२०७९ जेठ ४ / प्रसिद्ध साहित्यकार तथा साहित्यिक पत्रकार नारायणप्रसाद बाँसकोटाद्वारा सम्पादित तथा प्रकाशित चर्चित साहित्यिक पत्रिका ‘प्रगति’का प्रकाशित सम्पूर्ण अङ्कहरू बाँसकोटाका साहिँला सुपुत्र प्रा.डा. कमल बाँसकोटाले नेपाल प्रज्ञा–प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभएको छ ।
बुधबार प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजित समारोहमा प्रा.डा. बाँसकोटाले वि.सं. २०१० देखि २०१३ सालसम्म प्रकाशित ‘प्रगति’का १६ ओटा मुद्रित प्रति र १६ ओटै विद्युतीय प्रति कुलपति गङ्गाप्रसाद उप्रेतीमार्फत् प्रज्ञा–प्रतिष्ठानको पुस्तकालयका लागि हस्तान्तरण गर्नुभएको थियो ।
उक्त अवसरमा प्रा.डा. बाँसकोटाले आफू र प्रा.डा. बद्रीविशाल भट्टराईद्वारा सम्पादित ‘प्रगति र नारायणप्रसाद बाँसकोटा स्मृतिभेट’ नामक स्मृति ग्रन्थ र नारायणप्रसाद बाँसकोटासहित उहाँका समकालीन लेखकहरूको सामूहिक तस्बिरसमेत कुलपति उप्रेतीमार्फत् प्रज्ञा–प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको साहित्यिक पत्रकारिताको इतिहासमा ‘प्रगति’ पत्रिकाको विशिष्ट स्थान रहेको उल्लेख गर्दै उहाँले नेपालमा प्रगतिशील साहित्यको प्रवद्र्धनमा प्रगति पत्रिकाको ठुलो योगदान रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “महाकवि देवकोटा आफैँले प्रगति पत्रिकाको ग्राहक बनाएको पाइन्छ ।” कुलपति उप्रेतीले प्रगतिका सम्पादकीय अन्य पत्रिकाका सम्पादकीयभन्दा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै ती सम्पादकीयहरूलाई प्रज्ञा–प्रतिष्ठानको अनुसन्धान परियोजनाअन्तर्गत तयार पार्न सकिने बताउनुभयो ।
कार्यक्रममा नारायणप्रसाद बाँसकोटाका साहिँला सुपुत्र प्रा.डा. कमल बाँसकोटाले बुवासँगको स्मृति र प्रगति पत्रिकाको महत्त्वका बारेमा प्रकाश पार्दै प्रगतिको संरक्षण र आम पाठकको अध्ययनका लागि प्रज्ञा–प्रतिष्ठानलाई हस्तान्तरण गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद्का सदस्यहरू प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली, डा. देवी नेपाल तथा प्राज्ञ सभा सदस्य शशी लुमुम्बू उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा थाइल्यान्डका लागि नेपालका पूर्वराजदूत तथा चीन अध्ययन केन्द्रका अध्यक्ष सुन्दरनाथ भट्टराई, प्रा.डा. बद्रीविशाल भट्ट्राई, प्रा. राजन गुरागाईं, विजया बाँसकोटा, अभिषेक बाँसकोटा लगायतको उपस्थिति रहेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।