हिट सङ्गीतकार गजमेरको आत्मकथा आउँदै

नेपाली चलचित्रमा यादगार सङ्गीत पस्किएका वरिष्ठ संगीतकार रञ्जित गजमेरको आत्मसंस्मरण आउने भएको छ । प्रकाशक वी रीडले गजमेरको निजी जीवन तथा सांगीतिक उतारचढाव समेटेर पुस्तक ल्याउन लागेको हो ।

मङ्गलबार काठमाडौँमा आयोजित एक भेटघाट कार्यक्रममा आफूले सञ्चारकर्मी शेखर खरेलसँग मिलेर लेख्दै गरेको पुस्तकका बारेमा बताउनुभयो । उहाँले सिर्जनशील हुन सिक्ने जिज्ञासा र अहं नपाल्न सुझाव दिनु भएको थियो ।
‘नेपाली संगीतको पछिल्लो पुस्ताले गाएका गीत पनि सुनिरहेको छु । नयाँपुस्ताले अझै धेरै सिक्नुछ । सानो प्रशंसामा रमाउने र इगो पाल्नु उचित होइन,’ उहाँले भन्नुभयो, ‘नयाँपुस्ताले अझै सिक्न जरुरी देखिरहेको छु ।’
गजमेरको संस्मरणलाई दुई तीन महिनाभित्रै बजारमा ल्याउने तयारी भइरहेको सो अवसरमा जानकारी दिइयो । कार्यक्रममा पुस्तकका बारेमा जानकारी दिँदै शेखर खरेलले गजमेरको निजत्वलाई समेटिने र त्यसमा दार्जिलिङदेखि सुरु भएको बाल्यकाल हुँदै बलिउड र नेपाली संगीतसम्मको यात्रालाई समेटिने बताउनुभयो ।

प्रकाशन संस्थाका प्रमुख राजीवधर जोशीले सांगीतिक व्यक्तित्वका कृति नआएको र स्वर्णयुगका पात्रलाई पुस्तकमार्फत लिपिबद्ध गर्ने प्रयास स्वरुप पुस्तक ल्याइने लागिएको बताउनुभयो । विदेशस्थित नेपालीभाषीलाई पनि पढ्न सजिलो हुने गरी पुस्तक प्रकाशन गरिने उनले जानकारी दिनुभयो । विदेशस्थित नेपालीलाई इ–बुकमार्फत अध्ययनको सुविधा मिलाउने वी रीडको तयारी छ ।
सन् १९६० को दशकमा दार्जिलिङबाट सुरु भएर काठमाडौं हुँदै मुम्बईसम्म पुगेको गजमेरको सांगीतिक यात्रालाई पुस्तकमा उल्लेख गरिनेछ । अम्बर गुरुङ, गोपाल योञ्जन, नारायण गोपाल, शरण प्रधान, जितेन्द्र बर्देवा, तारादेवी, अरुणा लामाको समकालीन कालखण्ड पनि पुस्तकमा उल्लेख हुनेछ ।
वृत्तचित्र निर्माता समेत रहनु भएका खरेलले लामो समयको अनुसन्धानपछि गजमेरको निजत्वलाई पुस्तकमा उतार्न लागिएको बताउनुभयो ।
उक्त जमघटमा संगीतकार गजमेरले चर्चित गीतहरू अम्बर गुरुङको ‘नौलाख तारा’, महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको ‘कुन मन्दिरमा जान्छौ यात्री’, आरडी बर्मनद्वारा संगीतबद्ध ‘कान्छी रे कान्छी रे’, नारायण गोपालको ‘अल्झेछ क्यारे पछ्यौरी’ जस्ता गीत निर्माणको अनुभवसमेत बताउनु भएको थियो ।
सन् ६० को दशकको अगमसिंह गिरी रचित एवं अम्बर गुरूङद्वारा संगीतबध्द नेपाली स्पन्दनको अमर गीत ‘नौलाख तारा उदाए’ मा वाद्यवादन होस् वा सन् ७० को दशकमा डेनी डेङ्जोम्पाको स्वरको ‘चीसो चीसो हावामा’; सन् ८० को दशकमा आशा भोसलेको स्वरको ‘झझल्को लिएर आएछ सावन फेरि आँखामा’ होस् वा सन् ९० को दशकको नारायण गोपाल र आशा भोसलेको युगल स्वरको ‘माया त माया हो’ होस् वा साधन सरगमको स्वरको ‘डाली डाली फूल फुल्यो’, उहाँद्वारा संगीतबध्द गीतहरू नेपाली जनजीब्रोमा बसेका छन् । लोकलयका ‘टुङनाको धुनमा’, ‘आमाले भन्थी धाराको पानी’, ‘के भन्ने हाम्रो समय’ देखि प्रणय र विरहका ‘साउने झरीमा’, ‘तिमी नभए’, ‘टाढा नभइदेऊ कहिले’ अनि महाकवि लक्ष्मीप्रसाद देवकोटा रचित ‘कुन मन्दिरमा जान्छौ यात्री’, उहाँद्वारा संगीतबध्द अमर सिर्जना हुन्।
