमा जन्मिनुभएका खिमलाल गौतम पेसाले सर्भेयर हुनुहुन्छ । साल्जबर्ग विश्वविद्यालय, अस्ट्रियाबाट भौगोलिक सूचना प्रणालीमा स्नातकोत्तर उहाँ निजामती सेवामा १७ वर्षदेखि कार्यरत हुनुहुन्छ । दुई पटक सगरमाथा आरोहण गरिसक्नु भएका उहाँले २०७६ सालमा नेपालले पहिलो पटक सगरमाथाको उचाइ मापन गर्ने कार्यक्रमअन्तर्गत समिट अब्जर्भेसन सर्भे टोलीको संयोजकका रुपमा चुचुरोमै पुगी सर्भे गर्नु भएको थियो । उहाँ दुई पटकसम्म सगरमाथा आरोहण गर्ने एक मात्र कर्मचारी एवम् सर्भेयर हुनुहुन्छ। नापनक्सा र सर्वेक्षणको क्षेत्रमा अतुलनीय योगदानका लागि सन् २०२१ को ‘जियोस्पासियल वर्ल्ड’को संसारका ५० उदाउँदा ताराहरूको सूचीमा गौतम पर्नु भएको थियो । उहाँको यो पहिलो कृति हो ।