एसोसिएसन अफ नेपालीज इन अमेरिकाज् (एएनए) ले बालबालिकाहरूबीच कथा लेखन प्रतियोगिता गर्ने भएको छ ।
नेपाली साहित्यलाई भावी पुस्तामार्फत् अन्तर्राष्ट्रिय जगतमा पुर्याउने उद्धेश्यले कथा लेखन प्रतियोगिता शुरु गरिएको एएनएका अध्यक्ष विजयराज भट्टराईले बताउनुभयो ।
नेपाली साहित्यलाई विश्वस्तरका साहित्यको कोटीमा उभ्याउन पनि अङ्ग्रेजीमा लेखिनु पर्ने वाध्यता रहेकाले सन्ततीका संभावनालाई निखारेर यो जिम्मेवारी सुम्पँदै जानुपर्छ भनेर यस्तो खालको अवधारणा बनाइएको यस प्रतियोगिताका परिकल्पनाकार तथा संयोजक पुष्पा खनालले बताउनुभयो ।
एएनएद्वारा जारी गरिएको सूचनाअनुसार ६ देखि १५ वर्षसम्मका बालकालिकाले सो कथा लेखन प्रतियोगितामा भाग लिन पाउने छन् भने कथा अङ्ग्रेजी भाषामा लेख्नुपर्ने छ । जुन १, २०२२ भित्र कथा पठाइसक्नु पर्ने पनि सूचनामा उल्लेख छ ।
कथा लेखन प्रतियोगिताका लागि साहित्यकार पुष्पा खनालको संयोजकत्वमा कर्णेल विश्वविद्यालय, एसिया अध्ययनका प्राध्यापक डा. होम आचार्य र नेपाली समाज टेक्सस, नेपाली पाठशालाका संयोजक तथा गैर आवासीय नेपाली संघ, अमेरिकाको पाठशाला समिटिका चेयर भोजबहादुर बलायरसहितको तीन सदस्यीय समिति गठन भएको छ । जुलाई २ र ३ तारिखमा टेक्सस राज्यको डालसमा आयोजना हुँदै गरेको एएनएको सम्मेलनमा प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान गरिने एएनएले जनाएको छ । प्रतियोगितामा समावेश उत्कृष्ट कथाहरू समेटेर पुस्तक प्रकाशन गर्ने पनि एएनएले बताएको छ ।
आफ्ना नानीबाबुहरूको संभावनालाई, प्रतिभालाई अघि बढाउन अभिभावक र विद्यालयको ठूलो भूमिका रहने भएकाले यस प्रतियोगितामा सहभागी गराउन आफ्ना बालबालिकालाई हौसला, प्रोत्साहन र सहयोग गर्न पनि एएनएले अनुरोध गरेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।