जनकपुरधाम, वैशाख २६ / नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले मैथिली भाषाका वरिष्ठ साहित्यकार रामभरोस कापडि़ भ्रमर नेपाल प्रज्ञा प्रतिष्ठानमा २०६६–६७ मा सहकर्मी रहँदा उहाँको सांगठनिक र लेखन क्षमताबाट आफू निरन्तर प्रभावित भएको बताउनु भएको छ ।
कुलपति उप्रेतीले जनकपुरधाममा आयोजित एक विशेष समारोहमा रामभरोस कापडि़ भ्रमरका नवीनतम पुस्तक ‘मिथिलाक लोक जीवनः लोक सन्दर्भ’का अवसरमा विमोचन गर्दै बताउनु भएको हो ।
उक्त अवसरमा उहाँले एकचोटी चीन भ्रमणका बेला फर्की आएपछि हामी लेखसम्म लेख्न नभ्याउदा उहाँ केही दिनमा यात्रा संस्मरणको पुस्तक नै ल्याई दिनु भएपछि हामी छक्क परेका थियौं । यसले उहाँको रचनात्मक क्षमतालाई दर्शाउँछ । प्रज्ञाका मात्र सभासदस्य हुँदा उहाँले आफ्नो पहलमा आँगन मैथिली पत्रिकाको प्रकाशन प्रज्ञा प्रतिष्ठानबाट गराउनु भयो । यसले उहाँको मैथिली भाषा साहित्य प्रतिको प्रेमलाई दर्शाउँछ । पत्रिका अहिलेसम्म प्रकाशित हुँदै गरेको स्मरण पनि उप्रेतीले गराउनु भयो ।
कुलपति उप्रेतीले विमोचित पुस्तक भविष्यमा मैथिली साहित्यको धरोहरका रुपमा मानिने आशा व्यक्त गर्दै आफ्नो पचास वर्षको साहित्यिक यात्राको क्रममा आएको यो उहाँको पचासौँ कृति जिज्ञासुहरूको जिज्ञासा शान्त गर्नेमा सफल हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।
मैथिली साहित्य उत्सव नेपालका अध्यक्ष एवं पुस्तकका लेखक रामभरोस कापडि भ्रमरको अध्यक्षता र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा मिथिला सेन्टर, अमेरिकाद्वारा प्रकाशित ‘मिथिलाक लोकजीवनः लोक सन्दर्भ’ पुस्तक र ‘पाँच दसकक साहित्यिक यात्राक अथक यात्रीः भ्रमर’ नामक पुस्तिका लोकार्पित भएको थियो ।
पुस्तकसम्बन्धी लेखकीय मन्तव्यमा लेखकले आफ्नो अन्ठाउन्न वर्षको साहित्यिक यात्राको ओराली-उकालीका प्रसङ्ग सुनाउँदै उहाँले पाठकहरूनै आफ्नो ऊर्जाका स्रोत रहेको बताउनुभयो ।
‘भ्रमरक पाँच दसकक साहित्यिक यात्राक लेखाजोखा’ दरभंगाबाट आउनु भएका समालोचक चन्द्रेशले समालोचना प्रस्तुत गर्नुभएको थियो भने लोकार्पित पुस्तकका बारेमा वरिष्ठ साहित्यकार÷समालोचक डा. भीमनाथ झा (दरभंगा), समालोचक डा. रामानन्द झा रमण (पटना), समालोचक डा. भोगेन्द्र झा (जनकपुरधाम) ले समीक्षा गर्नुभएको थियो ।
शुभकामना मन्तव्यकै क्रममा साहित्यकार÷भाषा अभियानी प्रवीण नारायण चौधरी (विराटनगर), लेखिका करूणा झा (राजविराज), कवि–नाटककार अशोक झा (कोलकाता), अधिवक्ता÷कवि युगल किशोर लाल र वरिष्ठ साहित्यकार डा. रेवतीरमण लाल (जनकपुरधाम) र मिथिला सेन्टर, अमेरिकाका प्रमुख सल्लाहकार सी. ए. नवल यादवले आ–आफ्नो मन्तव्य प्रकट गर्दै मैथिली साहित्यमा भ्रमरको योगदानको प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रममा युगल किशोर लाल र प्रमुख अतिथिलाई सम्मान दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
साहित्यकार प्रेम विदेहले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको आरम्भमा गायक नवीन मिश्रले जय जय भैरवि– गोसाउनि गीत गाउनु भएको थियो ।
अतिथिहरूलाई स्वागत गर्दै कथाकार÷पत्रकार नित्यानन्द मण्डलले लेखकको मैथिली भाषाप्रतिको समर्पणको राम्रो तस्बीर प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, प्रदेश सञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव, विद्यापति पुरस्कार कोषका पूर्व अध्यक्षत्रय अयोध्यानाथ चौधरी, रामसागर पंडित, रामचन्द्र यादव, साहित्यकार रोशन जनकपुरी, दिगम्बर झा दिनमणि, विनोदचन्द्र झा, सुदर्शन लाल कर्ण, श्यामसुन्दर शशि, अरविन्द कुमार यादव, शैक्षिक तालिम केन्द्रका पूर्व प्रशिक्षक उमेश लाल कर्ण, गायक एवं प्र.अ. सुनिल कुमार मल्लिक, साहित्यानुरागी ई. सत्य नारायण साह, अमर चन्द्र अनिल, असलम राइनसहित उल्लेखनीय भाषा अभियानी, साहित्यकार, पत्रकारहरूको उपस्थिति रहेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।