साहित्यपोस्टको दोस्रो वार्षिकोत्सव तथा तेस्रो वर्ष प्रवेशको उपलक्ष्यमा साहित्यलाई जीवन बनाउने यहाँहरू सम्पूर्णमा हार्दिक कृतज्ञता र आभार प्रकट गर्दछौँ । साहित्यपोस्टले भाषा तथा साहित्यको पनि (ई)दैनिक पत्रिका निकाल्न सकिन्छ भन्ने एउटा उदाहरण पेश गर्ने प्रयास गरेको छ, जसलाई यहाँहरूको प्रेरणा र सहयोगले दैनिक हिम्मत दिइरहेको छ ।

जुन बेला हामीले साहित्यपोस्टको योजना बनायौँ, देश सकारात्मक मुडमा थियो । राजनीतिक स्थिरता थियो, आर्थिक सूचकाङ्कको गति राम्रो थियो । बहुमतको सरकारले ठूला बाचा गरेको थियो । देशले राजनीतिक स्थिरतासँगै आर्थिक उन्नतिको बाटोमा फड्को मार्ने कुरामा हामी विश्वस्त थियौँ । यस्तो बेलामा भाषा र साहित्यका लागि धेरथोर हरेक संघसंस्थाले कुनै न कुनै योगदान गर्छ अनि भाषा र साहित्यको अनिवार्य कामले चारैतर्फबाट सहयोग पाउँछ भन्ने हामीले सोचेका थियौँ। हामीले त्यहीअनुसार नै संसारभरि छरिएर रहनु भएका साहित्यप्रेमीहरूलाई गोलबद्ध गर्यौं र काम प्रारम्भ गर्यौँ।

साहित्यपोस्टलाई विश्वव्यापि गर्नु ठीकअघि कोरोनाको महामारीले संसारलाई ठप्प पारिदियो । त्यो महामारी केही समयको पाहुना होला भन्ने हामीले ठानेका थियौँ । तर यसले लगातार दुई वर्ष मानव सम्यताको जग नै हल्लाउलाझैँ गर्यो । धेरैका आर्थिक जग धराशायी भए । त्यसको असर साहित्यपोस्टमा पनि पर्यो । आज पर्यन्त हामी त्यो मारबाट उठ्न सकेका छैनौँ । तर पाठकहरूका लागि यो अनिवार्य खुराक बनेको देख्दा भने यसले अब केही समयमै आफ्नो लय समात्नेछ भन्ने विश्वास लिएका छौँ ।

यसको अर्को पाटो पनि छ । जुन बेला हामी घर‑घरमा थुनिएका थियौँ र मृत्यु ताण्डव अनुभव गरिरहेका थियौँ, त्यो बेलाको आतङ्क, आशङ्का र भावावेश साहित्यपोस्ट पाठकहरूका लागि आफ्नो मनको बह पोख्ने माध्यम बन्यो, मनोरञ्जन र साहित्यको निर्मल र कञ्चन स्वाद लिने कुवा बन्यो । देश मात्र होइन, विदेशबाट पनि हामीले अकल्पनीय पाठक, हौसला र प्रेरणा प्राप्त गर्यौं । हामी छक्क छौँ, यसले दैनिक हजारौँ पाठक कमाएको छ । साहित्यिक पत्रकारिताको इतिहासमा दैनिक पत्रिका निस्कनु र त्यसले दैनिक पाँच अङ्कमा पाठक पाउनु आफैँमा नेपाली भाषा र साहित्यका लागि सकारात्मक पाटो हो ।

यसको जस हामी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र, यस अन्तर्गतका सम्पूर्ण च्याप्टर र सो च्याप्टरमा सक्रिय साहित्यकारहरूलाई दिन्छौँ, जसले हामीलाई शुरूवाती क्षणमा नै संस्थागत र व्यक्तिगत सहयोग गर्नु भएको थियो । त्यस्तै हौसलापूर्ण मार्गनिर्देशनका लागि हामी गैर आवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति र सम्पदा विभागलाई पनि स्मरण गर्दछौँ । यस मामिलामा नेपाली साहित्य समाज, न्युजिल्यान्डको न्यानोपन बिर्सन सक्दैनौँ । हामी नेपाल प्रज्ञा‑प्रतिष्ठानप्रति पनि आभारी छौँ जसका कुलपति, सदस्यसचिव एवं प्राज्ञहरूले आर्थिकबाहेकका अन्य संस्थागतरूपमा सहयोग गर्नुभयो ।

साहित्यपोस्टसँग जोडिनु हुने सगरमाथा साहित्य प्रतिष्ठानका पदाधिकारीहरूप्रति पनि आभारी छौँ । उक्त प्रतिष्ठानका हरेक कार्यक्रममा साहित्यपोस्ट जोडिएको छ । त्यसैगरी स्रष्टा साँझ अमेरिका, अन्तर्राष्ट्रिय नेपाली समाज र पर्या साहित्य अभियन्ता विजय हितान, घोस्ट राइटिङ नेपालको प्रारम्भिक योगदान पनि बिर्सी नसक्नुको छ ।

यद्यपि साहित्यपोस्टको यो सफलतामा स्वदेश एवं विदेशमा रहनु भएका नेपाली साहित्यकारहरूले पठाउनु भएको नियमित रचना र उहाँहरूले साहित्यपोस्टप्रति देखाउनु भएको चासो र चिन्ताले नै ठूलो काम गरेको ठान्दछौँ ।

पत्रिका स्थिरतातर्फ यो बिन्दुमा उभिएर हेर्दा अरूका लागि यो मार्ग निकै लोभलाग्दो भए पनि कम सङ्घर्षपूर्ण थिएन । साहित्यको (ई)पत्रिका चलाउनु जत्तिको कठिन काम शायदै हुन्छ । यो स्तर र यो वृहद्तालाई मूर्त रूप दिन दिनरात नभनी खट्ने साहित्यपोस्टका साहित्यप्रेमी कर्मचारी र उहाँहरूको वृत्तिका लागि हुने खर्च पनि कम थिएन । त्यसको केही अंश हाम्रा विज्ञापनदाताहरूले पूरा गरिदिनुभयो । यसका लागि विज्ञापनदाताहरूप्रति हामी आभार प्रकट गर्दछौँ ।

साहित्यपोस्टले यी आरम्भका वर्षहरूमा साहित्यलाई मूलधारमा ल्याउन भूमिका खेल्यो तर स्तरीयताका पाटोमा भने आफैँलाई उन्नयन गर्ने कार्यमा अझै काम गर्नुपर्ने आवश्यकताबोध गरेको छ । तसर्थ, आगामी दिनमा एन्ड्रोइड एपको व्यापक उपयोग गर्दै स्तरीय कन्टेन्ट उपलब्ध गराउने कार्यमा हामी लागिपरेका छौँ । यस एपसँगै पाठकहरूले सुरूचिपूर्ण कन्टेन्टहरूका अडियो र डिजिटल पुस्तकसहित प्राप्त गर्नु हुनेछ । यो फड्को हामीले तेस्रो वर्षको उपलब्धिका रूपमा लिएका छौँ । एपको उपलब्धतापछि निःशुल्करूपमा पढिने साहित्यपोस्ट अब केही शुल्कका र केही उच्च कन्टेन्टका साथ यहाँहरू समक्ष आउने छ । जसरी निःशुल्क ईपत्रिका हजारौँ पाठकबाट स्वीकृत भयो, एप अझ त्यो भन्दा माथि पुग्ने हाम्रो विश्वास छ ।

आखिर नेपाली भाषा र साहित्यको उन्नयन नचाहने कुन नेपाली होला र ?

हामी तेस्रो वर्ष प्रवेशको उपलक्ष्यमा यहाँहरू सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै साहित्यपोस्ट अब नेपाली साहित्यिक पत्रकारिताको मूलधारमा प्रवेश गरेको सहर्ष जानकारी गराउँदछौँ ।