अमेरिकालाई विगत २८ वर्षदेखि कर्मभूमि बनाएका कवि वसन्त श्रेष्ठको पहिलो निबन्धसङ्ग्रह “अँगालोभरिको अनुभूति’काे विमोचन गरिएको छ । बागबजार, काठमाडौंस्थित हार्दिक होटलमा भएको एक समारोहका बिच कवि तथा लोकसंस्कृतिविद् तुलसी दिवसले प्रमुख आतिथ्यतामा कृतिको विमोचन गरिएको हो ।
पुस्तकको विमोचनपश्चात् कृतिकारको कृतित्वमाथि बोल्दै कृतिमा आफ्नो जीवनको भोगाइका माध्यमबाट समयको एक काल खण्ड र परदेशीभूमिको यथार्थता इमान्दारिपूर्वक प्रस्तुत गरेको दिवसले बताए । कवि वसन्तका गद्यमा कविताको महक र अमेरिकाका भोगाइहरू स्पस्टसँग आएको उनको कथन थियो ।
विमोचित कृति र कृतिकारको विषयमा बोल्दै विगत १८ वर्षदेखि अमेरिकालाई कर्मभूमि बनाएका सक्रिय साहित्यकार गोविन्द गिरी प्रेरणाले अमेरिकामा कृतिकारसँगको सहकार्यको सम्झना गर्दै सो कृतिले कसरी पुस्तकारको रूप लियो भन्ने बारे बताए । कवि वसन्तले प्रस्तुत कृतिमा उनको भोगाइ र अनुभूति भए पनि अमेरिकाका धेरै नेपालीको कथाव्यथाको झल्को पाइने उनको मत थियो ।
कार्यक्रममा कृतिकार वसन्त श्रेष्ठले लेखकीय धारणा प्रस्तुत गर्दै लेखनको क्रममा सहयोग गर्ने तथा प्रकाशनमा सहयोग गर्नेहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।
प्रकाशकको तर्फबाट साहित्यपोस्ट डटकमका प्रधानसम्पादक अश्विनी कोइरालाले प्रकाशन सन्दर्भको बारेमा बोलेका थिए । काइरालले विश्वास गरेर कृति प्रकाशनको जिम्मेवारी साहित्यपोस्टलाई दिएको खुसी व्यक्त गर्दै लेखक श्रेष्ठलाई धन्यवाद ज्ञापन गरेका थिए ।
यसअघि ४ वटा कवितासङ्ग्रह प्रकाशित गरिसकेका वसन्त श्रेष्ठको यो पहिलो गद्य कृति हो । उनी डिसी मेट्रो क्षेत्रको साहित्यिक गतिविधिमा सक्रिय छन् । पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।