साहित्यकार वानीरा गिरिको पूर्णकदको सालिक अनावरण गरिएको छ । वानीरा गिरि फाउण्डेसन भवन र सोही भवनको परिसरमा साहित्यकार गिरिको सालिक डा. वासुदेव त्रिपाठीले अनावरण गर्नुभयो ।

यस्तै यसै वर्षदेखि प्रदान गर्न थालिएको एक लाख रुपैयाँ राशिको वानीरा प्रज्ञा पुरस्कार कवि तथा गीतकार कालीप्रसाद रिजाललाई र ५० हजार राशिको वानीरा पुरस्कार कवयित्री उषा शेरचनलाई प्रदान गरियो ।

सो अवसरमा वानीरा गिरिको सालिक निर्माता मूर्तिकार महेश तुलाधरलाई पनि २५ हजार राशिको वानीरा कला पुरस्कार प्रदान गरियो ।

२००१ साल वैशाख १३ गते भारतको खर्साङमा जन्मनु भएकी वानीरा गिरिको गत साल २०७८ जेठ ९ का दिन कोरोना संक्रमणका कारण निधन भएको थियो ।

गिरिका एउटा जङ्गबहादुर, जीवन थायमरु, मेरो आविष्कार, काठमाडौं काठमाडौं जस्ता कविता कृतिहरूका अतिरिक्त कारागार, निर्बन्ध, शब्दातीत शान्तनु जस्ता उपन्यास प्रकाशित छ । यसैगरी पर्वतको नाम पार्वती, रोकिनेले आकार दिन सक्तैन लगायतका गद्यकृति पनि प्रकाशित छन् ।

उनी नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम महिला साहित्यकार हुनुहुन्थ्यो । यसैगरी साझा पुरस्कार पाउने प्रथम महिला साहित्यकारको कीर्तिमान पनि उहाँकै नाउँमा छ । उहाँलाई ‘शब्दातीत शान्तनु’का लागि साझा पुरस्कार प्रदान गरिएको थियो ।