
कालेबुङ, भारत / आइतबार नेपाली साहित्य अध्ययन समिति कालेबुङको आयोजनामा रामकृष्ण शर्मा जन्मशतावार्षिकी उद्घाटन कार्यक्रम सम्पन्न भयो।
कार्यक्रमको सभापतित्व ज्ञान सुतार, मुख्य अतिथि भूषण शर्मा हुमागाइँ रहनु भएको थियो ।
यस अवसरमा रामकृष्ण शर्माको व्यक्तित्व र कृतित्वबारे श्रीमती स्वर्णिम धमला र डा. अमीर ठटालले आफ्ना‑आफ्ना आधारणा व्यक्त गर्नुभयो ।
स्वर्णिम धमलाले रामकृष्ण शर्माको व्यक्तित्व र कृतित्वबारे विभित्र पाटाहरू जस्तै व्यक्तिविशेष, वकिल, निबन्धकार, समालोचक, समाजसेवी, कवि, राजनीतिक व्यक्तित्त्व आदि बारेमा सारगर्भित वार्तापत्र प्रस्तुत गर्नुभयो ।
यस्तैगरी ” निबन्धकारका रुपमा रामकृष्ण शर्मा” विषयमा डा. अमीर ठटालले पनि रामकृष्ण शर्माको निबन्धहरूको वर्गीकरण, विशेषता, मूल स्वरलाई प्रस्तुत गर्नुभयो । स्पष्टता न्यायप्रियता, बौद्धिकता, तार्किकता, मानवीय संवेदना आदि जस्ता प्रवृत्ति उहाँले केलाउनु भएको थियो ।
रामकृष्ण शर्मा एक प्रखर साहित्यिक व्यक्तित्व भएको उहाँको भनाइ थियो ।
मुख्य अतिथिका रुपमा भूषण शर्माले रामकृष्ण शर्माको बाल्यकाल, स्वभाव, साहित्य समाज सेवा आदि यावत पक्षबारे रोचक पक्ष प्रस्तुत गर्नु भएको थियो।
सन् 1928 मा कालिम्पोङमा बसाइँ सर्नु भएका उहाँ 1929 मा पुदुङ स्कुलमा शिक्षा शुरु गर्नु भएको थियो । उहाँले सन् १९४० मा मेट्रिक परीक्षा उत्तीर्ण गर्नु भएको थियो ।
सन् १९४४ मा बीए पाससँगै दुई वर्षभित्रै उहाँले कानुनका ४ वटा शैक्षिक पुरस्कार हासिल गर्नु भएको थियो । उहाँ विविको फूटबल भलिबल टीममा समेत सामेल हुनुहुन्थ्यो।
कार्यक्रममा रामकृष्ण शर्माका कविताहरू विभिन्न विद्यार्थीहरूले वाचन गर्नु भएको थियो । स्व. शर्माका सुपुत्र सुवास शर्माले रामकृष्ण शर्माले आफ्नो शालिक नबनाऊन र स्मृति प्रतिष्ठान आदि नखोल्न आदेश दिनु भएको बताउनु भयो ।
कार्यक्रमका सभापति श्रेष्ठ ज्ञान सुतारले रामकृष्ण शर्माको शालिक अध्ययन समितिले तयारी गरे तापनि उहाँको अनुहार अलिक भिन्नै भएकाले खडा गर्न नसकिएको सुनाउनुभयो ।
कार्यक्रमलाई समितिका सचिव बलभद्र शर्माले संचालन गर्नुभएको थियो । उहाँले रामकृष्ण शर्माका विषयमा सेमिनार र अन्य कार्यक्रम पनि आयोजना गरिने बताउनुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

