वीरगञ्ज महानगरपालिकामा मेयरका प्रत्याशी रहेका पूर्व पत्रकार गिरीश गिरीले सहलेखन गरेको पुस्तक ‘सत्यमोहन’लाई २०७८ सालको उत्तम शान्ति पुरस्कार प्रदान गरिने भएको छ ।
२०७८ सालभरि प्रकाशित गैरआख्यानका कृतिहरूलाई सो पुरस्कार प्रदान गर्ने गरिन्छ ।
एक शताब्दी लामो इतिहासको आँखीझ्यालका रूपमा प्रेरणादायी रहनुका साथै शैलीगत दृष्टिले पनि रोचकताले ओतप्रोत गिरीश गिरिद्वारा लिखित ‘सत्यमोहन’ नामक आत्मकथात्मक कृतिलाई वरिष्ठ लेखक तथा समालोचकहरू संलग्न समितिले पुरस्कारका लागि चयन गरेको छ ।
२६ वर्षकै उमेरमा ‘श्रष्टा र साहित्य’ नामक कृतिबाट मदन पुरस्कार प्राप्त गर्नु भएका साहित्यिक पत्रकार उत्तम कुँवरको ४३ वर्षकै उमेरमा २०३९ सालमा निधन भएको थियो ।
उनै वरिष्ठ साहित्यिक पत्रकार स्व. उत्तम कुँवरको स्मृतिमा धर्मपत्नी स्व. शान्ति कुँवरद्वारा वि.सं. २०४४ सालमा ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ स्थापना गरिएको थियो । आख्यानमुक्त गद्यकृतिलाई २०४४ सालदेखि नै ‘उत्तमशान्ति पुरस्कार’ प्रदान गरिँदै आएको छ ।
उक्त पुस्तकको अन्तर्वस्तु शताब्दीपुरूष सत्यमोहन जोशीको एकशताब्दी लामो जीवनयात्रासँग सम्बद्ध रहेको र यसको सृजनात्मक पुनर्लेखन गिरीश गिरिले गरेको हुनाले कृतिनायक शताब्दीपुरूष सत्यमोहन जोशी र कृतिकार गिरीश गिरिलाई २०७८ सालको ‘उत्तमशान्ति पुरस्कार’ संयुक्तरूपमा समर्पण गर्न लागिएको जनाइएको छ ।
हाल यस पुरस्कारको राशी १ लाख रहेको छ । पुरस्कार यही उत्तम कुँवरको जन्मजयन्तिका अवसरमा यही जेठ १२ गते समर्पण गरिने जनाइएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।