विराटनगर / २०३९ सालमा जनस्तरबाट स्थापित भाषा साहित्यको क्षेत्रमा योगदान गर्ने स्रष्टालाई पुरस्कृत गर्ने परम्परा अनुसार संचालन भइरहेको प्रतिभा पुरस्कार प्रतिष्ठानले केही नयाँ विधा थप गरेर २०७८ सालका पुरस्कारको घोषणा गरेको छ।

कार्यसमितिको हालै बसेको बैठकले प्रा.डा.लक्ष्मणप्रसाद गौतमलाई प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । यसैगरी दीनबन्धु‑उषादेवी गोयल प्रतिभा पुरस्कार डा. दुवसु क्षेत्री, लीलानाथ‑विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार डा. ज्ञानु पाण्डेलाई र ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार प्रा.डा. टङ्कप्रसाद न्यौपानेलाई प्रदान गरिने भएको छ । यी सबै पुरस्कारको राशि ५० हजार रूपैयाँ रहेको छ ।

यसैगरी विराटलक्ष्मी प्रतिभा पुरस्कार झापाका हरिप्रसाद न्यौपाने र सुनसरीका नारद पोखरेललाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । यस्तै षडानन्द प्रतिभा पुरस्कार संयुक्त रूपमा लोचन रिजाल र भरत गुरागाईं बर्बरिकलाई प्रदान गरिने भएको छ। रिजाल र गुरागाईं दुवै मोरङबासी हुन् ।

साहित्यकार दधिराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले यी पुरस्कारहरू असार २९ गते भानुजयन्तीको दिन एक समारोहको आयोजना गरी वितरण गर्ने निर्णय गरिने बताइएको छ ।