अछामी भाषाको छमास्या पत्रिका नौखुवा नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।

नौखुवा प्रतिष्ठान नेपालले प्रकाशन गरेको पत्रिकामा अछामी भाषा–साहित्य, कला, साहित्य, संस्कृति, इतिहास र पर्यटनका विषयमा विभिन्न लेख रचनासहितका सामग्री समावेश गरिएका छन् ।

प्रतिष्ठानका अध्यक्ष कमल संघर्षको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा प्रमुख अथिति प्राज्ञ तथा मातृभाषा साहित्य विभागका प्रमुख लक्ष्मी माली रहनु भएको थियो । त्यस्तै कार्यक्रममा विशिष्ट अथिति वरिष्ठ गजलकार ललिजन् रावल र अछामका पुराना नेता पूर्वमन्त्री तथा अछामी इतिहासका जानकार जनक बहादुर शाह रहनु भएको थियो । अछामी भाषामै संचालन गरिएको कार्यक्रममा अछामी भाषाका रचना तथा अछामी मौलिक गीतहरुको प्रस्तुति सहभागीले राख्नु भएको थियो ।

कार्यक्रममा सहभागी प्रमुख अथिति प्राज्ञ मालीले आफ्नोपन र आफ्नो कला संस्कृतिलाई जोगाउनको लागि मातृभाषा जोगाउन आवश्यक रहेको बताउँदै मातृभाषाको यो र यस्तै कार्यक्रमले अछामी भाषा, संस्कृतिको जगेर्ना गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नु भयो । उहाँले आफ्ना बालबच्चालाई आमाको काखबाटै मातृभाषा सिकाउनसमेत उहाँले आग्रह गर्नु भयो ।

त्यस्तै कार्यक्रममा कार्यक्रममा बोल्दै विशिष्ट अतिथि रावलले सबै मातृभाषा समान भएकाले कसैलाई धेरै र कसैलाई कम महत्त्व दिन नहुने बताउनु भयो । रेडियो नेपालसँग आबद्ध रहनु भएका गजलकार रावलले रेडियो नेपालको माध्यमबाट सुदूरपश्चिमको मातृभाषाको विषयलाई उठान गरिरहेको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा सहभागी अर्का विशिष्ट अथिति पूर्वमन्त्री तथा अछामी भाषा इतिहासका जानकार शाहले पछिल्लो पुस्ताले आफ्नो भाषा–साहित्य, कला, संस्कृतिमा देखाएको सक्रियताले आफूलाई ज्यादै खुशी दिलाएको बताउनुभयो । उहाँले आफूले जहिल्यै अछामी जनताले सत्कर्मको बाटो अँगालुन भन्ने चाहेको र पछिल्लो समयमा नौखुवाका युवाहरूको गतिविधिले त्यो चाहना पूरा हुने संकेत देखाएको पनि बताउनु भयो ।

कार्यक्रममा अछामी भाषा, साहित्यका जानकार तथा नौखुवाका सल्लाहकार पूर्ण रावल, लेखक बलबहादुर स्वाँर, साहित्यकार एम पी पाण्डे, भुवन निस्तेज, मिठु रावल, उपप्राध्यापक धर्म रावल लगायतले शुभेच्छा व्यक्त गर्नु भएको थियो ।

नैखुवाको पहिलो अंकमा नौखुवा अछाम ऐतिहासिकता, नेपालका पैल्ला शहीद बाँकावीर, अछामीका आनन्द केवलानन्द, अछामी भाषा र नेपाली भाषामा अपसरण अवस्था लगायतका लेखहरू समेटिएका छन् । कवि/गजलकार कमलराज केसीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन शिवराज खनाल कल्पितले गर्नु भएको थियो ।