भारतस्थित डुवर्सका नेपालीभाषी कवि बिलोक शर्मा साहित्यपोस्टमा आबद्ध हुनुभएको छ । हिन्दी भाषाका चर्चित कविहरुका कविताहरुको अनुवाद शृङ्खलाका साथमा शर्मा साहित्यपोस्टमा आबद्ध हुनुभएको हो । अब उहाँ “हिन्दी कविता अनुवाद शृङ्खला” स्तम्भअन्तर्गत पाक्षिकरुपमा आइतबार (मुलुकबाहिर) बिहान ८ बजे साहित्यपोस्टमा उपस्थिति हुनुहुनेछ ।

भारतका विभिन्न राज्यमा बसोबास गर्ने हिन्दी भाषी कविहरुका राम्रा हिन्दी कविताहरुलाई नेपालीमा अनुवाद गरी विश्वभरि छरिएर बसेका नेपाली साहित्य–प्रेमीमाझ पुर्याउने उदेश्यले स्तम्भको सुरुवात गरिएको शर्माले जनाउनु भएको छ ।

“नेपाली साहित्यमा केही चर्चित हिन्दी कविहरुका कविताको नेपाली अनुवादमात्र पढ्न पाइन्छ । धेरै राम्रा कविहरुका साहित्यिक स्वाद नेपाली पाठकले पाएका छैनन् । त्यसैको पूर्ति कवि तथा लेखक बिलोक शर्माले यस स्तम्भअन्तर्गत गर्नुहुने छ ।”, साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भन्नुभयो, “यो साहित्यपोस्ट र यसका पाठकहरुका लागि अर्को उपलब्धी हो ।”

बिलोक शर्मा कवि अनि अनुवादकको रूपमा परिचित हुनुहुन्छ । उहाँका मौलिक कवितासङ्ग्रह ‘समयाभास’ (सन् २०१९), ‘कबितार रोटेपिङ’ (भारतीय नेपाली कविताहरूका बङ्गला अनुवाद सङ्कलन, सन् २०२२) प्रकाशित भइसकेका छन् । विगत दुई दसकभन्दा बढी समयदेखि साहित्य लेखनमा होम्मिएका शर्माका देश-विदेशका विभिन्न पत्र-पत्रिकाहरूमा कविता अनि अनुवाद रचनाहरू (नेपाली अनि बङ्गला) नियमित रूपमा प्रकाशित हुन्छन्। मदारीहाट, डुवर्स (भारत) का स्थायी बासिन्दा उहाँ हाल उत्तर भारतको लुधियाना सहरमा कृषि-प्रबन्धकको रूपमा कार्यरत हुनुहुन्छ ।