डा. खगराज बरालद्वारा लिखित पुस्तक ‘मालामा नउनिएका फूलहरू’ शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा लोर्कापण गरियो ।

शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि प्रा.डा. जयराज आचार्य, लेखक तथा पूर्व सांसद डा. शोभाकर पराजुली, पूर्व सचिव किशोर थापा, गीता काफ्लेले संयुक्त रुपमा पुस्तक लोकार्पण गर्नु भयो ।

पुस्तकमाथि आफ्नो धारणा राख्ने क्रममा डा. शोभाकर पराजुलीले यो पुस्तक एकपटक होइन, पटक पटक पढ्नु पर्ने र पढेपछि नवीन सिकाई थपिँदै जाने बताउनु भयो ।

पुस्तकका विषयवस्तुलाई विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्नुपर्ने समेत उहाँले जनाउनु भयो ।

यसै गरी किशोर थापाले मालामा यो पुस्तक अनुभव र भोगाइ पाइने र यस्ता अनुभव तथा भोगाइबाट धेरै सिक्न सकिने बताउनु भयो । सिकाइबाट व्यवहारमा परिवर्तन तथा रुपान्तरण हुने बताउँदै थापाले सिद्धान्त तथा दर्शनको कुरा नगरी मसिना कुराहरूबाट पनि व्यवहार परिवर्तन गर्न सकिने कुरा बरालका पुस्तकमा पाइने बताउनु भयो ।

नन्दी माध्यमिक विद्यालय नक्सालकी प्रधानाध्यापक गीता काफ्लेले वैचारिक तथा व्यावहारिक रुपमा अलमलिएका र दोधारमा रहेका मानिसका लागि यो पुस्तक मार्गदर्शन गर्न सक्षम रहेको बताउनु भयो ।

प्राध्यापक डा. जयराज आचार्यले सरलभाषामा गहन अभिव्यक्ति दिन पुस्तक सक्षम रहेको बताउनु भयो । गैरआख्यान अनुभूति विधाको यो पुस्तकको मूल्य ४७५ रूपैयाँ रहेको छ । पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको हो ।