काठमाडौँ / दीपा राई पुनको कविता सङ्ग्रह ‘दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरू’ ३१ वैशाख २०७९ थापागाउँस्थित मण्डला थिएटरमा सार्वजनीकीकरण भएको छ ।

कवि तुलसी दिवस, कविकी आमा विमला राई, नेपाली वाङमयका साक्षी खगेन्द्र लुईँटेल, साहित्य शिल्पी प्रगति राई, कवि स्वयं दीपा राई पुन र विप्लव प्रतीकले कविताकृतिको लोकार्पण गर्नुभयो ।

“मलाई दीपाका कविता पढ्दा ईर्ष्या महसुस भएको छ, उनका बान्की परेका कविता पढ्दा,” कवि तुलसी दिवसले सङ्ग्रहबारे भन्नुभयो । उहाँको विनीत वाणी त्यतिखेर पराकाष्ठामा पुग्यो जब उहाँले भन्नुभयो, “मलाई यो सङ्ग्रह यति मन परेको छ, अरुलाई मन नपर्ने त कुरै हुँदैन ।”

सङ्ग्रहको प्रकाशक ‘वी रिड’का तर्फबाट सुनीति अमात्यले आफ्नो प्रकाशन संस्था कथालयबाट बालबालिकाहरूका लागि पुस्तक प्रकाशन गर्ने मात्र नभई वी रिडमार्फत नेपाली वाङ्मयका अन्य विधामा पनि पुस्तक प्रकाशन गर्ने कुरा बताउनु भयो । उहाँले भन्नुभयो, “दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरू त्यसैको उदाहरण हो । सम्भवत यो काव्य सङ्ग्रह नेपाली वाङ्मयमा रुचिपूर्वक पढिनेछ ।”

नेपाली वाङ्मयलाई गम्भीर रुपले अध्ययन गर्नुभएकी समालोचक लीला लुईँटेलका सारगर्भित भनाइपछि कवि दीपा राई पुनले आफ्ना छ वटा कविता वाचन गर्नु भएको थियो ।

कवि रामगोपाल आशुतोषले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । आशुतोष आफैँमा एक कवि हुनुहुन्छ । लोकार्पित सङ्ग्रह आउने हप्ताभित्र पुस्तकपसलहरूमा सर्वसुलभ हुने बताइएको छ।