नेपाल हाइकु केन्द्रकाे आयाेजनमा टाैदहमा ऋतुगत हाइकु यात्रा सम्पन्न भएकाे छ ।

वसन्त ऋतु र मच्छिन्द्र नाथको रथ यात्राको सन्दर्भ जोडेर शनिबार टाैदहमा आयाेजित “ऋतुगत हाइकु यात्रा” २० जना हाइजिनहरूले त्यहाँको प्राकृतिक वातावरणमा विचरण गर्दै स्थलगत रुपमै हाइकु रचना गरी वाचन समेत गरेका थिए ।

कार्यक्रमकाे शुभारम्भमा वरिष्ठ साहित्यकार, हास्यव्यङ्ग लेखक तथा नेपाल हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले हाइकुको विकास र विस्तार जापनबाट भएको भए पनि अहिले यसको विश्वब्यापी रूपमा लोकप्रियता कमाएको बताउनुभयो।

प्राकृतिक बिम्ब प्रयोग गरी १७ अक्षरमा लेखिने खँदिलो साहित्य भएकाले यसको सिर्जना गर्न साधना नै हुनुपर्ने बताउँदै उहाँले ऋत र प्रकृतिको सम्बन्ध रहेकाले यात्रा हाइकुलाई जोड दिएको प्रष्ट पार्नुभयो ।

कार्यक्रमकाे औचित्य बारे प्रकाश पार्दै नेपाल हाइकु केन्द्रका उपाध्यक्ष डा. मित्रबन्धु पौडेलले हाइकु यात्रालाई विगत केही वर्षदेखि निरन्तरता दिँदै आएको उल्लेख गर्नुभयो ।

यसअघिका कार्यक्रममा वाचित सिर्जनालाई कृतिका रुपमा संग्रहित गरिएको स्मरण गराउँदै सिर्जनाको अभिलेखीकरण अपरिहार्य रहेकोमा जोड दिनुभयो।

टौदहको इतिहास र सुन्दरताकाबारे वर्णन गर्दै हाइकु लेखनलाई एक घण्टा समय दिइएको थियो । लेखन कार्य सकिएपछि हाइजिनहरूले टौदहको सुन्दर वातावरणमा तत्काल रचना गरेका १०/१० हाइकु वाचन गर्नुभएको थियो ।

कार्यक्रममा रामकुमार पाँडे, शिरोमणि दवाडी, राम दयाल राकेश, मित्रबन्धु पाैडेल, घनश्याम गाैतम, किशोर वज्र बज्राचार्य, पशुपति दँगाल, विजयराज आचार्य, चन्द्र कला शाह, विष्णु तिवारी, शान्ति सापकोटा, गोपाल नेपाल, किरण पौडेल, अशोक मान सिंह, सरस्वती पन्त, यादव ढुङ्गाना र पत्रकार सानू घायल लगायतका श्रष्टाहरूले हाइकु सिर्जना प्रस्तुत गर्नुभयो ।

छ ऋतुहरुको विषयमा हाइकु लेख्ने अभियान अनुरुप वसन्त ऋतुका अवसरमा यस वर्षको कार्यक्रम प्रारम्भ गरिएको कार्यक्रम सन्चालक सञ्चारकर्मी शिरोमणि दवाडीले जानकारी गराए ।

यसै अवसरमा डा मित्रबन्धु पौडेलद्वारा रचित अंग्रेजी हाइकु संग्रह “आउट पौर” र डा. यादव ढुङ्गानाद्वारा रचित कविता संग्रह “भावना -२” पनि विमोचन गरिएको थियो।